पहिरोले घर पुरिँदा ४ जना घाइते
बैतडी : पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् । सुर्नया गाउँपालिका ५ मड गाउँका बीरबहादुर मडैको घरमाथि पहिरो खस्दा एकै परिवारका चारजना घाइते भएका हुन् । बुधबार बिहान ६ बजेतिर घरभन्दा करीब २० मिटरमाथिबाट पहिरो खस्दा बीरबहादुर मडै, उनकी श्रीमती सुन्दरी मडै तथा छोरीहरु सरस्वती मडै र पार्वती मडै घाइते भएको रौलेश्वर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनसिंह धामीले जानकारी दिए ।
घरभित्र पुरिएका चारजनालाई उद्दार गरी उपचारका लागि डडेल्धुरा पठाइएको उनले बताए । घाइतेको टाउको,छाती लगायतका शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको छ । वर्षातका कारण गाडी समेत नचलेकाले घाइतेलाई स्थानीयले स्ट्रेचरमा बोकेर अस्पताल पुर्याएका थिए।
पहिरोले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी सहायक निरीक्षक धामीले जानकारी दिए । घर भत्किएपछि १० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
यस्तै सोही ठाउँका दिनेश मडै र रामबहादुर मडैको घर पनि पहिरोको जोखिममा छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । घरभित्रका सबै सामानसहित दिनेश मडैको परिवारलाई अजुर्न मडै र रामबहादुर मडैको परिवारलाई मीनबहादुर मडैको घरमा स्थानान्तरण गरिएको प्रहरी सहायक निरीक्षक धामीले बताए । उनले भने, 'जोखिममा रहेका दुई घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।'
यस्तै सुर्नया गाउँपालिका ४ चाडी द्वालकाठाका अजी महरा र धौलसिंह महराको घर पनि पहिरोको जोखिममा परेको छ । घर तलतिर पहिरो खस्दा घरमात्रै बाँकी रहेको आँगन पहिरोले भत्काएकाले घर पनि पहिरोको जोखिममा परेको स्थानीय गणेशबहादुर महराले जानकारी दिए ।
पहिरोले प्रसूति सेवा केन्द्रको भवन पुर्यो
बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शान्तिपुर प्रसूति सेवा केन्द्रको भवन पहिरोले पुरेको छ । लगातारको वर्षासँगै मंगलबार राती खसेको पहिरोले प्रसुति सेवा केन्द्रको भवन पूर्णरुपमा क्षतिग्रस्त भएको स्थानीय हरिसिंह महराले जानकारी दिए ।
पहिरोले दुई कोठे भवन पूर्णरुपमा क्षतिग्रस्त भएको उनले बताए ।पहिरोले सम्पूर्ण सामग्री नष्ट भएको स्थानीय मन्ती महराले जानकारी दिइन्। सोही प्रसूति सेवा केन्द्रको नयाँ बनेको भवन पनि पहिरोको जोखिममा परेको छ । गत वर्ष निर्माण गरिएको सो भवन संचालनमा नआउँदै पहिरोको जोखिममा परेको हो ।
नयाँ भवनको तलतिरबाट पहिरो खस्न थालेकाले सो भवन पनि पहिरोको जोखिममा परेको महराले जानकारी दिइन् । पहिरोका कारण प्रसूती सेवा केन्द्रभित्र रहेका सबै उपकरण, औषधि र अन्य स्वास्थ्य सामग्री नष्ट भएको प्रसूति सेवा केन्द्रका अनमी रेखा चन्दले जानकारी दिइन् ।उनले भनिन्, 'प्रसूति सेवा केन्द्रभित्र रहेका सबै उपकरण, औषधि र अन्य सामग्री पहिरोले पुरेको छ ।'