उदार ज्याकलिन
मुम्बई : जन्मदिन मनाउने आआफ्नै तौरतरिका हुन्छन्। सहरका धेरैले जन्मदिनमा दिल खोलेर खर्च गर्छन्। बलिउड नायिका ज्याकलिन फर्नान्डेजले भने आफ्नो जन्मदिनका अवसरमा महाराष्ट्रका दुई गाउँका एक हजार पाँच सय ५० मानिसको जिम्मा लिएकी छन्।
ज्याकलिनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका ती मानिसको भरणपोषणको जिम्मा लिएकी हुन्। उनले तीन वर्षसम्म गाउँमा रहेका १५ सयभन्दा बढी मानिसका लागि खानेकुराको व्यवस्था गर्नेछिन्। यहाँका बासिन्दा आधारभूत आवश्यकताबाट वञ्चित रहेको ज्याकलिनको भनाइ छ। उनले बालबालिकाका लागि पोसिलो खानाको व्यवस्था गर्ने जनाएकी छन्।
गाउँमा जनचेतनामूलक कार्यक्रमसमेत चलाउने ज्याकलिनको योजना छ। गाउँमा जन्मिएका नयाँ बालबालिकालाई के ख्वाउने भन्ने विषयमा तिनका आमाहरू अनभिज्ञ रहेको भन्दै ज्याकलिनले उनीहरूका लागि चेतनामूलक कार्यक्रम आवश्यक रहेको बताइन्। महिला, बालबालिकालाई पोसिलो खानेकुरा ख्वाउन गाउँमा २० वटा भान्साघर तयार गर्ने ज्याकलिनको योजना छ। एजेन्सी