सधैँ मुस्कुराइरहुनू मनीषा

सधैँ मुस्कुराइरहुनू मनीषा

काठमाडौं : ‘म कति समय बाँच्छु भनेर प्रश्न गरिरहन्थें । डाक्टरहरू मौन बस्थे । जब उनीहरू जवाफविहीन हुन्थे, मलाई निकै डर लाग्थ्यो । मृत्यु नजिकै आइसक्यो जस्तो लाग्थ्यो । त्यो बेला मेरो बुझाइअनुसारको क्यान्सर भनेको ‘मेन्टल्ली डेथ’ थियो । क्यान्सर लाग्नु भनेको जीवन सकिनु हैन भनेर बुझ्न मलाई लामो समय लाग्यो ।’ आठ वर्षअघि पाठेघरको क्यान्सरसँग साक्षात्कार गरेकी बलिउड नायिका मनीषा कोइराला हाल बोनसको जिन्दगी बाँचिरहेकी छन् । भन्छिन्,

‘क्यान्सरले मलाई पुनर्जन्म दियो ।’

मनीषाले आत्मबल गुमाइनन् । उनको दृढ आत्मविश्वास, इच्छाशक्तिले नै क्यान्सरलाई परास्त गर्न सकिन् । र, त यही आइतबार ५०औं जन्मोत्सव मनाउने मौका पाइन् । सन् १९७० अगस्ट १६ मा जन्मिएकी मनीषा जिन्दगीको आधा शतक समय पार गरिन् ।

मनीषा कोइराला आफैंमा पूर्ण परिचय हो । जो नेपालमा जन्मिएर बलिउडमा स्थापित भइन् । सन् १९९१ मा अभिनेता विवेक मु श्रानसँग जोडी बाँधेको ‘सौदागर’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् मनीषाले । उनको डेब्यु फिल्म ‘सौदागर’ निकै चर्चामा रह्यो । त्यस सफलताले उनलाई लगातार फिल्म दिलायो । ६ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी मनीषा बलिउड छिर्नुअघि नेपाली फिल्म ‘फेरि भेटौला’मा पनि खेलेकी थिइन् । तर यो फिल्म राम्रो चलेन ।

मृत्युलाई निकै नजिकबाट अनुभव गरेकी मनीषा अहिले अरूलाई हौसला दिँदै हिँड्छिन् । क्यान्सरलाई कसरी जित्ने स्वास्थ्य सन्देश बाँडिरहेकी हुन्छिन् । यसै साता बलिउड नायक सञ्जय दत्त क्यान्सरपीडित भए । सञ्जयलाई हौसल बढाउँदै मनीषाको अग्रिम शुभकामना थियो, ‘तिमी क्यान्सरलाई जरुर पराजित गर्छौ सञ्जय ।’ उनले आफ्नो मृत्यु अनुभवलाई अंग्रेजी भाषाको पुस्तक ‘हिल्ड’मा पोखेकी छन् ।

रिल लाइफमा निकै चमकधमक र रंगरमाइलो जिन्दगी बाँचेकी मनीषाले जिन्दगीलाई खासै फर्केर हेर्नु परेको थिएन् । क्यान्सर लागेपछि नै उनले खास जिन्दगी बुझिन् । क्यान्सरलाई मृत्युसँग लड्ने अवसरका रूपमा ग्रहण गरिन् ।

एक दशकअघि व्यवसायी सम्राट दाहालसँग वैवाहिक सम्बन्धमा जोडिएकी मनीषाको दाम्पत्य रथ भने लामो समय गुड्न सकेन । विवाह टुट्नु, क्यान्सर लाग्नु र अभिनयबाट टाढिनु पर्दा उनले कठिन समय पार गरेकी थिइन् । जन्मदिनको ५०औं वर्षगाँठ मनाइरहँदा उनको आत्मविश्वास, जीवनप्रतिको सकारात्मक दृष्टिकोण भने अझ मौलाएर गएको देख्न सकिन्छ । पछिल्लो समय उनमा आध्यात्मिक झुकाव बढ्दै गएको छ ।

राष्ट्रप्रेम र मनीषा

जेठको पहिलो साता अभिनेत्री मनीषा कोइरालाले गरेको एक ट्विटका कारण विवादमा तानिएकी थिइन् । नेपाल–भारत सीमा विवादमा नेपालको पक्षमा ट्विट लेखेको भन्दै भारतीय ट्विटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध अनर्गल प्रचार गरे । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय’ भन्दै ट्विट गरेका थिए । सोही ट्विटलाई रिट्विट गर्दै मनीषाले विचार राखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद । अब तीन महान् देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु ।’

लगत्तै उक्त ट्विटमा मिश्रित प्रतिक्रिया आए । भारतीय टीभी च्यानल एबीपी न्युजले त उनको ट्विटलाई ‘भारतको नुन खाएर चीनको गीत गाउने ? ’ भन्ने आरोपसमेत लगायो । त्यसबेला सामाजिक सञ्जालमा आइएम विथ मनीषा ट्याग गरेर धेरैले उनको साथ दिए । उनले सो टिप्पणीको कडा ढंगले खण्डन गरिन्, ‘कला बेचेकी हुँ, स्वाभिमान होइन ।’

मनीषाकी आमा सुष्मा कोइरालाले गत वर्ष पोखरामा भएको लिट्रेचर फेस्टिभलमा मनीषालाई डाक्टर बनाउने इच्छा राखेको बताएकी थिइन् । ‘तर छोरी राम्रो कलाकारको रूपमा उदाएकोमा म गर्व गर्छु ।’ उनले प्रफुल्लित हुँदै भनेकी थिइन् ।

नेपाली कांग्रेसको महाधिवेशन संघारमा छ । बीपी कोइरालाकी नातिनी मनीषालाई भने राजनीतिमा रुचि छैन । सायद बुवा प्रकाश कोइरालालाई पनि राजनीतिमा असफल भएको उनले नजिकबाट नियालेकी छन् । उनको भनाइ छ, सबैले राजनीति नै गर्नुपर्छ भन्ने छैन । आआफ्नो क्षेत्रमा सबैले राम्रो गरौं । मनीषालाई जन्मदिनको ५०औं वर्षगाँठको शुभकामना ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.