भक्तपुरमा शारदा माविको भवन मल्लकालीन शैलीमा बन्ने
भक्तपुर : भक्तपुर नगरपालिका- २ यालाछेंस्थित शारदा माध्यमिक विद्यालयको भवन मल्लकालीन शैलीमा पुनर्निर्माण हुने भएको छ। २०७२ साल बैशाख १२ गतेको महाभूकम्पले क्षति पुर्याएको भवन मल्लकालीन शैलीमा पुननिर्माण हुने भएको हो। भक्तपुर दरबार क्षेत्रको ९९ चोकभित्र रहेको हुँदा विद्यालय भवन पनि मल्लकालीन शैलीमा बनाउन लागिएको विद्यालयका प्रधानाध्यापक रोशनराज तुईतुईले जानकारी दिए।
उनले सम्पदा क्षेत्रमा विद्यालय पनि परम्परागत शैलीमा बनाउन सकिन्छ भन्ने नमुनाको रुपमा शारदालाई अघि सार्न लागिएको दावी गरे। इँटा, ढुंगा, काठ, माटोको जोडाइमा घर तथा भवन बनाउनु मल्लकालीन शैली हो। काठमाडौं उपत्यकाका सम्पूर्ण मल्लकालीन दरबार, मठमन्दिर, पाटीपौवामात्रै होइन सर्वसाधारणका घरसमेत माटो जोडाइका छन्।
सिमेन्ट र फलामे छड एवं डण्डीको विकास भएसँगै माटो जोडाइका घरहरु बन्ने क्रम छुटेको छ। सहरबजार एवं सुगम ठाउँमा मात्रै होइन, ग्रामीण क्षेत्रमा समेत अहिले घर तथा भवन निर्माणमा सिमेन्ट र छडको प्रयोग गर्ने चलन बढेको छ।
अहिले जताततै आधुनिक घर बन्न र बनाउन थालेपछि परम्परागत शैलीका माटो जोडाइका घर तथा भवन बन्न छाडेको छ। यससँगै नयाँ पुस्ताले परम्परागत शैली नै भुल्ने खतरा बढेकाले यसलाई जीवन्त राख्न विद्यालयको भवन परम्परागत शैलीमा पुनर्निर्माण गर्ने निचोडमा पुगेको प्रधानाध्यापक तुईतुई बताउँछन्।
उनका अनुसार उक्त भवनको नक्सा भक्तपुर नगरपालिकाबाट पुरातत्व विभाग पुगेको छ। कोरोना भाइरस संक्रमणको कारण विभागबाट नक्सापास गर्ने प्रक्रियामा ढिलाइ भइरहेको उनको भनाइ छ। विभागअन्तर्गतको विश्व सम्पदा शाखाले उक्त नक्साको अध्ययन गरिरहेको उनी बताउँछन्। उक्त शाखाको नेतृत्वमा रहेको भवन विभागलगायतका नौवटा संस्थाको प्राविधिकहरुको अध्ययन अवलोकनपछि नक्सापास हुने आश्वासन प्राप्त भएको प्रअ तुईतुईले जानकारी दिए। ‘विद्यालयको नक्सा भक्तपुर नगरपालिकाबाट पुरातत्व विभाग पुगेको छ। कोरोना भाइरस संक्रमणको महामारीको कारण विभागबाट काम अघि बढेको छैन’, उनले भने, ‘विभागले चाँडै विद्यालय क्षेत्रको अध्ययन अवलोकन गरेर नक्सा पास गर्ने आश्वासन दिएको छ।’भूकम्पले भत्काउनअघिको शारदा माविको मुख्य भवन।
भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण गर्ने पटकपटकको प्रयासमा विद्यालय असफल हुँदै आएको छ। उक्त भवन निर्माण गर्न सरकारले समेत करिब एक करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यस्तै बौद्धमार्गीको संस्था चुचीले पनि उक्त भवन बनाइदिने इच्छा व्यक्त गरेको थियो तर भक्तपुर नगरपालिकाले मल्लकालीन भक्तपुर दरबार क्षेत्रको ९९ चोकभित्र नयाँ संरचना बनाउन स्वीकृति दिएन। जसले गर्दा सरकारी बजेट फिर्ता गरेको प्रअ तुईतुई सुनाउँछन्। ‘भवन पुनर्निर्माण गर्ने भनेर सरकारले विनियोजन गरेको रकमको पहिलो किस्ता ३५ लाख रुपैयाँ ल्याएका थियौं’, उनले भने, ‘तर भक्तपुर नगरपालिकाले स्वीकृति नदिएपछि उक्त रकम फिर्ता गर्न बाध्य भयौं।’
उनका अनुसार चुची नामक बौद्ध संस्थाले पुनर्निर्माण हुने भवनको नक्सासमेत बनाइसकेको थियो। उक्त नक्सा आधुनिक एवं सम्पदा क्षेत्र अनुकूल नभएको भन्दै भक्तपुर नगरपालिकाले स्वीकार गर्न नदिएको उनको भनाइ थियो। नगरपालिकाले स्वीकृति नदिँदा भक्तपुर दरबार क्षेत्रमा रहेका शारदासँगै पद्म र विद्यार्थी निकेतन माविले पनि भवन पुनर्निर्माण गर्न पाएका छैनन्।
भूकम्पले भत्काएको भवन पुनर्निर्माण गर्न नहुँदा विद्यार्थीहरुलाई अस्थायी टहरामा पढ्न बाध्य हुँदै आएका छन्। भूकम्पले भवन भत्काएपछि विद्यालयमा पाँचवटा अस्थायी शिकाई केन्द्र (टीएलसी) निर्माण गरिएको थियो। भक्तपुर नगरपालिकाको पटकपटक ध्यानाकर्षण गर्दा पनि भवन पुनर्निर्माण गर्न अनुमति नदिएको प्रअ तुईतुई बताउँछन्। ‘भवन पुनर्निर्माण गर्न नदिने भए विद्यालयलाई अन्तै ठाउँ उपलब्ध गराउन पटकपटक भक्तपुर नगरपालिकाको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ भएन’, उनले थपे।
केही सीप नलागेपछि सबै शिक्षक तथा कर्मचारीले विद्यालय चलाउन नसकिने भन्दै भक्तपुर नगर प्रमुखलाई साँचो बुझाएका थिए। विद्यालय बन्द हुने स्थिति आएपछि गएको वर्ष भक्तपुर नगरपालिकाले मल्लकालीन शैलीमा भूकम्पले भत्काएको भवन पुनर्निर्माण गर्न अनुमति दिइएको हो। उक्त भवन पुनर्निर्माणको लागि करिब २ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। प्रअ तुईतुईले नक्सापास हुनेवित्तिकै भवन पुनर्निर्माण सुरु गर्ने आफूहरुको योजना रहेको बताए। निर्माण सुरु भएको दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
उनका अनुसार भवन पुनर्निर्माण गर्न करिव एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्ध दाताहरु विद्यालयसँग रहेका छन्। तीनतले उक्त भवनमा १४ वटा कोठा हुनेछन्। जसमध्ये करिब १० वटा शिक्षणको लागि र बाँकी कार्यालय, पुस्तकालय, प्रयोगशाला, लेखाशाखाको लागि प्रयोग गरिने भवनका डिजाइनर इञ्जिनियर तुलसीलाल बासुकलाले जानकारी दिए।
उनले माटो जोडाई परम्परागत शैली भए पनि भवन भूकम्प प्रतिरोधी हुने बताए।
उनका अनुसार भवनको जगको मोटाइ २८ इन्चको हुनेछ। गारो दुई फिट मोटाइको हुनेछ। माटो जोडाइको बन्ने भएकाले अहिले गुणस्तरीय लस्सादार माटोको खोजी भइरहेको इञ्जिनियर बासुकला बताउँछन्। उनका अनुसार परम्परागत शैलीमा घर तथा भवन बनाउँदा आधुनिक शैलीको भन्दा लागत बढे पनि यो सयौं वर्ष टिक्छ। सिमेन्टको आयु ५० देखि ८० वर्षमात्रै मानिने उनको भनाइ थियो।
‘परम्परागत शैलीमा शारदा माविको भवनमात्रै बन्ने छैन’, प्रअ तुईतुई भन्छन्, ‘भवन बन्दै गर्दा विद्यार्थीहरुलाई तथा विज्ञहरुलाई निर्माणसम्बन्धी परम्परागत शैलीको अध्ययन अनुसन्धान पनि गराउँछौं। जसले परम्परागत शैलीले जीवन्तता पाइरहोस्।’
वि.सं. २००९ सालमा स्थापना भएको शारदा भक्तपुरकै उत्कृष्ट सरकारी विद्यालयहरुमध्ये एक हो।