समुदायमा कोरोना फैलिएपछि भैरहवामा लकडाउन
भैरहवा : भैरहवामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि लकडाउन गर्ने निर्णय भएको छ। सिद्धार्थनगर नगरपालिका (भैरहवा) को शुक्रबार बसेको बैठकले नगर क्षेत्र भित्र कोरोना संक्रमण तिव्र रुपमा फैलिइरहेकोले रोकथाम र नियन्त्रणका लागि शहरलाई लकडाउन गर्ने निर्णय गरेको हो।
बैठकले साउन ३१ गते राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ। शुक्रबार मात्रै भैरहवामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अघि सिद्धार्थ सिमेन्ट उद्योगका ११ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।
शुक्रबार पुष्टि भएका सात जनामध्ये चारजना भैरहवा हवाई इन्धन डिपोका कर्मचारी, २ जना सुन पसलमा काम गर्ने भारतीय नागरिक र एकजना एसबीआई बैंकको भैरहवा शाखाका कर्मचारी हुन्। बैंकको सेवा बन्द गरी बैंकलाई सिल गरिएको छ।
‘भैरहवामा सामुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ’, स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले भने, ‘संक्रमण रोक्न सर्वसाधरणको साथ आवश्यक छ। अहिले सबै संक्रमित सम्पर्कमा छन्, भोलिदेखि कन्ट्याक्ट टे«सिङ सुरु गर्छौँ।
शुक्रबार भैरहवाका ७ जनाका साथै बुटवलका ७ जनामा पनि संक्रमण पुष्टि भएको छ। यो सँगै रुपन्देहीमा शुक्रबारमा १४ जनामा संक्रमण पुष्टि भएको हो। सबैले स्वइच्छाले शुल्क तिरेर निजी प्रयोगशालामा परीक्षण गराएका हुन्।
लकडाउनको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाई तथा अन्य अत्यावश्यक सेवा संचालन हुने नगरप्रमुख हरिप्रसाद अधिकारीले बताए। उनका अनुसार लकडाउनमा खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूधजन्य पदाथको विक्रीवितरण आवश्यक दूरी कायम गरी बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म संचालन हुनेछन्।