घर फर्केकालाई पुन : कोरोना संक्रमण
बैतडी : बैतडीमा कोरोना संक्रमण पुष्टि भई कुनै लक्षण नदेखिएका र १४ दिन क्वारेन्टाइन बसाईपछि घर फर्केकाहरुमा पनि कोरोना देखिन थालेको छ। जिल्लाको सुर्नया गाउँपालिका -७ का दुई जनामा पुनः कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए।
कोरोना पुष्टि भएका तर कुनै लक्षण नदेखिएका दुवै जनालाई १४ दिने क्वारेन्टाइन बसाईपछि घर फर्काइएकोमा फेरि स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको उनले बताए। उनले भने ‘डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा पुनः संक्रमण देखिएको छ। संक्रमण देखिएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। ’
पुनः संक्रमण देखिएका नागरिकका सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए। गाउँपालिका भरीका संक्रमितका सम्पर्कमा रहेका कम्तिमा दुईजनाको स्वाब संकलन गरेर कोरोना परीक्षणको तयारी भइरहेको महराले जानकारी दिए।
जिल्लाका ३२२ जना कोरोना संक्रमितमध्ये १५ जना मात्रै विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा बसिरहेका छन् भने अन्य सबै डिस्चार्ज भइसकेका छन्। कोरोना पोजिटिभ देखिए पनि १४ दिनको क्वारेन्टाइन बसाईपछि लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण बिनै घर पठाइएको छ। यसले कोरोनाको जोखिम पनि बढ्दै गएको छ।
पछिल्लो समयमा सरकारले नै होम क्वारेन्टाइनमा बस्ने निर्देशिका बनाएको र होम क्वारेन्टाइनमा नियम पालना नहुँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। उनले भने ‘समुदायमा कोरोना भए /नभएको बारेमा जानकारी लिनका लागि संक्रमितका आफन्तहरुको स्वाब संकलन भइरहेको छ। केहि पालिकाहरुले स्वाब संकलन गरेर पठाइसकेका छन् भने केहीले संकलन गरिरहेका छन्।’
१४४ जनाको रिपोट अझै आएन
बैतडीमा भारतबाट फर्केका र आरडीटी पोजिटिभ आएका विभिन्न ठाउँका १४४ नागरिकको स्वाबको रिपोर्ट अझै आएको छैन्। करिब डेढ महिना अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकामध्ये १४४ जनाको स्वाबको रिपोर्ट नआएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
मेलौली नगरपालिकाका ८० जना, दोगडाकेदार गाउँपालिकाका ३९ जना, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका ९/९ जना र शिवनाथ गाउँपालिकाका ७ जनाको स्वाबको रिपोर्ट नआएको हो। स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइएको भएपनि डेढ महिना बढि बितिसक्दा समेत रिपोर्ट नआएको जोशीले बताए।
रिपोर्ट नआएका स्वाबहरु हराएको अथवा अन्यत्र कतै रिपोर्ट गएको हुन सक्ने आशंका गरिएको छ। समयमा रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेका ती नागरिक १४ दिने क्वारेन्टाइन बसाईपछि घर फर्किसकेका छन्।
समयमा स्वाबको रिपोर्ट नआएपछि धनगढी प्रयोगशालालाई जानकारी गराइसकेको भएपनि स्वाब रिपोर्ट अझै आउन नसकेको कोभीड १९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिए।जिल्लामा अहिलेसम्म २ हजार २८१ जनाको स्वाब संकलन गरिएकोमा ३२२ जनामा कोरोना पुष्टि भइसकेको छ। कोरोना पुष्टि भएका १५ जनाबाहेक सबै डिस्चार्ज भइसकेका छन्।