पितृसत्ताभित्रका निरीह बाबु
एकाबिहानै नाम्लो भिरेर निस्केको ऊ झम्के साँझमा लखतरान हुँदै छिँडीको अँध्यारो कोठामा फर्कन्छ। उसका पदचाप सुनेर केटाकेटी झुम्मिन्छन्। थोत्रा गम्छाको पोको फुकाएर उसले तिनका हातमा केही थमाइदिन्छ अनि मायाले कपाल मुसार्दै गालामा म्वाइँ खान्छ। खानेकुरा पाएर केटाकेटी रमाउँदै खान थाल्छन्। ऊ भने नजिकैको बिछ्यौनामा थचक्क बसेर घटघटी पानी पिउन थाल्छ। किनभने दिउँसो उसले पेटभरि खाएको थिएन। त्यो खानेकुरा केटाकेटीका लागि भनेर पोको पारेर राखेको थियो। खोकिलामा जतनले राखेका केही नोट झिकेर पत्नीका हातमा थमाइदिएर उसले एउटा सन्तोषको सास लिन्छ यही सोचेर कि आजको मेरो दायित्व पूरा भयो। बाटोमा प्रायः भेटिने त्यो भरिया दाइ भारी बोक्दै पसिनाले नुहाइरहेको हुन्छ। उसका शरीरबाट निस्केका पसिना र मयलको गन्धमा मैले कहिल्यै पनि पितृसत्ताको गन्ध अनुभूत गर्न सकेकी छैन।
एकजना परिचित व्यक्ति मैले जानेदेखि नै झिसमिसे बिहानीसँगै घरबाट निस्कन्छन् अनि लगभग आधा रातमा फर्कन्छन्। उनलाई काठमाडौंको हुस्सु र तुसारोमयी बिहानीको जाडोको चिन्ता हुँदैन। हिउँद–बर्खा, घाम–पानी केहीको पर्वाह नगरी उनी आफ्नो दैनिकीमा लाग्छन्। उनको त्यही श्रम र लगनले परिवार सम्पन्न बनेको छ। कसैले उनलाई ‘अब पनि कति दुःख गर्नुहुन्छ ? यसो आराम पनि गर्ने गर्नुस् न’ भन्दा उनी भन्ने गर्छन्, ‘सन्तानको भविष्यका लागि केही त गर्नैपर्यो नि। उनीहरूको पढाइ पूरा होस् अनि...।’ परिवारमा निर्णयको सम्पूर्ण अधिकार पत्नीमा निहित छ। छोराछोरी आमाकै निर्णयलाई सर्वोपरि ठान्छन्। टोल–छिमेक, समुदाय–समाज सबैतिर उनी नै सहभागी हुन्छिन्। परिवार उनकै निर्देशअनुसार चलेको छ। छोराछोरी त्यही बाटोमा लागेका छन् जस्तो उनी चाहन्छिन्। परिवारभित्र तथा समाजमा ती पुरुषको उपस्थितिमा मैले पितृसत्तात्मक अस्तित्व पाउन सक्दिनँ। त्यसैले मलाई आपूmले पढेको मेरी मुरेको पुस्तक ‘द ल अफ द फादर’ अर्थात् बाबुको कानुनमा उल्लिखित विचार पुराना लाग्न थाल्छन्।
नारीवादी सैद्धान्तिक अध्ययनका क्रममा ‘परम्परागत रूपमा पितृसत्ताले बाबुलाई महिला तथा बालबालिकामाथिको सबैजसो अधिकार प्रदान गरेर नाता सम्बन्धभित्र निर्माता र मालिकका रूपमा अधिकार प्रदान गरिएको हुन्छ....आदिम तथा वर्ततमानको सभ्य युग पुरुषहरूकै युग हो’ भन्ने केट मिलेटका विचार, पितृसत्ता नै नारी उत्पीडनको मूल कारण हो भन्ने सुलामिथ फायरस्टोन, एन्ड्रिया दोर्किन, मेरी डेली आदिका विचार पढेकी म हिजोआज आफ्नो परिवेशमा पितृसत्ताभित्रका बाबुहरूको उपस्थितिलाई नियालिरहेकी छु। तर विडम्बना ! मेरो खोजीले सर्वशक्तिमान, दमनकारी र उत्पीडक बाबुको सट्टा कमजोर तथा निरीह बाबुको उपस्थिति पाइरहेको छ। यहाँ पितृसत्ताभित्रका बाबुहरू कतिसम्म निरीह छन् भने दुःख परेका बेला पीडा बगाउँदै रुन पनि सक्दैनन् ! आफैंले स्थापित गरेका मूल्यहरूले उसलाई ‘पुरुष भएर पनि रुन हुन्छ ? ’ भन्दै खबरदारी गरेको हुन्छ। आफ्ना समस्या कसैसँग बाँड्न सक्दैनन्। ‘लोग्नेमान्छे भएर पनि कस्तो कमजोर ? ’ भन्ने आलोचनादेखि डराउँछन्। त्यसैले उनीहरू भित्रभित्रै कुण्ठित भएर बरु मदिराको सहारा लिन पुग्छन्।
पितृसत्तात्मक मूल्यहरूले उसलाई पारिवारिक भूमिकाबाट सधैं पृथक् राख्दै आएको हुँदा ऊ आफ्नै घरमा पनि पाहुनाजस्तो भएको हुन्छ। दैनिक जीवनयापनका हरेक कुरामा ऊ पत्नी वा अन्य महिला सदस्यमा निर्भर हुन्छ। केवल अर्थोपार्जनका यन्त्रका रूपमा रहेको पुरुष पारिवारिक भूमिकामा अक्षम हुनाले नै निरीह बनेको हुन्छ। विवाहित पुरुष एकातिर आमा–बाबु अर्कातिर जहान–बच्चा ! दुई पक्षबीच समन्वय गर्न नसकी सदा तनावग्रस्त देखिन्छ। पत्नीको असामयिक मृत्युमा त उसको अवस्था झनै दयनीय देखिन्छ। पितृसत्ताका मानकहरूभित्र उसले कहिल्यै घरायसी काममा सरिक हुनुपरेन। अविवाहित अवस्थामा आमा वा दिदीबहिनीले ओछ्यानमै चिया पुर्याइदिए र बिहेपश्चात् पत्नीले। एकल भएपछि कसले गर्ने ? अझ ससाना बालबच्चा रहेछन् भने... कसरी हुर्काउने ? यतातिर उसलाई सोच्नै परेको थिएन। त्यसैले उसले दोस्रो बिहे गर्न ढिलो गर्दैन अनि त महिलावृत्तबाट आलोचनाको सिकार भइरहन्छ। पहिलेका सन्तान अनि पछिल्लो पत्नीका सन्तानबीचको तादात्म्य उसका लागि झनै कठिन बन्न जान्छ। पितृसत्तात्मक मूल्यबाट पीडित ऊ पुनः ‘सौताने’ मूल्यको थप मारमा पर्न जान्छ।
मातृत्व र प्रजनन क्षमता नदिएर प्रकृतिले नै ठगेको पुरुष धैर्य, सहनशीलता, संयम आदि गुणबाट पनि वञ्चित छ। ऊ सहन सक्दैन। आवेग थाम्न पनि सक्दैन र त बेलाबेलामा मानवीय तथा सामाजिक नियम–बन्धन उल्लंघनसमेत गर्न पुग्छ। यस्तो अवस्थामा उसको पितृसत्ताले उसलाई निर्दोष सावित गर्न भने सक्दैन। आमाका नामबाट नागरिकता तथा सन्तानको पहिचानको मुद्दा उठेको बेला पितृसत्ताभित्रको बाबु किन विचलित नहोस् ! छोराको नामबाट वंश चल्ने र बाबुका नामबाट नागरिकता दिने प्रावधान मात्र नरहने हो भने परिवारमा उसको हैसियत के होला ? सन्तानको पहिचानको एकाधिकार आमामा मात्र सीमित भइदिने हो भने पितृसत्ताभित्रको निरीह बाबुले ‘बाबु’ को पहिचान पाउला र ? त्यसैले त अहिले सम्भावित पहिचानविहीनताको आशंकाले त्रसित भइरहेको छ पितृसत्ताभित्रको बाबु।
आपूmले मरिमेटेर कमाएको सम्पत्ति पनि ऊ स्वयंका नाममा राख्न सक्दैन। दाजुभाइमा बाँड्नुपर्ला भनेर लुकाउन सबै श्रीमतीका नाममा गरिदिन्छ। कानुनी रूपमा सम्पत्तिविहीन भएपछि श्रीमतीले बेइमानी गर्ली या आपूmमाथि प्रभुत्व कायम गर्ली भन्दै हरपल त्रसित भइरहेको हुन्छ पितृसत्ताभित्रको पुरुष। सम्पत्तिका हकमा सामान्य पुरुषको त के कुरा, समाज रूपान्तरण तथा देशको विकास गर्न भनी राजनीतिमा लागेर सांसद वा मन्त्री भएको पुरुष त सारा सम्पत्ति श्रीमतीको दाइजोमा लेखाएर आपूm सुकुम्बासी बनेको देखिन्छ ! घरपरिवार कसरी चलाउने, सन्तानलाई कस्तो शिक्षा र संस्कार दिने, छरछिमेकमा कस्तो सम्बन्ध बनाउने, सामाजिक प्रतिष्ठा कसरी कायम राख्ने आदिबारे पितृसत्ताभित्रको पुरुषलाई कुनै सरोकार हुँदैन। त्यो सबै उसकी पत्नीमा निर्भर हुन्छ। उसको दायित्व त केवल आर्थिक उपार्जन नै हुन्छ। ‘एउटा परिवार पनि पाल्न नसक्ने नामर्द’ को उपमा पाइएला कि भन्ने डरले ऊ सधैं लखेटिइरहेको हुन्छ। यही लखेटाइका कारण होला, मैले कतिपय यस्ता पुरुष देखेकी छु जो जीवनभर अति दुःख गर्छन्, मीठो खाँदैनन्, राम्रो लगाउँदैनन् र सम्पत्ति जोडन थाल्छन्। जब थातबासको व्यवस्था गर्छन्, उनीहरूको जीवनलीला पनि समाप्त हुन्छ किनभने उनीहरू समाजले आपूmलाई ‘नामर्द’ भन्ला, परिवारले ‘नालायक’ सम्झला भनेर आफ्ना निजी समस्यामा ध्यान दिँदैनन्। स्वास्थ्यको ख्याल गर्दैनन्। अझ रोगसमेत लुकाएर अहोरात्र काममा खटिन्छन् तैपनि परिवार तथा समाजमा जताततै मातृमहिमागान हुन्छ र पितृमहिमा ओझेलमा पर्छ। सन्तानको माया र सहानुभूति पनि सबै आमातिर पोखिएको हुन्छ। बाबु प्रायः छायाँमै पर्ने गर्छ। बाबुको महिमा लेखिएका काव्य–कृति खोज्ने हो भने औंलामा गन्न सकिने मात्र देखिएलान्।
खाडी मुलुकमा पसिना बगाउँदै रेमिट्यान्सले आफ्नो परिवारको खुसी किनिरहेको पुरुषको तातो निश्वासमा कतै पनि पितृसत्ताको गन्ध पाउन सकिँदैन।
पितृसत्ता आफैंमा निन्दनीय छ किनभने यो सामन्तवादी युगको उपज हो। वर्तमानको पुँजीवादी युगमा न सामन्तवादको जगमा उभिएको पितृसत्ता टिकिरहन सक्छ न त मातृसत्ता नै स्थापित हुन सक्छ ! अहिलेको प्रतिस्पर्धात्मक अर्थव्यवस्थाअन्तर्गत जीवनयापनका लागि पुरुषले मात्र श्रम बेचेर पुग्दैन, महिला पनि श्रमबजारमा सरिक हुनुपर्ने अवस्था रहेको छ। आजको शिक्षित र चेतनशील समाजमा महिलाले सैन्य क्षेत्रदेखि सम्पूर्ण क्षेत्रमा आफ्नो उपस्थिति जनाउनाका साथै उसको आर्थिक स्वामित्व पनि स्थापित भएको अवस्थामा ऊ पिता, पति, पुत्रजस्ता कुनै पनि नाताका पुरुषको अधीनस्थ हुन आवश्यक पर्दैन। अतः पितृसत्ताको अस्तित्व स्वतः समाप्त हुँदै गरेको देखिन्छ।
समग्रमा भन्ने हो भने पितृसत्ता विघटनउन्मुख रहेको देखिन्छ। त्यसैले त पितृसत्तात्मक दमन–उत्पीडन केवल शिक्षा र चेतनाविहीन तथा आर्थिक रूपले अक्षम महिलाले मात्र खेपिरहेको देखिन्छ। अहिले भनिने पितृसत्ताभित्र महिला जति पीडित देखिन्छन्, पुरुष पनि त्योभन्दा कम पीडित छैनन्, फरक यत्ति हो, महिलाले आफ्ना पीडा देखाउन सक्छन् र पुरुषले लुकाउन खोज्छन्। पुरुषलाई केवल पितृसत्ताका नायक र दासताको प्रतीक ठान्नेहरूले एकपल्ट आपूmलाई सोही पुरुषको स्थानमा उभ्याएर हेर्नुका साथै परिवारभित्र आपूmले निर्वाह गरेको भूमिका पनि केलाउन आवश्यक छ। पितृसत्तालाई आफ्ना कमजोरी लुकाउने नाराका रूपमा उपयोग गरिनु पनि न्यायसंगत देखिँदैन। आफ्नै सत्ताभित्रका मूल्यहरूले थिचिएर निरीह अवस्थामा रहेको पुरुषले यदाकदा पाउने प्रेम र सम्मानलाई दासता ठान्नेहरू स्वयं दास मनोवृत्तिले प्रेरित देखन्छन्।
हाम्रो समाज घरभित्र ‘बिहे गरेपछि पाल्न पनि सक्नुपर्छ’ भन्दै पतिको आर्जनमा निर्भर हुने बाहिर भने पितृसत्ताका नाममा पुरुषको अस्तित्व नै स्वीकार गर्न नचाहने द्वैध मान्यतामा अल्झिरहेको त छैन ? त्यसैले समाजमा क्रान्तिकारी भाषणको होडबाजीभन्दा परिवर्तित सामाजिक परिवेश र संरचनालाई आत्मसात गर्दै त्यसलाई परिवारभित्र कसरी संस्थागत गर्दै जाने भन्नेमा बहस गर्नु जरुरी देखिन्छ। मानवीय कमजोरी सबैमा हुन्छन् पुरुष होस् वा महिला। अतः व्यक्तिविशेषका कमजोरीका आधारमा समग्र पुरुष वा महिलालाई दोषी मान्नु उपयुक्त हुँदैन किनकि, परिवार होस् वा समाज महिला–पुरुष दुवैको समान सहभागिताबाट मात्र पूर्ण हुन सक्छ। त्यसैले अबको समानताको खोजी कुनै सत्ताका नामले भन्दा सत्ताविहीन समाजको परिकल्पनाका आधारमा गरिनुपर्ने देखिन्छ। पितृसत्तालाई गाली गरेर आत्मरति लिनेहरूले एकपटक सोच्नैपर्ने हुन्छ कि पितृसत्ताभित्रको बाबु कति निरीह छ ? किनकि, मैले त खाडी मुलुकमा पसिना बगाउँदै रेमिट्यान्सले आफ्नो परिवारको खुसी किनिरहेको पुरुषको तातो निश्वासमा कतै पनि पितृसत्ताको गन्ध पाउन सकेकी छैन। बरु कफिनमा फर्केर आएको उसको निर्जीव शरीर अनि शून्य सपनाभित्र असंख्य निरीहता सल्बलाइरहेको देखिरहेकी छु। त्यसैले आजका दिनमा म नमन गर्दछु परिवारप्रति उत्तरदायी समस्त बाबुहरूलाई !