स्याङ्जा अस्पताल एक साताका लागि सिल
स्याङजा : सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुष कैदीबन्दीको उपचारमा संलग्न भएको भन्दै जिल्ला अस्पताल स्याङ्जा एक साताका लागि सिल गरिएको छ । कारागारमा रहेका ती पुरुषमा ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार सदरमुकामस्थित अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।
उपचारमा संलग्न चिकित्सकको टोलीले कोभिडको शंका गरी उनको नमूना स्वाब परीक्षणका लागि आइतबार साँझ पोखरा पठाएको थियो । संक्रमितका उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पतालको निर्मलीकरण गर्नुपर्ने भएको जनाउँदै एक साताका लागि अस्पतालबाट हुने सबै सेवा बन्द गरी सम्बन्धित चिकित्सक टोलीलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले जानकारी दिए ।
कैदीबन्दीमा कोरोना पुष्टि भएको खबर सार्वजनिक भएसँग मंगलबार बिहान बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पताल सिल गर्ने निर्णय गरेको अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. सुशिल मरासिनीले बताए । अस्पताल बन्द भएसँगै सेवाग्राहीमा पर्नसक्ने असुविधाप्रति क्षमाप्राथि रहेको जनाउँदै कोभिड विरुद्धको लडाइमा आवश्यक सावधानी अपनाउन समेत सूचित गराइएको छ ।
संक्रमितको उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालका प्रवक्ता डा. अन्जु अर्यालले बताइन् ।