नेकपा : ‘राजनीतिक परजीवी’ उत्पादक कारखाना

नेकपा : ‘राजनीतिक परजीवी’ उत्पादक कारखाना

नेकपाका एकजना ‘दोस्रो पुस्ताका’ बौद्धिक नेता कृषिमन्त्री घनश्याम भुसालले हालै एक राष्ट्रिय दैनिकमा निकै लामो लेख छपाएर सत्ताधारी दल नेकपाको ‘क्रान्तिकारी पुनर्गठन’ का आधारहरू प्रस्ताव गरेका छन्। आफ्नो लेखमा उनले विवाद र गुटगत राजनीतिको चक्रव्युहमा फसेको नेकपारूपी रथलाई ‘बचाउने’ यत्नस्वरूप केही कार्यक्रम र दलीय संकटमोचनका उपाय ‘प्रेस्क्राइब’ गरेका छन्। शृंखलाबद्ध आरोप–प्रत्यारोपको व्युह अनि व्यक्तित्व र नेतृत्वको टकरावमा नराम्रोस“ग फसेको नेकपाको रथलाई त्यो विवादको दलदलबाट बाहिर निकाल्न उनको प्रेस्क्रिप्सन ‘एन्टिडोट’ साबित होला ? या एउटा सामान्य स्लाइनले जत्ति नै केही क्षण तुष्टि मात्रै देला ? त्यो भने भविष्यको गर्तमै लुकेको छ।

अहिलेलाई घनश्याम भुसालको नेकपा ‘बचाउने’ प्रेस्क्रिप्सनमाथि नै केही टिप्पणी गरौं। त्यसो त बौद्धिक ‘युवा नेता’ को छवि बनाएका भुसाल नयाँ पुस्ताको रोज्जा व्यक्तित्व हो। खासगरी कुनै न कुनै कम्युनिस्ट पार्टीमा आबद्ध युवाका लागि उनी एक वैचारिक नेतृत्व हुन्। अनि हुन् क्षमता र सम्भावना बोकेका एक व्यक्ति पनि। भुसाल स्वयंले राम्रो गर्न नसके पनि अरूले जस्तो खराब गरिहाल्दैनन् भन्ने विश्वास नै घनश्याम भुसालको सामाजिक–राजनीतिक पुँजी हो। त्यसो त पैसा, शक्ति र सत्ताका अगाडि यस्ता नैतिक, सामाजिक अनि राजनीतिक पुँजीको बजार भाउ केकति होला ? यदाकदा उनी आफैंले पनि यस्तै हैरानी र दिग्दारी प्रस्तुत गरेको सुनिन्छ।

के छ नेकपासँग ?

सरसर्ति हेर्दा अहिले नेकपासँग सबैथोक छ। नेकपालाई नेपालको कम्युनिस्ट आन्दोलनको विकसित ‘साम्राज्य’ नै ठान्ने घनश्याम भुसाल आफैं लेख्छन्, ‘नेकपासँग के छैन ? ’ सबैथोक छ। हो, ‘मन्दिर व्यवस्थापन समितिदेखि वन, कुलापानी, टोल विकास, आमा समूह, विद्यालय व्यवस्थापन, वैदेशिक रोजगार, कर्मचारी, ठेकेदारदेखि कामदार’ सम्म नेकपामा मौजुद छन्।

त्यति मात्र होइन, बहालवालादेखि पूर्वप्रधानमन्त्रीसम्म, दर्जनौं पूर्वमन्त्रीहरू, सयौं संघीय सांसदहरू, सयौं प्रदेशसभा सदस्यहरू हुँदै हजारौं स्थानीय पालिका प्रमुख उपप्रमुखदेखि वडाध्यक्ष र सदस्यहरूसम्म। त्यसैगरी पार्टीप्रति आस्थाभाव प्रकट गर्ने वा छद्मरूपमा पार्टीकै काम गर्ने राज्यका विभिन्न ओहोदामा बसेका हजारौं व्यक्ति पनि नेकपाकै ‘सम्पत्ति’ हुन्। यी सबैको योगफल र आयतन नाप्ने हो भने नेकपा भीमकाय छ। अनि नेकपाभित्र नभएको केही पनि छैन। नअटाएको कोही पनि छैन। नेकपाको सामथ्र्यको थप चर्चा गर्दै भुसाल लेख्छन्, ‘अहिलेको पहिलो पुस्तासँगै हुर्किएको संघर्ष, संगठन, सिद्धान्तका साथै समाज र राजनीतिका अनेकौं क्षेत्रमा स्थापित, सक्षम र आत्मविश्वासी दोस्रो पुस्ताका सयौं नेताहरूको पंक्ति छ। के छैन नेकपासँग !’

भुसालले उल्लेख गरेको जस्तै सक्षम पुस्ता नेकपाका भर्भराउँदा सम्पत्ति हुन्। तर, यो अनुज बबुरो जिज्ञासा राख्छ कि त्यत्रो सम्पत्तिवाला नेकपाले देश चलाउँदा पनि किन सबैतिर भद्रगोल र व्यथिति भएको होला ? नेकपामा एकसेएक सक्षम नेतृत्वले मुलुक चलाइरहेका छन्, भुसाल स्वयं पनि मन्त्री छन्। धेरै होनाहार पंक्तिले राज्यसंयन्त्र र प्रशासन हाँकिरहेका छन्। अरू त अरू आम मानिसको चासो र दैनिकी प्रभावित पार्ने शैक्षिक क्षेत्रदेखि स्वास्थ्य सेवा हुँदै सामाजिक एवं आर्थिक क्षेत्र पनि तिनै नेकपावालाहरूले हाँकिरहेका छन्। तर, यही बेला मुलुक किन यस्तो संकटान्मुख अवस्थामा पुगेको होला ? त्यही वैभवशाली नेकपाभित्र किन यतिसारो रडाको मच्चिएको होला ? अनि आम मानिसको दैनिकी किन यति दुरह र कष्टप्रद बन्दै गएको होला ?

नेकपाको त्यो वैभव र सक्षमताले मुलुक किन र कसरी तन्नम हुँदै छ ? असाध्यै सुविधाजनक झन्डै दुईतिहाइनजिक जनमत प्राप्त गरेको सरकार, त्यसमाथि पनि आफूलाई ‘सर्वज्ञाता’ नै ठान्ने प्रधानमन्त्री हुँदा पनि किन हामीले यस्तो दुरहपूर्ण जिन्दगी बिताइरहनुपरेको होला ? घनश्याम कमरेडले नेकपा बचाउने सूत्रबारे घोत्लिँदै गर्दा त्यही नेकपाकै कारण मुलुकको अर्थराजनीतिक संकटान्मुख अवस्थामा पुगेको तस्बिर देखे कि देखेनन् कुन्नि ? अनि मन्त्री क्वार्टरको सुरक्षा घेरा पार गर्दै गर्दा सडक, चोक तथा गल्लीमा छरपस्ट असन्तुष्टि र आक्रोशबारे गम खाएका छन् कि छैनन् ?

हो, हाम्रो दैनिकी अभावले ग्रस्त छ। भय र आक्रोशले आक्रान्त छ। गरिबी र अभावग्रस्त झुपडीहरूमा बत्ती बल्न सकेको छैन। निभ्नै लागेका चुलाहरूमा रोसनी छर्न सकिएको छैन। दुई छाक टन्न खाने सामलको जोहो छैन। देश कथित विकास र समृद्धिको मायाजालमा यसरी फस्दैछ कि ठेकेदार उर्फ निर्माण व्यवसायी कहलिएका नेकपा नेताहरूको सम्पत्ति थपिँदै गर्दा राज्यको ढुकुटी भने खडेरीको समयमा रिजरभ्वायरको पानीको सतह घटे झैं घट्दै छ। अनि भुसालकै शब्दमा ‘दलाल पुँजीवाद’ को भाइरसले पार्टी संक्रमित मात्र हैन, नेकपा त्यो भाइरस उत्पादन गर्ने कारखाना नै बनिसकेको छ। त्यसैले मेरो प्रश्न छ, ‘कमरेड ! आखिर आम नागरिकको सारथि हुने के छ नेकपासँग ? ’

‘दलाल पुँजीवाद’ को उत्पादक

घनश्याम भुसालको भाष्यमा अक्सर आउने शब्दावली हो ‘दलाल पुँजीवाद’। यो शब्दले अभिव्यक्त गर्ने सोझो अर्थले सकारात्मकताको भाव बोक्दैन। तर, यसलाई केलाउँदै यसको रुटसम्म पुग्ने हो भने यसको विकल्प पनि देखिँदैन। दलाललाई अर्को शब्दमा ‘मध्यस्तकर्ता’ भन्ने हो भने त्योसँग ‘बजार’ जोडिन्छ। बजार भन्नेबित्तिकै ‘मूल्य’ आउँछ। मूल्यसँग मुनाफा र कमिसन स्वतः जोडिन्छ। अब कल्पना गरौं– बजारविनाको अर्थतन्त्र कस्तो होला ?

त्यसो त नेकपा अझै पनि ‘साम्यवाद’ कै लक्ष्य बोकेको पार्टी हो। त्यसैले साम्यवादी राज्यनियन्त्रित अर्थतन्त्रमा बजारको अस्तित्व हुँदैन। बजार नहुनेबित्तीकै मूल्य पनि हुँदैन र मुनाफा पनि हुँदैन। के हामी त्यही आदर्शीकृत अवधारणा बोकेर दैनिकी चलाउन सक्छौं ? बजाररहित अर्थतन्त्र चलाउन सक्छौं ? अनि पुँजीको निर्माणविना अर्थतन्त्रको फैलावट कसरी हुन सक्छ ? के पुँजीवाद सधैं खराब कुरा हो ? त्यसो हो भने ठ्याक्कै मान्छेको दैनिकीसँग मिलान हुने ‘बजार अर्थतन्त्र’ को विकल्प के हो ?

विश्वमा पछिल्लो समय पुँजीवादी नवउदारवादी अर्थव्यवस्थाका दुष्प्रभाव नभएका हैनन्। अमेरिकी अर्थतन्त्रमा यसै शताब्दीको सुरुवाती कालमा देखा परेको संकट र त्यो संकट पार लगाउन अमेरिकी सरकारले खेलेको भूमिकाले पनि नवउदारवादी अर्थतन्त्र नै निर्विकल्प हैन भन्ने पुष्टि गर्‍यो। झन् अहिलेको कोरोनाकालको अर्थव्यवस्थाले शिक्षा, स्वास्थ्य र नागरिकको कल्याणमा राज्यले उल्लेख्य लगानी गर्नुपर्ने आवश्यकतालाई टड्कारो रूपमा स्थापित गरिदिएको छ।

तर, नेपालको अर्थतन्त्रलाई मिहिन तरिकाले नियाल्ने हो भने यहाँ उदारवादको दुष्प्रभावभन्दा पनि ‘केही पनि नगरीकन कमाउने’ मनोवृत्तिको दुष्प्रभाव गाढा छ। भन्दा नमीठो लाग्न सक्छ तर, काम नगरी कमाउने प्रवृत्ति तत्कालीन नेकपा माओवादीको शान्तिपूर्ण रूपान्तरणसँगै झाँगिदै गएको साँचो हो। त्यसअघि राज्यका मिसिनरी प्रयोग गरेर, उत्पादनरहित ‘दलालीकरण’ बाट अकूत धन कमाउने कार्यको सुरुवात गर्ने त आखिर कम्युनिस्ट नेताहरू नै हुन् नि। नत्र सर्वहारा वर्गका लागि आजीवन राजनीति गरेर पदमा पुगेका सबैजसो कम्युनिस्ट नेताहरूको काठमाडौंका घरबंगाला, सुन जवाहरत, मोटरगाडी, जग्गाजमिन कहाँबाट आयो ? कसरी जोडियो ?

सिकिस्त सिंगो नेकपा बचाउने प्रयत्न गर्नुको सट्टा सद्दे अंगहरूलाई बेलैमा दान गरेर वैकल्पिक शक्ति निर्माणमा योगदान गर्नु श्रेयष्कर होला।

हो, जहाँसम्म घनश्याम भुसालको सवाल छ, मलाई लाग्दैन उनले राजनीतिबाट धन आर्जन गरेका छन्। सम्भवतः काठमाडौंमा घर नहुने थोरै कम्युनिस्ट नेताहरूमध्ये उनी पनि एक हुनन्। तर, उनका सहकर्मीहरूको कमाइमा उनले कहिले विद्रोह गरे ? पार्टीभित्र दशकौं अघि रोपिएको काम नगरी खाने दलालीकरणको बिरुवा हुर्काउन त उनैले मलजल गरेका हुन् नि ! किन उनले त्यो खराब बिरुवा काट्ने आँट कहिल्यै गरेनन् ? त्यस्तो प्रवृत्तिसँग सम्बन्ध–विच्छेद किन गरेनन् ?

भुसालको कथन छ, ‘गएका ३० वर्ष सत्तामा आउजाउ हुँदा कम्युनिस्ट पार्टीमा त्यसको (दलाल पुँजीवाद) संक्रमण डरलाग्दो गरी बढेको छ। त्यसले राजनीतिलाई नै विकृत बनाएको छ।’ साँच्चिकै भन्ने हो भने यो दलालीकरणको भाइरस नेकपामा संक्रमित मात्र भएको छैन, बरु नेकपा नै त्यस्तो भाइरस र ‘राजनीतिक परजीवी’ उत्पादन गर्ने कारखाना बनिसकेको छ। अनि नेकपाका नेताहरू तिनै भाइरसको डिजाइन भएका छन्। यसर्थ कमरेड भुसालको ‘एन्टिडोटले’ सम्भवतः काम गर्दैन।

जुन क्षेत्रमा बढी दलालीकरण छ, त्यो क्षेत्र भुसालले नै आफ्नो आलेखमा गणना गरेको नेकपाको ‘सम्पत्ति’ मा दर्ज भएको छ। शिक्षा, स्वास्थ्य, म्यानपावर, गैरसरकारी संस्थाहरू, विद्यालय व्यवस्थापनदेखि वन र स्थानीय उपभोक्ता समितिहरूसम्ममा दलालीकरणको नयाँ संस्कृति नै स्थापित भइसकेको छ। त्यसैले निर्धक्क भन्न सकिन्छ– नेकपामा ‘दलाल पुँजीवाद’ संक्रमण भएको हैन, बरु नेकपा नै त्यो भाइरसको उत्पादक बनेको छ।

समस्या : काम नगरी कमाउनु

भन्नैपर्छ– तत्कालीन नेकपा माओवादीको शान्तिपूर्ण राजनीतिक रूपान्तरणसँगै मुलुकमा दुईथरी आर्थिक कारोबार फस्टायो। पहिलो– वैदेशिक रोजगार र दोस्रो घरजग्गाको कारोबार। माओवादीको जनयुद्ध समापन भएसँगै ठूलो मात्रामा वैदेशिक रोजगारमा जाने युवाहरूको लर्को बढ्न गयो। सुरुका वर्षहरूमा ती बिदेसिएका नेपाली युवाहरूले निकै ठूलो पैमानामा धनराशि नेपाल पठाए। अहिले वैदेशिक रोजगारमा जाने नेपाली युवाहरूको आम्दानी निकै खुम्चिएको छ। रेमिट्यान्सका रूपमा भित्रिएको त्यो ठूलो धनराशि मूलतः दैनिक उपभोग र सहरबजारमा घरघडेरी खरिद गर्न प्रयोग भयो।

सरदार भीमबहादुर पाँडेले ‘त्यसबखतको नेपाल’ मा रेमिट्यान्सको औपचारिक आगमनसँगै भित्रिएको उपभोगमुखी संस्कृतिलाई राम्रोसँग विवेचना गरेका छन्।

पहिलो विश्वयुद्धमा झन्डै दुई लाखभन्दा बढी नेपाली अंग्रेजी फौजको तर्फबाट युद्ध लड्न विश्वका विभिन्न देश पुगेका थिए। युद्धको समाप्तिपछि कतिपय फौजी छाडेर त कतिपय लामो विदामा हुलकाहुल स्वदेश भित्रिए। उनीहरू ‘लाहुरे’ बनेर नेपाल भित्रिँदा त्यो बेलाको हिसाबमा १३ करोड रुपैयाँबराबरको धनराशि नेपाल भित्रिएको थियो। तर, त्यत्रो ठूलो धनराशि मूलतः उपभोगमै खर्च भयो र बचेखुचेको धन पहाडतिर जग्गाजमिन जोड्न प्रयोग भयो।

न त त्यो धनराशिले कुनै उद्यम खुल्यो। न त तत्कालीन शासकहरूले स्वदेश भित्रिएको त्यति ठूलो धनराशिलाई स्वदेशमै राख्ने उपाय रचे। बरु त्यो पैसाको प्रभावका कारण त्योबेला व्यापक मात्रामा प्रयोग हुने स्वदेशी उत्पादनमा बिदेसिएपछि परिवर्तित भएको आनीबानी अडिन सकेन र उतैबाट विदेशी सामान ओइरिन पुग्यो। प्रकारान्तरमा पैसाको चलखेलमा नभिजिसकेको नेपाली जनजीवनलाई ‘पैसाको मुख’ ले परिवर्तन गरिदियो। पैसाले तिनको आनीबानी बदलिदिएर त्यो पैसा जहाँबाट भित्रिएको थियो, त्यतै गयो।

आजको समयमा पनि वैदेशिक रोजगारबाट भित्रिएको पैसा उसैगरी उपयोग भइरहेको छ, जसरी पहिलो विश्वयुद्धपछि फर्किएका लाहुरेहरूले गरेका थिए। त्यो पैसालाई उत्पादनशील काममा प्रयोग गर्न नसक्नु नै हाम्रो अर्थप्रणालीको असफलता हो। हिजो पेसा व्यवसाय केही नगरी राजनीतिमा लागेर हिँडेको व्यक्ति एकाएक शान्तिपूर्ण राजनीतिमा आएपछि त्यही बिदेसिएका नेपालीले पठाएको पैसाबाट घरघडेरी किनाउने बिचौलियामा रूपान्तरण भए। हिजोका राजनीतिकर्मीलाई त्यो काम गर्न किन पनि सजिलो भयो भने राजनीतिले बोल्न सिकायो। दुईचार कुरा बेच्न सिकायो। अनि एउटा वर्ग खडा भयो, जसले उत्पादनमा कुनै योगदान गरेन परन्तु यता र उता डुलेकै भरमा निकै ठूलो सम्पत्ति जोड्न सफल भयो।

कमरेड भुसालले त्यो वर्गको पहिचान त गरेका छन् तर, त्यसले सिर्जना गरेको बृहत् दलालीकरणको आकार पहिल्याएर त्यसको ठीक उपचारको विधि भने खुट्याएका छैनन्। यसर्थ, कमरेडले भनेजस्तो ‘एउटा क्रान्तिकारी पार्टीले क्रान्तिकारी रहिरहनका लागि समाजमा नयाँ, नौजवान क्रान्तिकारीहरू जन्माइरहनुपर्छ’ हैन कि खासमा क्रान्तिका लागि ‘नयाँ उद्यमशील र आफ्नै पाखुरी बजारेर, आफ्नै बुतामा केही न केही गरिखाने पुस्ता’ जन्माइरहनुपर्छ। उत्पादन कर्ममा नजोडिने, उद्यमशीलतासँग कुनै साइनो नगाँस्ने, पेसा र व्यवसायसँग आबद्ध नहुने जति नै नौजवान क्रान्तिकारीहरू जन्मिए पनि प्रकारान्तरमा ती अहिलेको जस्तै ‘काम नगरी खाने बिचौलिया’ मा परिणत हुने दुर्दान्त अवस्था आउन दिनु हुँदैन।

अपुरो प्रेस्क्रिप्सन

कम्युनिस्ट पार्टीको एक सिपाहीको हैसियतबाट आफू आबद्ध पार्टीलाई बचाउने दायित्व कमरेड भुसालमा पनि हो। त्यो दायित्व जगत्लाई देखाउनकै लागि उनलाई यत्रो लेखै लेख्नुपर्ने दरकार त सायद थिएन। केवल नेकपामाथि चिन्ता प्रकट गर्दै लेखिएको लेखले कमरेडको आन्तरिक पार्टी जीवनमा अर्थ त राख्छ नै, यसले मुलुकको अर्थराजनीतिक समस्याबारे चिन्ता प्रकट गरेको र त्यसको समाधानका लागि पहलकदमी लिएको ठहर्दैन।

कमरेड भुसालले क्रान्तिको आगामी कार्यक्रमको रूपमा प्रेस्क्राइब गरेका सहकारिता र साझेदारीमा आधारित कृषि, निजी र सार्वजनिक शिक्षाको विभेदको अन्त्य, सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवाको ग्यारेन्टीको कुरा अहिलेको अर्थतन्त्रको संरचना नबदलेसम्म सम्भव छैन। उत्पादन, बिक्रीवितरण र राज्यले गर्ने लगानीको संयन्त्र यथावत् राखेर कृषिमा परिवर्तन सम्भव छैन। त्यसैगरी शिक्षा र स्वास्थ्य सेवामा हाल व्याप्त ‘बजार अर्थतन्त्र’ मा आधारित दृष्टिकोणलाई कायमै राखेर कुनै पनि हालतमा सुध्रिने छैन। त्यसैले मौजुदा संरचना र सोचमा उनले भनेको क्रान्तिको कार्यक्रम लागू हुने कुनै गुन्जायस छैन।

बरु ती कार्यक्रम कमरेडकै भाषामा ‘दलाल (उत्पादनरहित दलालीकरण) पुँजीवाद’ को तप्केनीमा पर्नेछ र स्वतः मुर्झाउनेछ। यसर्थ, समग्र मुलुकको अर्थराजनीतिक रूपान्तरणको कार्यक्रम अपूर्ण छ भने उनले पार्टीभित्रको आन्तरिक विवाद हल गर्न सुझाएका उपाय पनि दायित्वबोध नगर्नुपर्ने खालका लाग्छन्। उपदेशात्मक चुनावी घोषणापत्रको शैली दिइएका सुझावले नेकपाको रडाको साम्य होला र ?

अन्त्यमा, ‘नेकपा बचाउने’ कमरेड भुसालको प्रेस्क्रिप्सन क्यान्सरले मरणासन्न भएको पार्टीलाई स्लाइन चढाएर, केही झारपात र बुट्टी खुवाएरै तन्दुरुस्त बनाउन खोज्ने वैद्यको प्रयत्नजस्तो मात्रै लाग्यो। घोषणामुखी आग्रह र योजनाले अब दलालीकरणको दलदलमा फसेको नेकपालाई उद्धार गर्न नसक्ने स्पष्ट छ। यहाँनेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीट साभार गर्नु सान्दर्भिक हुनेछ।

‘मन्त्री (घनश्याम भुसाल) ले नेकपा बचाउन सिफारिस गरेको औषधि चौथो चरणको क्यान्सर रोगीलाई सिटामोल सिफारिस गरेजस्तो लाग्यो। सिकिस्त सिंगो नेकपा बचाउने प्रयत्न गर्नुको सट्टा सद्दे अंगहरूलाई बेलैमा दान गरेर वैकल्पिक शक्ति निर्माणमा योगदान गर्नु श्रेयष्कर होला। नयाँ समाजवादी ध्रुवीकरण पो ठीक होला त !’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.