ज्यान जोखिममा राखेर काठको फड्केमा वारपार !

ज्यान जोखिममा राखेर काठको फड्केमा वारपार !

बेंसीसहर : बेसीसहर चामे सडक अन्र्तगत लमजुङको घोप्टेखोलाले सडक बगाएपछि सवारी आवागमन ठप्प भएको छ। वारपार गर्न स्थानीयले काठको फड्के बनाएका छन्। सोही भर्‍याङ प्रयोग गरेर जोखिमपूर्ण ढंगले स्थानीय यात्रा गर्छन्। त्यही भर्‍याङ पनि पटक पटक बाढीले बगाउँदा समस्या हुने गरेको स्थानीय जीतबहादुर गुरुङले बताए।

‘बिहान फड्के बनायो, राति पहिरो बगाउँछ’, गुरुङले भने, ‘दिनदिनै फड्के बनाएर मानिसलाई वारपार गराएका छौं।’ उनका अनुसार अहिले यो बाटोमा एक्लै हिँड्ने अवस्था छैन। एउटाले फड्के नतरुन्जेल अर्कोले भर्‍याङ समाइदिनुपर्छ। ‘भर्‍याङबाट चिप्लिए खोलामा परिन्छ। दिनदिनै जोखिम मोलेर हिड्नुपर्छ,’ उनले भने।

मस्र्याङ्दी गाउँपालिका-४, ताघ्रिङको घोप्टे र काप्रेभीरको बीचमा पर्ने घोप्टेखोलामाथिको फड्केमा स्थानीयले आफैं पहरा दिएर बटुवालाई वारपार गराउने गरेका छन्। मानिस ज्यानको बाजी राखेर हिँड्न बाध्य छन्। मस्र्याङ्दी–४ का वडाध्यक्ष सुमन गुरुङले फड्केमा वारपार गर्न जोखिम भएकाले यात्रा नगर्न अनुरोध गरिएको बताए। बेलिब्रिज राख्न वडा र गाउँपालिकाले पहल गरिरहेको उनले जानकारी दिए।

बेंसीसहर–चामे सडक बनेपछि सिंगो मनाङ जिल्लासँगै उत्तरी लमजुङका बासिन्दालाई सहज भएको थियो। बर्खायामको बाढीपहिरोले स्थानीयलाई सधैं समस्यामा पारेको डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख अमितकुमार श्रेष्ठले बताए। घोप्टेखोलामा एक महिना भित्र बेलिब्रिज बनाउने गरी काम भइहेको उनले बताए।

नेपाली सेनाले ट्रयाक खोलेको ७ वर्षअघि २०६९ मा सरकारलाई हस्तान्तरण गरेको सडक स्तरवृद्धिमा ढिलाई हुँदा बर्सेनी समस्या आउने गरेको स्थानीय बताउँछन्। गण्डकी प्रदेश विकास तथा अर्थ समितिका सभापति दिपक कोइरालाको टोलीले सडकको अनुगमन गरेको छ। सडक स्तरवृद्धिका लागि संघीय सरकारलाई घचघचाउने उनले प्रतिवद्धता जनाए।

बेंसीसहर–चामे सडकको बेंसीसहरदेखि म्यार्दीसम्म लमजुङ खण्ड ३५ किलोमिटर र म्यार्दीदेखि चामेसम्म मनाङखण्ड ३० किलोमिटर छ। मनाङ खण्डको म्यार्दीदेखि सिरानताल, धारापानी क्षेत्रमा बर्सेनी पहिरो खस्ने गरेको छ। लमजुङतर्फ च्याम्चे, स्याँगे, काप्रेभीर, अर्खले, खुदी–भुलभुले साथै बेंसीसहर नजिकैको उत्तीसघारी खरखरे, बेलौती बिसौनालगायत क्षेत्रमा बाढीपहिरोले सडक क्षतविक्षत बनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.