सडकको पहिरो र भल व्यवस्थापन नहुँदा मंगलाघाट बजारमा बाढी पस्यो
बेनी : बस्ती माथिको पाखोमा खनिएको सडकमा खसेको पहिरो र भल व्यवस्थापन नहुँदा बेनी नगरपालिका–७ स्थित मंगलाघाट बजारमा गएराती बाढी आएको छ।
बेनी–पाखापानी सडकको अर्थुङ्गेबाट आएको बाढीले निजी घर, खानेपानी आयोजना, धार्मिक स्थल महारानी थान, सत्यसाइकेन्द्र, खेलमैदान र सडकमा क्षति पुर्याएको हो। जिल्ला सदरमुकाम बेनी बजारको पश्चिमी भागमा अवस्थित मंगलाघाटका बासिन्दा बाढीको त्रासका कारण रातभर जाग्राम बसेका थिए।
बबुल केसी, रुद्रबहादुर सुनार याममाया पुन, चित्रकुमारी गौचन, हिस्कमत शेरचन, राजु केसीको घर र त्यहाँ सञ्चालमा रहेका पसलभित्र बाढी पसेर सामान नष्ट भएको मंगलाघाट प्रहरी बिटले जनाएको छ।
प्रहरी हवल्दार बालबहादुर सोमै मगरका अनुसार जिवन सापकोटाको म्याग्दी मोटर पाट्र्स एण्ड वर्कसप उद्योगको टहरा, शौचायय र ग्यारेज बाढीले पुरिएको छ। ग्यारेजमा करिब छ लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।
हिक्मत शेरचनको पलाइउड उद्योगमा बाढी पसेर ३०० गोटा पलाइउड नष्ट हुँदा पाँच लाख बढीको क्षति भएको छ। सत्यसाई केन्द्रको भवन र शौचालयमा बाढी पसेको छ। महारानी थानको डिलको पर्खाल भत्कीएर मंगलाघाटस्थित नगरप्रमुख हरिकुमार श्रेष्ठको बारी पुरिएको छ। गोठमा क्षति पुगेको छ।
यसैगरी मंगलाघाटमा रहेका कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र भू–तथा जलाधार संरक्षण कार्यालयको कर्मचारी आवास भवनमा बाढी पसेर ढुवानमा परेका छन्।
राती बाढी आएपछि आवास छाडेर बजारमा गएर बसेको वन डिभिजन कार्यालयका लेखापाल कृष्ण रिजालले बताए। १० वटा भवनहरुको भुईतलामा लेदोले हिलाम्मे भएका छन्। महारानीथानको पहिरोले बेनी–अर्थुङ्गे हुदै पाखापानी जोड्ने र मंगलाघाटको पहिरोले मंगला, मालिका र धवलागिरी गाउपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध बनाएको छ।
बेनी देखि पोखरा, मुस्ताङ, दरवाङ, बागलुङ जोड्ने सबै सडक अवरुद्ध भएका प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताए। अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ। दूधेखोलाबाट पानी ल्याइएको बेनी खानेपानी उपभोक्ता संस्थाको पाइप पहिरोले बगाएको छ।
शुक्रबार राति साढे ११ बजेदेखि आउन सुरु गरेको बाढी तर्काउदा तर्काउँदै उज्यालो भएको मंगलाघाटका रबी बानियाले बताए। स्थानीयबासी हिक्मत शेरचनले ढुङ्गा, माटो र काठ सहितको बाढी घर तथा पसल भित्र पसेर क्षति भएको बताए। बेनी–अर्थुङ्गे सडकको भल कुरिलाखर्क र आँपरुख खण्डमा खसेको पहिरोमा मिसिएर आउँदा मंगलाघाटमा बाढी आएको स्थानीयबासीले बताएका छन्।
यसअघि बेनीको क्याम्पसचोकतर्फ जाने बाढी शुक्रबार दिउँसो अर्थुङ्गेमा रहेको सेनाको ब्यारेक मुनी खसेको पहिरोका कारण मंगलाघाटतर्फ सोझिएको महारानीथानका धु्रबराज शर्माले बताए। महारानी थान हुँदै अग्नीखेत जोड्ने सडकको डिलमा लगाएको पर्खाल चर्किएपछि उपल्लो मंगलाघाटका करिब पन्ध्र घर जोखिममा परेका छन्।
बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बाढी पन्छाउन नगरपालिकाले एक्साभेटर परिचालन गर्ने बताए। ‘सडकको भल र पहिरोको ब्यवस्थापन तथा नियन्त्रणको काम पनि आजै सुरु हुन्छ,’ उनले भने।