प्रदेश २ मा ३५ सयले कोरोना जिते, ४२ जनाको मृत्यु
जनकपुरधाम : प्रदेश–२ मा हालसम्म ३५ सयले कोरोना जितेका छन्। सामाजिक विकास मन्त्रालय प्रदेश–२ का अनुसार साउन ३० गतेसम्ममा प्रदेश २ का आठ वटै जिल्लाबाट ३ हजार ५ सय ४८ जना कोरोना संक्रमितले कोरोना जितेका हुन्।
हाल एक हजार २९ जना संक्रमित कोरोना अस्पतालमा भर्ना छन्। दुई हजार ११ जना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ९ सय २५ जनाको परीक्षणका लागि संकलन गरिएको स्वाबको नतिजा आउन बाँकी छ। बाहिरबाट आएका तथा संक्रमितको सम्पर्कमा आएका १ हजार ६ सय ४५ जना क्वारेन्टाइनमा छन् भने होम क्वारेन्टाइनमा २ हजार २ सय ९९ जना छन्।
कोरोनाले ४२ जनाको मृत्यु
हालसम्म प्रदेश–२ मा कोरोना संक्रमणबाट ४२ जनाले ज्यान गुमाएका छन्। जनस्वास्थ्य निर्देशनालय जनकपुरधामका वरिष्ट जनस्वास्थ्य प्रशासक बिजयकुमार झाले कोरोना संक्रमणले प्रदेश–२ आक्रान्त बन्दै गएको र एक सातामा १४ जनाको मृत्यु भएको बताए। उनले भने, 'दीर्घरोगीहरु कोरोना संक्रमणको पहिलो सिकार बन्ने गरेका छन्। संक्रमितले अस्पताल भरिभराउ भएर थप बिरामी नअटेपछि धेरै संक्रमित घरमै छन्। भेन्टिलेटर नपाएर संक्रमितको मृत्यु भइरहेको छ।'
प्रदेश–२ मा हालसम्म ६९ हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। जसमध्ये ६ हजार ६ सय २७ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको समाजिक विकास मन्त्रालय प्रदेश–२ ले जनाएको छ।
‘दीर्घ रोगी नै बढी संक्रमित छन्। कोरोनासँग लड्न उनीहरुमा रोगप्रतिरोधात्मक क्षमता कम भएकोले ज्यान गइरहेको छ’, वरिष्ट प्रशासक झाले भने,‘संक्रमण बढेपछि मृत्युदर बढ्नु स्वाभिकै हो।’
भारतबाट आएकाको व्यवस्थापनमा स्थानीय सरकार र प्रदेश सरकार चुक्दा कोरोना संक्रमण र मृतकको ग्राफ उकालो लागेको हो। क्वारेन्टाइन भद्रगोल बन्नु, पीसीआर परीक्षणमा ढिलाइ हुनु, संक्रमितलाई व्यवस्थापनमा ध्यान नदिनु, सीमा नाका खुकुलो हुनु, संक्रमितले भेन्टिलेटर नपाउनु, कारोनालाई ख्यालख्यालमा लिनु जस्ता कारणले प्रदेश–२ कोरोनाको उच्च जोखिममा पुगेको हो। प्रदेश–२ मा दैनिक ८ सय जनाको कोरोना परीक्षण भइरहेको छ। जनकपुर, राजबिराज र बीरगन्ज गरी तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला राखिएको छ।
‘कोरोना नियन्त्रणमा सरकार चुक्यो ’
अन्य प्रदेशभन्दा प्रदेश–२ को अवस्था जोखिमपूर्ण बन्दै गएको प्रदेश सभा सदस्य सारदा देवी थापाले औंल्याइन्। क्वारेन्टाइन व्यवस्थानमा सरकार चुकेको र त्यहीं कारणले कोरोना संक्रमण बढेको उनको भनाइ छ।‘हाम्रो खुल्ला सीमा छ। भारतबाट नेपाल प्रदेश सहजै भइरहेको छ’, उनले भनिन्,‘सरकारको लापरवाहीले संक्रमण फैलियो। संक्रमितको उपचारमा पनि सरकार गम्भीर बन्न सकेको छैन। संक्रमित भेन्टिलेटर नपाएर प्राण त्याग्न बाध्य छन्।’
मानिस आफैं क्वारेन्टाइनमा बस्न जाने अवसेथ नआएसम्म कोरोना नियन्त्रणमा नआउने उनले बताइन्। प्रदेश–२ का आठ जिल्लामा करिब ६० लाख मानिस बसोबास गर्छन्। प्रदेश–२ का जिल्लाबाट नेपालभरि सबैभन्दा बढी वैदेशिक रोजगारीमा जान्छन्। भारतबाट घर फर्किनेको संख्या पनि उतिकै छ। तर, कोरोना परीक्षणको दायर भने अझै फराकिलो छैन।
मुख्यमन्त्री लालबाबु राउतको सरकार कोभिड–१९ नियन्त्रणमा असफल भएको विपक्षी दल नेकपा नेता तथा प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले बताए।
‘पीसीआर परीक्षण, क्वारेन्टाइन व्यवस्थानमा सरकार चुक्दा प्रदेशभरि कोरोना भाइरसको जोखिम बढ्यो’, उनले टिप्पणी गर्दै भने,‘सरकारले कोरोना नियन्त्रण गर्नै सवालमा कार्ययोजन विनाको लक्ष्य निर्धारण गरेको छ। रणनीतिक लक्ष्य प्राप्तिका लागि कार्ययोजना जे हुनपर्थ्यो त्यो नै छैन। त्यसको मुख्य कारण नेतृत्व आर्थिक लोभमा पर्नु हो। उपकरण खरिददेखि क्वारेन्टाइन व्यवस्थान गर्दासम्म आर्थिक चलखेलकै गन्ध छ।’