कोरोना ! म कुन देशको शरणार्थी ?
असारको बाढीले बगाउँदै ल्याएको काठजस्तै म अहिले समयको बाढीमा बग्न बाध्य छु। अनेक हन्डर खाँदै शरीरको छालाका सबै खाला उप्किएर सेतो हाडजस्तै बनेको बगरको बगे्रठजस्तै हुँ म। चोट खाँदाखाँदा शिथिल मात्र नभई पीडाले थङ्थिलो परेको छु। यति बेला कोही कसैले मलाई काख दिन चाहँदैनन्। स्वर्गको प्यारो काखबाट मनुष्य बन्ने सराप पाएर धर्ती झरेको प्रमिथसजस्तै भएको छु। बग्दैबग्दै बगरमा आएर एउटा शरणार्थीझैं थामिएको छु।, हिजो मेरो छुट्टै शान थियो।
आफ्नै रौनक, एक किसिमको बडप्पन र रोब रवाफ ! घरमा गुन्दु्रक र खोले खाएर भए पनि, रिनधन जे गरेर भए पनि सजिसजाउ भएर स्कुल पुग्ने। तपाईंको भाषामा भन्दा म एक गुरु। खासमा म नेपाली भाषाको शिक्षक। मनभरि पीडा गुम्स्याएर बाहिर टाई, सुट र बुटमा सजिने समाजमा सभ्य र भव्य मानिएको एक मास्टर। अहिले त्यही गलपासो गलाको पासो बनेर कसिएको छ। हिजो उमेर छउन्जेल श्रम, समय र लगानी सबै बोर्डिङमा खन्याएँ। कति विद्यार्थीलाई जिल्लामै उत्कृष्ट बनाएर पुरस्कार थापेका हात यिनै हुन्।
चारैतिरबाट प्रशंसाका फूल बर्सिएको सम्झँदा अहिले पनि आँखाबाट खुसी बर्सिन्छ। पढाएरै धेरै वर्ष बिताएँ। दिनरात एक गरेर रगत पसिना पनि बगाइयो। आज होला भोलि होला भन्दाभन्दै समय कति छिटो बितिसकेछ। ६७ सालबाट पढाउन थालेको एघारौं वर्ष पनि लागेछ। यसै बीचमा कोरिया गएको मेरो साथीको पोखरामा एउटा राम्रो घर अनि घरको तल पार्किङ गरी राखेको सुन्दर कार छ। उसको लाइफ स्टाइल छुट्टै छ।
आज म उसकै घरमा भाडा माग्न जानेजस्तै भएको छु। म जाने हो भने उसले नाइँ कसरी भन्न सक्छ र ? भोलि बस्दा बस्दा छोराछोरीलाई ट्युसन पढाइदेऊ भन्न सक्छ। पढेर ठूलो भइन्छ भन्दै स्कुलका वादविवादहरूमा धनभन्दा विद्या ठूलो भन्ने मेरा विद्यार्थीलाई अब मैले के सिकाउने होला ? यी ओठ काँप्न थाल्छन्। गला त्यसै अवरुद्ध भएर आउँछ। मभित्रको म जमेर चिसो बरफको डल्लोजस्तै हुन्छ। अनि तैंले यतिका वर्षसम्म पनि केही कमाइनस् भन्नुहोला। कमाएँ नि किन कमाइनँ ? कति साहुलाई रोडबाट करोडमा पुर्याएँ। हिजो ‘पाडो’ चराउनेहरू आज ‘प्राडो’ चढ्ने भए त कोही आजलाई पुर्याएर भोलिको बारेमा सोच्दैछन्। कुन बैंकमा खाता छैन होला उनीहरूको। सेयर र सहकारी उनीहरूकै छन्। मैलै भात खान पनि सोच्नुपर्छ। उनीहरू आज लन्च खाने भएका छन्। बर्गर र स्यान्डविचमा खाजाको स्वाद फेर्ने भएका छन्। एउटा शिक्षक भएर आज आफ्नी छोरीलाई कापी किन्न पनि सोच्नुपर्ने कताको म !
मेरी उनी र एउटी भएकी सानी छोरी पनि मामाघरतिरै शरणागत भएको चार महिना भइसकेछ। म आफ्नै देशभित्र कसरी शरणार्थी हुन पुगेँ। म तार्किक जवाफ चाहन्छु। के मैले यो देशलाई आजसम्म कुनै योगदान दिइनँ ? अब पनि म देशलाई कहिल्यै नचाहिने हो त ? मलाई अधिकारभन्दा पनि अधिकारको मीठो अनुभूति चाहिएको छ तर एक शरणार्थीको समस्या देशको समस्या कहाँ बन्न सक्छ र ?
क्यापुचिनो भन्दै कफीमा रमाउन थालेका छन् उनीहरू। सम्झिँदा पनि मुटु निचोरिएर आउँछ। चार महिनाको लकडाउनपछि जागिर खाने म भन्नुभन्दा जागिरले खाने म भएको छु। यी दुवैमा समानताभन्दा असमानता कति हो कति छन् ? बिहे गरेर आफ्ना रहरहरू नमेट्दै श्रीमान्को असामयिक निधनले धन, मन र यौवन भएर पनि निर्धन भएकी एक दयनीय विधवा नारीजस्तै म विक्षिप्त बनेको छु यति बेला। कोरोनाको कहरले जिन्दगीका सातै रङ खोसिएर भनौं वा मिसिएर एक भएझैं भएको छु म। अन्तिम सत्यरूपी श्वेताम्बर बनाएको छ मलाई, यो निष्ठुर अनि पापी समयले। खै कसरी ढुंग्रोजस्तै कठोर मेरो मन समयको शेरले परिवर्तनको सिकार बनायो। मलाई पत्तो भएन।
म उस्तै छु, रात उस्तै छ, दिन दुरुस्तै छ तर मेरो बुझाइ किन फरक ? मेरो सोचाइ किन मिल्दैन ? हिजो र आजको गराइमा किन आकाश र पातालको फरक छ ? अर्कैअर्कै एकान्त बाटो हिँड्न मन लाग्छ। यो भीडबाट अलि पर बरु एकलासमा एक्लै भए पनि एकछिन रमाउन मन लाग्छ। यो माटोको अस्तित्व खोज्न मन लाग्छ, आफ्नै अस्तित्वलाई धरापमा राखेर पनि। म किन किन असमञ्जसमा छु। जताततै समस्या, समस्या अनि समस्या मात्र। तिनै अनुत्तरित समस्याका चाङले थिचिएको यो आङको थेरापी खै कहाँ हुन्छ ? थाहा छैन, यसको अन्तिम स्वरूप कस्तो हुने हो। त्यो पनि अनिश्चित छ। यही अनिश्चित जिन्दगीको निश्चित गोरेटो खोज्दै छु म। एक दिन कसो नभेटिएला र !
आखिर वर्तमानमा जे जस्तो भए पनि भविष्यको झिनो आशाको डोरीमा मानिस डोरिनु पर्दो रहेछ। मित्रबाट भएको घातजस्तै समयको घोडाले हानेको लात असह्य भएको छ। यसरी पीडाका उच्छवासहरू आलाप्दै दिन बिताउन लागेको पनि धेरै भइसक्यो। म सम्झन्छु, पुसतिरै चीनमा कोरोना देखिए पनि उतिसारो ममा परिवर्तन भएको थिएन। नेपालमा सुरुसुरुमा देखिएका कोभिड-१९ पोजेटिभले पनि भित्रभित्र डर त पैदा गरिरहेकै थियो तर स्थिति जे जस्तो भए पनि मनस्थिति भने बिगे्रको थिएन। डाँडामा बेलुकापख तातो बताससँगै सुसाउने सल्लेरी वनको आवाज पनि मेरै मनको पीडाको सुसाइजस्तै लाग्छ। वैशाखतिरबाटै यत्रतत्र सर्वत्र रूपमा अनलाइन कक्षा, भर्चुअल क्लास, दूरशिक्षा यी र यस्तै नामको हल्ला फैलिएको थियो।
एकातिर कोरोनाको जोखिम र त्रास अर्कोतिर बेरोजगारीको आगलागी। गाँस, बास र कपासको सन्त्रासले मलाई असन्तुलित बनाइरहेको थियो। न सहरमा व्यवस्थित बसाइ न त गाउँमा कुनै व्यवस्था। यता न उता धोबीघाटको कुत्ताजस्तै थिएँ भन्दा कुनै अत्युक्ति हुँदैन। यसबीच कतिपयले शिक्षकलाई तालिम दिएर अनलाइन कक्षा सुरु पनि गरे। हाम्रो पनि सुरु गर्ने वा नगर्ने स्कुलले कुनै कुरा गरेको थिएन। बेलाबेलामा अभिभावकसँग जोडिन भने लगाएकै थियो। दिनहरू केवल अनिर्णयको बन्दी बनेका थिए। महिना जस्ता लामा दिन बिताउन पनि सारै गाह्रो परिरहेको थियो। फागुनको तलब लिएर हिँडेको भए पनि जेठको अन्त्यतिर आएर चैतको तलब पाइयो। त्यसपछि आजसम्म तलबको कुनै खबर आएन। के गर्ने, तलब पाउने वा नपाउने अन्योलमा पिङ खेल्दै भए पनि काम त गर्नै पर्यो। पहिला काम पछि माम। कहिले होला माम खाएर काम गर्ने दिन आउने ?
गाउँघरतिर रिनधन गरेरै भए पनि काम चलाइहेको थिएँ। जिन्दगीका दिन घट्दै थिए तर रिन एकदुई दिन गरेर चढ्दै थियो गौरीशंकर हिमाल। उता पोखरामा थुनेर हिँडेको कोठाको भाडाको बिल पनि हावामा घुमिरहेको थियो। बेलाबेलामा हुने सम्पर्कबाट घरधनीले भाडाको आश गरेको थाहा पाएको थिएँ तर फोन गरेर निराश पार्न मन लागेको थिएन। पहिला शक्तिशाली हल्लाले गर्दा होला कोरोना भनेपछि सबैको सातो जान्थ्यो। यसको अलिअलि प्रभाव ममा पनि नपर्ने त कुरै भएन। अहिले कोरोना लागे पनि र नलागे पनि कुनै गुनासो छैन। मनको कुनामा कोरोनाप्रति एक रति पनि डर छैन। त्यो सबै खै कहाँ गयो, केले लुट्यो म भन्न सक्दिनँ।
म टोलाएँ। बुढेसकालका वृद्ध आमाबुवा पाल्नुपर्ने बेलामा म उहाँहरूसँगै वृद्धभत्ताबाटै जीवन गुजारिरहेको छु। तीसको दशकमै वृद्धभत्ता खाएर जीवनयापन गर्न पाउने सौभाग्य हो या दुर्भाग्य ? म बिलखबन्दमा पर्छु। सोच्दै जाँदा म एउटै निष्कर्षमा पुग्छु— मलाई राज्यले शरणार्थी बनाएको छ।
वरिपरि हेर्छु, इच्छा र रहरहरू वनारसको मनिकर्णिका घाटमा जल्ने लास जसरी एकैपटक सयौं जलिरहेका थिए। घर वरिपरि फूल फुलेका छन्। तिनै फूलहरूमा पनि न कुनै सुन्दरता भेटछु न त कुनै सुगन्ध। भेट्दिनँ खोलानालाहरूमा त्यो संगीतको ध्वनि, उत्तरतिर हीराको थुप्रोझैं टल्किरहेका हिमालहरू पनि आज कठ्यांग्रिने चिसो बरफका पहाड जस्ता लाग्छन्। हरियो वनजंगल पनि खै किन किन शिशिर छोप्ने क्षणिक खोल मात्र लाग्न थालेको छ। पाखापर्वतको छाती चिरेर बग्ने ती तरल चाँदीजस्ता निर्झरनिर्झरी पनि आज फगत पानीका खोलानाला लाग्छ।
मान्छेहरू देख्दा पनि लहलह खेतीपाती सखाप पार्ने सलहको झुन्डजस्तै लाग्छ। मलाई मेरोभन्दा पनि मेरो पाखुरमा हुर्किरहेका निर्दोष आँकुराहरूको माया छ। आन्दोलन गर्न सडकमा टायर बाल्नुपर्छ, गोजीमा ढुंगा हालेर तोडफोडमा उत्रनुपर्छ या भनौं प्रहरीसँग दोहोरी खेल्नुपर्छ भन्ने पनि छैन। यो एक सशक्त आन्दोलन हो, मेरो कलम आन्दोलन। किनकि कमजोरहरू हतियारसँग युद्ध गर्छन् भने विद्वान्हरू कलमको सहायताले लड्छन्। हुन त मैले आफूलाई त्यस्तो विद्वान् भन्न खोजेको होइन। आन्दोलनको स्वरूप फेर्न यतिको ज्ञानले पनि सकिन्छ भन्न मात्र खोजेको हो। नुनको सोझो गर्नुपर्छ भन्नेहरूले नुनको सोझो गर्नेलाई पनि गुनको सोझो गर्नुपर्छ कि पर्दैन ?
आफ्नो स्वार्थ मात्रै हेरेर सुखमा साथ अनि दुःखमा हात दिनुपर्नेमा लात दिनेहरू यस्तै हुन्छन्। त्यसैले ‘बाउ घाती र साहु जाती’ कहिल्यै हुँदैन भनिन्छ, साँचो हो रहेछ। यहाँ सबै मान्छे गाईको मीठो दूध पिउन चाहन्छन् तर गाई पालेर घाँस, कुँडो दिने र गोबर फाल्न कोही चाहँदैनन्। यस्तै गलत मानसिकता र आफ्नै दुनो मात्र सोझ्याउने दुष्ट प्रवृत्तिका मानिसले संसार भरियो।
हिजो नाफाको कुम्लो सुटुक्क जग्गाजमिन जोड्न र सेयरमा लगानी गर्ने अनि अहिले घाटाचाहिँ शिक्षकले पनि बाँड्नुपर्ने कहाँको नियम हो यो ? शिक्षकका नाममा अझै कति दिन शिखण्डी बन्नुपर्ने ? विद्यालय सञ्चालकले एकतर्फी रूपमा चाहिँदाको भाँडो नचाहिँदाको कुन्नि के भने जस्तो गरेर तलब सुविधाबाट वञ्चित गरेका छन्। राज्यले पनि यसमा आफ्नो उपस्थिति देखाउनुपर्छ कि पर्दैन ?
हिजो मजाले कर असुल्ने अहिले कानमा तेल हालेर बस्ने राज्यसंयन्त्र कुम्भकर्णझैं किन निदाएको होला ? नियामक निकायको भूमिकामा रहेर निर्णायक बन्नुपर्ने राज्यले लगभग तीन लाख नागरिकको बिचल्लीमा आँखा चिम्लन मिल्छ। यिनै प्रश्नहरू तरबार बनेर उभिन्छन् मेराअगाडि।
म नाजवाफ छु। कम्पनी ऐनअन्तर्गत मुनाफा आर्जन गर्न सञ्चालन भएका संस्थागत विद्यालयले विगतका वर्षमा एकाध स्कुलबाहेक मुनाफाको घरघडेरी मात्र बनाएनन्, पलङ बनाए अनि पैसाको बिस्तारामा सुते। सेवामुखीभन्दा नाफामुखी व्यवसाय सञ्चालन गरेर आएका बोर्डिङको भविष्य अझै सुनिश्चित नै छ तर विशुद्ध शिक्षण पेसामा आफ्नो जीवन समर्पण गरेका शिक्षकबाट दधिचिको हाड लिएर बदलामा समस्याको पहाड दिइएको छ।
सबैलाई अन्धकारबाट उज्यालो जीवन प्रदान गर्ने गुरु÷गुरुआमाहरूको पीडामा अहिले हिमालले आँसु बगाएको छ। हावाले आगो बोकेर बहेको छ। जुनले शीत पोखेको छ। विरोधको ज्वाला बालिरहेको छ। गुरुहरूले निर्दोष एकलव्यको श्राप त भोगिरहेका छैनन्। मलाई द्रोणाचार्यप्रति सारै रिस उठ्छ। बोनस ऐन, २०३० को दफा ५ अनुसार प्रत्येक प्रतिष्ठानले आफ्नो मुनाफाको दस प्रतिशत आफ्ना कामदार वा कर्मचारीलाई हिस्सेदार बनाउनुपर्छ। दफा १३ मा बोनस वितरणपछिको रकमबाट ७० प्रतिशत कल्याणकारी कोषमा र ३० प्रतिशत रकम कर्मचारीको हकहितमा व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान छ। यी सबै कसले कार्यान्वयन गराउने हो, म जिज्ञासु बन्छु।
कागजमा भएर के गर्नू ? व्यवहारमा नउतारेपछि। यही बेलामा आंशिक रूपमा भए पनि अनलाइनबाट पढाउन लगाउँदै बोर्डिङले बालुवाबाट तेल निकालिरहेको छ। निचरेको कागती फेरि निचोरिरहेको छ। विगतमा शिक्षकको काँध चढेर प्रगतिको सगरमाथा पुगे पनि शिक्षक नै यस व्यवसायका सारथि हुन्, मूल आधार हुन् र बलिया खम्बा हुन् भन्ने कुरालाई हेक्का राख्नुपर्छ।
उनीहरूबाट गुलियो रस चुसेर कपास बनाएर उकेलेर फाल्ने काम कदापि राम्रो होइन भन्ने कुरा बुझ्नुपर्छ। के थाहा ? पछि त्यही उखेलेको कपास जाडोमा आगो ताप्न काम आउन सक्छ। आज आएर संस्थागत स्कुलका शिक्षकले एउटा अभिभावक गुमाएका छन्। घाउमा लगाउने मलम र उनीहरूको आवाजलाई लिपिमा उतार्ने कलम गुमाएका छन्। शिक्षकका नाममा अलिअलि आन्दोलनको छायाँ देखिए पनि त्यसको कुनै निष्कर्ष आएन।
मौसमी प्याउली जसरी उठे र बिलाएर गए पनि। संस्थागत स्कुलका रक्षाकवच संस्थाहरूले आन्दोलन भन्दै अनलाइन कक्षा पनि बन्द गरेको अवस्था छ। शिक्षकलाई बिना कुनै राहत बेतलबी बिदाको विज्ञप्ति छापिएको छ। म भावविह्वल हुन्छु।
यसले सम्पूर्ण निष्ठावान् शिक्षकको आस्थाको आकाश फाटेको छ, भरोसाको धर्ती भासिएको छ। श्रद्धाको फूल ओइलाएको छ अनि विश्वासको मुटु थिचिएको छ। न्यायको गला रेटिएको छ। धर्मको खुट्टा काटिएको छ अनि कर्तव्यको घाँटी निमोठिएको छ। अहिले हिजोअस्तिको जस्तो सामान्य जनजीवन छैन। यो बेलामा सामान्य खर्चले जीवन चलाउन पनि सारै मुस्किल छ।
मुद्रास्फीतिले गर्दा वस्तु र सामानको मूल्य सर्वसाधारणका लागि आकाशको फल बनिसकेको छ। स्कुलले भेडीगोठको गोठालो जसरी शिक्षकलाई उपेक्षा गरेपछि जीवन झन् कठिन बन्यो। कुनै क्षमता नै नभएका हुन् र शिक्षकहरू ? बाटो र माटो दुवै गलत हुनै सक्दैनन्। गलत बनाइएको हो। देवकोटालाई त पागल बनाउन सक्ने यो समाजसँग मलाई निकै डर लाग्छ। हामी जस्ता सामान्य व्यक्तिलाई त झिँगा सम्झन्छ होला। एक चुट्कीको झिँगा। शिक्षकका ताता पसिना चुसेर बनेका ती बालुवाका महलभित्र मानवता मर्दै गएको छ। यता मेरो जीवन झन् कष्टकर बनिरहेको हुँदा अनायासै मुखबाट फुत्क्यो- मरेर सहिद हुनेहरू हो जिएर र त हेर, जिउन कति गाह्रो छ।
भूपि शेरचनको यही पंक्ति धेरै बेर सुरताल नमिले पनि गुञ्जाउन मन लाग्यो। एक्लो होइन आज हजारौं लाखौं वृहस्पति कसरी झुट्टा साबित भए। म भावुक हुन्छु। मेरो बाध्यता र गरिबीको फाइदा आखिर कहिलेसम्म अझै कतिले उठाउने हुन् ? म अनभिज्ञ छु। यही र यस्तै हुँदै जाँदा समाजमा सबैले बोर्डिङ बहिष्कार गर्ने अवस्था आयो भने के होला ? सञ्चालकहरू कल्पनासम्म पनि गर्न सक्दैनन्। म टोलाएँ। बुढेसकालका वृद्ध आमाबुवा पाल्नुपर्ने बेलामा म उहाँहरूसँगै वृद्धभत्ताबाटै जीवन गुजारिरहेको छु। तीसको दशकमै वृद्धभत्ता खाएर जीवनयापन गर्न पाउने सौभाग्य हो या दुर्भाग्य ? म बिलखबन्दमा पर्छु। सोच्दै जाँदा म एउटै निष्कर्षमा पुग्छु- मलाई राज्यले शरणार्थी बनाएको छ।
खहरेको झोलुंगे पुलझैं म यता र उता हल्लिएर जीवन चलाइरहेको छु। खै मेरो स्थिरता ? मेरी उनी र एउटी भएकी सानी छोरी पनि मामाघरतिरै शरणागत भएको चार महिना भइसकेछ। म आफ्नै देशभित्र कसरी शरणार्थी हुन पुगेँ। म तार्किक जवाफ चाहन्छु। के मैले यो देशलाई आजसम्म कुनै योगदान दिइनँ ? अब पनि म देशलाई कहिल्यै नचाहिने हो त ? मलाई अधिकारभन्दा पनि अधिकारको मीठो अनुभूति चाहिएको छ तर एक शरणार्थीको समस्या देशको समस्या कहाँ बन्न सक्छ र ? त्यसैले मलाई कसले भनिदिन्छ, म कुन देशको शरणार्थी ?