अर्घाखाँचीका पाँच स्थानीय सरकार कोरोनामुक्त
सन्धिखर्क : अर्घाखाँचीका पाँच स्थानीय सरकार कोरोनामुक्त भएका छन्। सबै कोरोना संक्रमित निको भएर घर फर्किएपछि पाँच स्थानीय सरकार कोरोनामुक्त बनेका हुन्।
जिल्ला सदरमुकाम रहेको सन्धिखर्क नगरपालिका, सितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकामा रहेका सबै २ सय १८ कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिले भूमिकास्थान नगरपालिकामा मात्र २ जना कोरोना संक्रमित रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए। जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय २९ रहेकोमा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालारानी गाउँपालिकाका १ जना, भूमिकास्थान नगरपालिकाका १ जना र सितगंगा नगरपालिकाका एकजना रहेका छन्।
सन्धिखर्क नगरपालिकाका ४४ जना, सितगंगा नगरपालिकाका ६५ जना, भूमिकास्थान नगरपालिकाका १ सय ६ जना, मालारानी गाउँपालिकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २८ जना गरी ३ सय २४ जनाले कोरोना रोग जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए।
जिल्ला बाहिर तथा भारतबाट आएका १ सय ५८ जना विभिन्न क्वारेन्टाइनमा रहेका छन्।