संक्रमणमुक्तलाई सामाजिक सकस

संक्रमणमुक्तलाई सामाजिक सकस

स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्यविद्ले समेत बारम्बार भन्दै आएका छन्, ‘कोरोना संक्रमणमुक्त व्यक्तिबाट अरूलाई सर्दैन। यस्ता व्यक्तिलाई घर, परिवार र समाजबाट अलग्गै राख्नुपर्दैन।’ गलत बुझाइले समाजमा संक्रमणमुक्तलाई घर जान नदिने, आफन्त तथा परिवारका सदस्यले पनि छुट्टै कोठामा राख्नेजस्ता विभेद बढिरहेका छन्, यो अपूरो ज्ञानको परिणाम हो। व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने यस्ता कृत्य तत्काल रोकिनुपर्छ। सभ्य समाजमा यस्ता कुनै पनि गलत गतिविधिलाई प्रश्रय दिइनु हुँदैन।

कोरोनाको संक्रमणमुक्त भएर उपचार गरेर घर फर्कंदा सुनसरीका एक युवाले समाजले दुव्र्यवहार गरेपछि होटलमा बस्नुपरेको छ। कोरोना संक्रमितका घरमा समाजका अगुवाले नै ब्यानर टाँसेका छन्। अन्य ठाउँमा पनि यस्ता थुप्रै हर्कत भएका छन्। यस्ता क्रियाकलापमा संलग्न हुने हरेक सद्दे मानिसले संक्रमणमुक्त व्यक्ति पनि हामीजस्तै हुन् भन्ने बुझ्न जरुरी छ। मानिस कोरोना संक्रमित हुनु कुनै अपराध होइन। कोरोनाले धनी, गरिब, सानो, ठूलो, शासक, शासित, देशभित्र बसेको-देशबाहिर गएको भन्दैन। तिनै मान्छेलाई पनि संक्रमित हुन सक्छ, जसले आज संक्रमितलाई हेलाँ गरिरहेका छन्, छिःछिः र दूरदूर गरिरहेका छन्। विज्ञका अनुसार संक्रमणमुक्त भएर आएका बेलामा झन् बढी परिवारका साथ र सहयोग चाहिन्छ। संक्रमणमुक्त भएकाले अरूलाई सार्दैनन्। उनीहरू पनि हामीजस्तै हुन् भन्ने बुझ्न जरुरी छ।

हरेक मान्छेले कुनै आपत् आइलागेमा अरूबाट सहयोग र आत्मसम्मानको अपेक्षा गरिरहेका हुन्छन्। आफूले समस्या बेहोर्नुपर्ने अवस्था आएपछि मात्र अरूको सहयोगको अपेक्षा राख्ने र त्यसपछि मात्रै समस्या भनेको यस्तो हुन्छ भन्ने ज्ञान लिने प्रवृत्ति त्याग्नुपर्छ। कोरोना संक्रमित र सम्भावित जोखिममा भएका मानिसले यस्तै सहयोगको आशा गरिरहेका छन् भन्ने पक्षलाई सबैले हेक्का राख्नुपर्छ। संक्रमित र सम्भावित जोखिममा भएकाप्रति सामाजिक विभेद गर्नु अमानवीय र स्वार्थी व्यवहार हो। यस्ता गलत प्रवृत्तिको भण्डाफोर गरेर सभ्य र समतामूलक समाज निर्माण गर्नुपर्छ। यो महाविपत्तिको सबै एकजुट भएर मात्रै सामना गर्न सकिन्छ भन्ने यथार्थलाई कसैले पनि बिर्सनु हुँदैन।

कोरोनाबारे समाजमा देखिएका डर, त्रास र मिथ्या जानकारीले यस्तो अवस्था निम्तिएको हो। यस्तो अवस्थामा मनमा लागेका वा कसैले कुरा गर्दा सुनेका आधारमा नभई चिकित्सक, विज्ञ र आधिकारिक निकायका भनाइ बुझेर मात्र आफ्नो धारणा बनाउनुपर्छ। समुदायस्तरमै कोरोना फैलिइरहेको छ। भोलि आफू पनि संक्रमित भइहालियो भने अरूलाई जस्तो व्यवहार गरिन्छ, भोलि आफूले पनि त्यस्तै पाइन्छ भन्ने वास्तविकता कसैले पनि नबिर्सौं। तसर्थ संक्रमणमुक्त भएका र संक्रमितलाई समेत अपहेलना र घृणा गर्नु हुँदैन। उनीहरूको मनोबल खस्किने व्यवहार पनि गर्नु हुँदैन। निरुत्साहित, कमजोर र मनोबल गिराउने काम कसैले गरेमा त्यस्तालाई कारबाहीको दायरामा ल्याउनुपर्छ। यससम्बन्धी कानुन छैन भने मन्त्रिपरिषद्बाट तत्काल निर्णय गरेर भए पनि सचेत गराउने अधिकार सम्बन्धित तहलाई दिनुपर्छ।

संक्रमणमुक्त भएर घर फर्किएकाको व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्छ। संक्रमणमुक्त भएको कति दिनसम्म ऊ निश्चित दूरी कायम गरेर बस्नुपर्छ वा पर्दैन भन्ने विषयमा अस्पताल तथा चिकित्सकले स्पष्ट पारिदिनुपर्छ। स्वास्थ्य मन्त्रालय कोरोनाका उपचारमा संलग्न अन्य निकायले आफ्नो वेबसाइटमा स्पष्टरूपमा यस्ता विषयबारे जानकारी राख्नुपर्छ। विभिन्न सञ्चारमाध्यमबाट बेलाबेलामा चेतनामूलक जानकारी प्रकाशन तथा प्रसारण गर्ने बन्दोबस्त गर्नुपर्छ। कोरोनाविरुद्ध अभियान चलाइरहेका सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गरेर पनि यसबारे जानकारी दिन सकिन्छ। संक्रमणमुक्त भएर घर फर्कने बेलामा सम्बन्धित स्थानीय तह वा वडालाई जिम्मा लगाएर घर पठाउने गर्नुपर्छ। त्यस्ता व्यक्तिलाई कसैले अपहेलना वा दुव्र्यवहार गरेको पाइएमा स्थानीय तहकै अगुवाइमा सहजीकरण गर्नुपर्छ। दुव्र्यवहारमा उत्रनेलाई परामर्श दिनुपर्छ। जति सम्झाउँदा पनि नमानेमा प्रहरी प्रशासन लगाएर भए पनि सचेत गराउनुपर्छ। जसरी हुन्छ, संक्रमितलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ। उनीहरूलाई समाजमा सम्मानजनक रूपमा जिउने वातावरण बनाउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.