३६५ वर्षमा पहिलोपटक रोकिने भयो पञ्चदान पर्व
भक्तपुर : सोमबार भाद्र कृष्ण पक्ष त्रयोदशी। यस दिन प्रत्येक वर्ष भक्तपुरका बौद्धमार्गीले पञ्चदान पर्व धुमधामसँग मनाउँदै आएका छन्।
बौद्ध दर्शनमा दानदातव्यलाई पवित्र मानिएको छ। त्यसैले पञ्चदान पर्वमा बौद्धमार्गी नेवारहरुले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाई अन्न, फलफूल र दक्षिणा दिन्छन्।
यस दिन भक्तपुरसँगै काठमाडौं, ठिमी र काभ्रेको बनेपालगायतका ठाउँमा पञ्चदान मनाइन्छ। नेपालबाट तिब्बत गएका बौद्धमार्गीहरुले चीनको स्वशासित क्षेत्र तिब्बतमा समेत यसै दिन पञ्चदान पर्व मनाउँछन्। तर ललितपुरमा भने यो पर्व श्रावण शुक्ल अष्टमीका दिन मनाइन्छ।
नेपाल संवत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले पञ्चदान पर्व प्रचलनमा ल्याएको किम्बदन्तीमा उल्लेख छ। यसअनुसार पञ्चदान पर्व तीनसय ६५ वर्ष पुरानो पर्व हो। जुन पञ्चदान पर्वको इतिहासमै पहिलोपटक यस वर्ष रोकिने भएको छ।
फाइल फोटो
विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका कारण भक्तपुरमा यस वर्ष पञ्चदान पर्व स्थगित गर्ने निर्णय गरिएको छ। भक्तपुर नगरपालिकाको पहलमा पञ्चदान पर्वमा भक्तपुर नगर परिक्रमा गराइने पञ्चबुद्ध आशीन पाँच महाविहारका प्रतिनिधिहरुको संयुक्त बैठकले यस वर्ष पञ्चदान पर्व औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गरिएको हो। उक्त निर्णयानुसार यस वर्ष पञ्चबुद्धलाई भक्तपुर नगर परिक्रमा नगराइने भएको भक्तपुर बौद्ध सम्पदा संघका पूर्वअध्यक्ष पद्मसुन्दर शाक्यले जानकारी दिए।
उनका अनुसार ३६५ वर्षअघिदेखि यस पर्व निरन्तर सञ्चालन हुँदै आएको थियो। पर्व यस वर्ष कोरोना भाइरसको त्रासका कारण रोकिएको हो। ‘यसअघि कुनै कारणले पञ्चदान पर्व रोकिएको इतिहास छैन’, पूर्वअध्यक्ष शाक्यले भने, ‘नेपालमा पटकपटक महाभूकम्प आउँदा पनि यो पर्व रोकिएको थिएन तर कोरोना भाइरस संक्रमणको कारण रोकिने भयो।’
यस दिन भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्वका पाँचवटा महाविहारहरुमा रहेका दीपंकर बुद्धहरुलाई नगर परिक्रमा गराइन्छ। क्वाठडांैस्थित प्रशन्नशील, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत महाविहारमा रहेका पाँच दीपंकर बुद्धहरुलाई भक्तपुर नगर परिक्रमा गराइँदै आएको छ।
यी पाँच दीपंकर बुद्धलाई भक्तपुर नपा ९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा पूजा गरी बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइन्छ। ती दीपंकर बुद्धसँगै बौद्धमार्गीहरु बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुन्छन्। बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत भिक्षाटनमा सहभागी भई अन्न, फलफूल र दक्षिणा दान थाप्छन्।
फाइल फोटो
यस दिन बौद्धहरुका साथै विभिन्न धर्म, जाति, भाषा र सम्प्रदाय सर्वसाधारणले आफ्नो क्षमताअनुसार दान गर्ने गर्दछन्। बौद्धमार्गीहरुले आफू बुद्धका अनुयायी भएको कारण आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र यसै दिन उक्त दान प्रदान गर्ने पूर्वअध्यक्ष शाक्य बताउँछन्।
बुद्ध धर्ममा प्रवजित बालकदेखि वृद्धसम्मका बौद्धमार्गीहरु बौद्ध आचरणअनुसार दान लिन जानेहरुले नुहाइधुवाई गर्नुपर्ने र पञ्चशील पालन गरी उक्त दिन खीर, दूध, फलफूल आदि मात्र भोजन गर्न हुने मान्यता छ।
भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा सम्पन्न गरिन्छ। पूजा सकिएपछि दीपंकर बुद्धहरुलाई बाजागाजासहित टौमढीस्थित पश्चिम डबलीमा विराजमान गराएर पञ्चदान पर्व समापन गर्ने प्रचलन रहेको छ। समापनका बेला टौमढीमा दान गाथा र स्त्रोत्र वाचनसँगै गुँला बाजा बजाइन्छ।
तर यस वर्ष यी कुनै पनि धार्मिक एवं सांस्कृतिक कार्य नहुने परम्परागत बौद्ध युवा संघका अध्यक्ष महेन्द्रराज शाक्यले जानकारी दिए।उनले उक्त दिन नगर परिक्रमा गराइने दीपंकर बुद्धलाई सम्बन्धित महाविहार बाहिर निकालेर आवश्यक पूजाआजालगायतका विधिमात्रै पूरा गरिने स्पष्ट पारे।
‘दीपंकर बुद्धलाई सम्बन्धित महाविहार बाहिर निकालेर प्रांगणमा राखिनेछ’, अध्यक्ष शाक्यले भने, ‘आवश्यक पूजाआजा विधिपूर्वक गरिनेछ। बाजागाजा बजाइने छैन।’