६३ हेक्टरमा लगाएको बाली नष्ट
बेनी : पहिरोले म्याग्दीको मालिका गाउँपालिकामा ६३ हेक्टर जमिनमा लगाएको बाली नष्ट गरेको छ। पहिरो र बाढीले उर्बर खेतियोग्य जमिनलाई बगरमा परिणत गरेको छ।
गाउँपालिकाको कृषि शाखाले असार महिनायता पहिरो, बाढी र कटानका कारण खेतीबाली र जग्गा जमिनमा पुगेको क्षतिको विवरण संकलन गरेको छ। एक हजार २५९ रोपनी अथवा करिब ६३ हेक्टर जग्गासहित बाली पनि पूर्ण रुपमा क्षति पुगेको कृषि शाखाका प्राबिधिक कबिता पौडेलले जानकारी दिइन्।
‘संकलित क्षतिको विवरण गाउँपालिकामार्फत कृषि ज्ञान केन्द्रको कार्यालयमा पठाएका छौ,’ उनले भनिन् ‘सात वटै वडामा पुगेर जनप्रतिनिधिसँग समन्वय गरेर विवरण संकलन गरेका हौँ।’ उनका अनुसार बिम र देविस्थान पहिरोबाट बढी प्रभावित भएका छन्।
४०७ रोपनीमा लगाएको मकै, ३१५ रोपनीमा लगाएको कोदो, १०७ रोपनीमा लगाएको धान, ३१५ रोपनीमा लगाएको फलफूल, ११२ रोपनी दलहन र ३ रोपनीमा लगाएको आलु नष्ट भएको छ।
विपद्मा परेका कृषकहरुलाई राहत उपलब्ध गराउन गाउँगाउँमा पुगेर तथ्याङ्क संकलन गरिएको कृषि प्राविधिक प्रमिला पौडेलले बताइन्। प्राप्त क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अनुमोदन गरेर राहतका लागि संघीय र प्रदेश सरकारमा सिफारिस गरिने कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले बताए।
सबै स्थानीय तहका कृषि शाखामार्फत पहिरो र सलह किराले कृषि क्षेत्रमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए। गत वर्षको असोज कात्तिक महिनामा असिनाले क्षति पुर्याएका बेनी नगरपालिका र मंगला गाउँपालिकाका कृषकहरुलाई हालै एक करोड रुपैयाँभन्दा बढी राहत वितरण गरिएको थियो।