हेलिकोप्टरबाट जेनेरेटर र जस्तापाता ढुवानी
बेनी : भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत जेनेरेटर र जस्तापाता ढुवानी गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरले बिहीबार दरवाङबाट ढुवानी गरेर मालिका गाउँपालिका-५ देविस्थानको मगरदाङमा जेनेरेटर र धवलागिरी गाउँपालिका-६ मराङमा जस्तापाता पुर्याइएको हो ।
असार २५ र २६ गतेको पहिरोले २५ किलोवाट क्षमताको मगरदाङ-डाडागाउँ- आशाटोल लघुजलविद्युत परियोजनाको बाँध, नहर र विद्युतगृह बगाएपछि १२५ घरधुरी अन्धकारमा थिए । उपभोक्ताहरुले छ लाख २० हजार रुपैयाँमा १० हर्सपावर क्षमताको डिजेलबाट चल्ने जेनेरेटर खरिद गरेपनि दरवाङदेखि देविस्थान जोड्ने सडक अवरुद्ध भएका कारण ढुवानी हुन सकेको थिएन् ।
नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले पहिरो पीडितको राहतका लागि संकलन गरेको रकमबाट जेनेरेटर ढुवानी गरिएको उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर घर्तीले बताए । 'केन्द्रीय प्रशारण लाइन विस्तार नहुँदासम्म जनेरेटेर चलाएर उज्यालोको बैकल्पिक व्यवस्था मिलाएका छौं, 'उनले भने ।' स्थानीयबासीको एक करोड दुई लाख रुपैयाँ लगानीमा निर्माण भएको लघुजलविद्युत परियोजनाको सबै संरचना पहिरोले क्षत विक्षत बनाएको थियो।
यसैगरी मराङको विभिन्न ठाउँका पहिरो पीडितको अस्थाइ व्यवस्थापनका लागि तयार पारिएको टहरा छाउन धवलागिरी गाउँपालिकाले खरिद गरेको २६७ थान जस्तापाता खरिद गरेको थियो । सो जस्तापाता गाउँपालिकाको खर्चमा हेलिकोप्टरमार्फत मराङमा पुर्याइएको अध्यक्ष थमसरा पुनले बताइन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववीयु म्याग्दीले पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थाइ बसोबासका लागि श्रमशिविर सञ्चालन गरेर ५१ वटा टहरा बनाएका हुन् ।
६५ परिवारको बसोबासका लागि स्थानीय डाफे युवा क्लबसँगको सहकार्यमा बेशीमा ११, ठूलोगाउँमा ८, राम्चेमा १५ र कुम्रिमा १७ वटा टहरा बनाएका थिए । प्रतिनिधिसभा सदस्य थममाया थापा, भुपेन्द्रबहादुर थापा, संबिधानसभा सदस्य नवराज शर्मा, जिसस प्रमुख देवेन्द्र केसी, नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, प्रदेश सदस्य टेकबहादुर विश्वकर्मा र स्थानीय जनप्रतिनिधिहरुको टोलीले केही दिन अघि पहिरो प्रभावित बस्तीको निरीक्षण गरेका थिए ।
पहिरो प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउनका लागि स्थानीयबासीको आग्रहअनुसार मगरदाङमा पार्टीकै खर्चमा जेनेरेटर र मराङमा गाउँपालिकामार्फत जेनेरेटर ढुवानीको व्यवस्था मिलाएको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले बताए ।
उनका अनुसार नेकपाले पहिरो पीडितका लागि दश लाख रुपैयाँभन्दा बढी सहयोग जुटाएको छ । यसअघि नेपाली कांग्रेस म्याग्दीले पनि पहिरो प्रभावित क्षेत्रमा दश लाख रुपैयाँ बराबरको खाद्यान्नलगायत राहत सामग्री वितरण गरेको जनाएको छ । राप्रपा म्याग्दीले जिल्ला विपद् व्यवस्थापन समितिको कोषलाई पचास हजार रुपैयाँ सहयोग गरेको थियो ।
पहिरो र बाढीका कारण म्याग्दीको धवलागिरी, मालिका, अन्नपूर्ण र रघुगंगा गाउपालिकामा ३१ जनाको मृत्यु तथा ५ जना वेपत्ता भएका छन् । जिल्लाभर ८८ वटा घरमा पूर्ण क्षति, ५२९ घर उच्च जोखिम र १४९ घर जोखिम भएर विस्थापित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सडक, विद्युत, सिचाई, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय लगायत सार्वजनिक सम्पत्ति, पशुधन र कृषिमा पनि ठूलो क्षति भएको छ । सिम्रिकको हेलिकोप्टरबाट यसअघि साउन दोस्रो हप्ता बेनी देखि मंगला गाउँपालिका-५ कुरसिम्लामा विद्युतको ट्रान्सफर्मर र अन्नपूर्ण गाउपालिकाको काभ्रे, कोप्चेपानीमा खाद्यान्न तथा मराङमा औषधी ढुवानी गरिएको थियो।
सिम्रिक एयरको पश्चिमाञ्चल क्षेत्रीय प्रमुख कमल गौतमले सामाजिक कार्यमा छुट गरिएको बताए । 'कोभिड-१९ को समयमा सिम्रिकले राहत, उद्धारजस्ता सामाजिक काममा छुट दिएका छौं,' उनले भने ।