बेनी–जोमसोम सडकमा जोखिमपूर्ण यात्रा (तस्बिरसहित)

बेनी–जोमसोम सडकमा जोखिमपूर्ण यात्रा (तस्बिरसहित)

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा खसेको पहिरोले पुरिएर साउन ६ गते पालिकाकै ३ नम्बर वडामा पर्ने काभ्रेका ३२ वर्षीय झलक पुनको ज्यान गयो। बेनीबाट काभ्रेस्थित घरतर्फ जाने क्रममा सडकमा हिँडिरहेको अवस्थामा भीरबाट खसेको पहिरोले पुरिएका पुनको घटनास्थलमै मृत्यु भएको थियो। 

मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगंगा गाउपालिका–१ बेगखोलाकी अममाया गर्बुजा घाइते भइन्। ‘हिडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट लागेर गर्बुजाको देब्रे हात भाचिएको छ,’ उनले भनिन् ‘एक्कासी खसेको ढुङ्गा, माटो सहितको पहिरोले धन्न ज्यान लिएन्।’

पहिरोसँगै करिब १० मिटर तल कालीगण्डकी नदी किनारमा खसेकी गर्बुजालाई नेपाली सेनाको बज्रदल गणको घाँसा सुरक्षा बेस क्याम्प, प्रहरी र स्थानीयबासीले उद्दार गरेका थिए। अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर गत असार ३० गते मंगला गाउँपालिका–५ का ज्ञानबहादुर पुनको मृत्यु भयो। 

गिट्टी बोकेर गुईठेदेखि घारतर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिपरसहित कालीगण्डकीमा खसेका चालक पुनको शव असार ३१ गते रातोपानीमा भेटिएको थियो। साउन ५ गते अपराहन्न बेनी–जोमसोम सडक अन्तरगत पर्ने भजेनी खोला तर्ने क्रममा बेपत्ता भएका काभ्रेका बलबहादुर गर्बुजा अझै भेटिएका छैनन्। 

मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोका कारण पछिल्लो ४० दिनयता दुई जनाको ज्यान जानुका साथै एक जना घाइते भएका छन्। ‘साँघुरो र अक्करे भीरमा खनिएको सडकमा खसिरहने पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको छ,’ काभ्रेकी सरिता बरुवालले भनिन् ‘कहिले काँही बस्तीमै भीरबाट ढुङ्गा खस्छ।’

असार २६ गतेदेखि अवरुद्ध बेनी जोमसोम सडकको विभिन्न ठाउँमा खसेको पहिरो पार गर्न जोखिमपूर्ण पैदलयात्रा गर्नुपर्छ। ठाउँ-ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने कष्टसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका रमेश पुर्जाले बताए। 

राहुघाट, खामभित्ता, रुप्से, काभ्रेभिर र घोप्टेभिरमा खसेको पहिरोले ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। गलेश्वरमा राहुघाटमा आएको बाढीले भत्काएको बेलिब्रिज, धिरच्याङ, नागढुङ्गा, जलथलेमा कटान गरेको सडक मर्मत सकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताए।  

रुप्सेखोलामा बाढीले निर्माणाधिन र चालु अवस्थाको मोटर चल्ने पुल बगाएपछि आवत जावतका लागि काठको अस्थाई पुल बनाइएको छ। सडक मर्मतसँगै पैदलमार्ग र साघु हालिएको आयोजनाका सुपरभाइजर इन्द्रशिंह शेरचनले बताए। 

बेनी–जोमसोम सडक अवरुद्ध हुदा मुस्ताङमा खाद्यान्न, इन्धन, निर्माण सामग्री ढुवानी र त्यहाँ उत्पादन भएको कृषि उपज निकासी हुन सकेको छैन्। बिरामीलाई महँगो रकम खर्चेर हेलिकप्टरबाट अस्पताल लैजानुपर्ने बाध्यता छ। 

जनजीवन कष्टकर 

सडक सम्पर्क बिच्छेद भएपछि अन्नपूर्ण गाउँपालिकाको जनजीवन कष्टकर, विकास आयोजना ठप्प भएका छन्। नियमित विद्युत र सञ्चार सुविधा पनि नहुँदा पहिरो, कटान र बाढीको चपेटामा परेका स्थानीयबासी थप समस्यामा परेका छन्। 

काभ्रे, कोप्चेपानी, घराप, फगाम, भुरुङ्ग तातोपानी, धिरच्याङ, महभिर र दोसल्लेमा पहिरो र कटानले प्रभावित बनाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। ‘सडक मर्मतको काम भैरहेको छ। पहिरो पीडितलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याएका छौ,’ उनले भने ‘जोखिमयुक्त बस्तीको अध्ययन, स्थानान्तरण र संरक्षणका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरेका छौँ।’

निर्माणाधीन बेनी–जोमसोम, पोखरेबगर–चित्रे सडक, दाना सवस्टेशन, दाना–खुर्कोट प्रशारण लाइन, मिस्तीखोला, घारखोला जलविद्युत आयोजना निर्माण ठप्प भएको छ। ति आयोजनामा क्षति पुगेको छ। दानातर्फको सडक अवरुद्ध भएर आवत जावत बन्द भएपछि नारच्याङ हुँदै मुस्ताङको घाँसा जोड्ने पुरानो पदमार्ग मर्मत गरेर सञ्चालन गरिएको छ। 

पहिरोबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण, भुगर्भबिद्को टोलीबाट जोखिमयुक्त बस्तीको अध्ययन गराएर स्थानान्तरण, घरबास गुमाएकाको पुनस्थापना र जोखिम न्युनीकरणका लागि संरक्षणमा पहल गरेको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बताए।  

प्रदेशसभा सदस्य बिनोद केसीले तत्कालिन रुपमा जनजीवनलाई सहज बनाउन सडक, विद्युत, सञ्चार सेवालाई नियमित सञ्चालन गर्ने, खानेपानी आयोजनाहरु मर्मत तथा जोखिमयुक्त ठाउँमा संरक्षणका योजना सञ्चालन गर्न पहल गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.