बालक मृत्यु प्रकरण : १० लाख क्षतिपूर्ति दिने सहमति
बैतडी : बैतडीमा खाल्डोमा पुरिएर मृत्यु भएका दुई बालकका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि परिवारले शव बुझेका छन् । सोमबार बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाडौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको सडकमा ह्युम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर ज्यान गएको थियो ।
देहीमाडौं -गिरेगडा सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा ह्युम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै आफन्तले शव बुझेका थिएनन् ।
मंगलबार मृतकका परिवार, निर्माण व्यवसायी र जनप्रतिनिधिबीच पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति पछि दुवै बालकको शव बुझेका हुन्। देहीमाडौं -गिरेगडा सडकखण्ड स्तरोन्नतिको काम गरिरहेका निर्माण व्यवसायीले ६ लाख र दशरथचन्द नगरपालिका तर्फबाट ४ लाख गरी मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति भएको दशरथचन्द नगरपालिका २ का वडा अध्यक्ष रनबहादुर बोहराले जानकारी दिए ।
सडकमा बनाइको खाल्डोकै कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले क्षतिपूर्ति नदिँदासम्म शव नउठाउने बताएपछि क्षतिपूर्ति दिने सहमति भएको हो । सहमतिपछि दुवै बालकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।