घरभित्रै यसपालिको तीज

घरभित्रै यसपालिको तीज

काठमाडौं : आज हरितालिका तीज। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने तीज हिन्दू महिलाको हर्षोल्लासको पर्व हो। शिव भगवान्को आराधना गर्दै नाचगान र रमाइलो गरी मनाइने तीज यसपटक भने सुनसानप्रायः छ। 

कोरोनाको महामारी नहुँदो हो त यति बेला गाउँघरका चौर, दलान, मन्दिरदेखि सहरबजारका कोठा र पार्टी प्यालेससम्म महिलाको भेला र नाचगान हुन्थ्यो।  भगवान् शिवको पूजा गर्न आजको दिन शिवमन्दिरमा भक्तजनको घुइँचो थामिनसक्नु हुन्थ्यो। तर नेपालमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या उकालो लागेसँगै काठमाडौंमा समेत निषेधाज्ञा लागू गरिएको छ। घरबाहिर निस्कन पाइँदैन। 

नायिका नीता ढुंगाना अरु वर्ष सधैं तीजमा घर हेटौडा पुग्थिन्। दिदीबहिनीहरूसंग कम्मर मर्काउँथिन्। यसपालि कोरोनाले काठमाडौंमै रोक्यो। भन्छिन्,‘यसपालि एक्लै दर खाने, सारी लाएर कोठाभित्र एक्लै नाच्ने योजना छ।’

काठमाडौंको एक कार्यालयमा काम गर्ने पर्वतकी जमुना अधिकारी हरेक वर्षजसो तीजमा माइत जान्थिन्। बाल्यकालका सबै साथी भेटिने, गफगाफ गर्न रमाइलो हुने भएकाले पनि उनलाई गाउँघरकै तीज मन पर्छ। आमाले पकाएको अनदी चामलको खाजा, आलु–तामाको तरकारी, कर्कलाको अचार र अन्य स्थानीय परिकारले गर्दा पनि उनी तीजको मिठास भुल्न सक्दिनन्। तीजको बेला गरिने पूजा, व्रत र चलन पनि उनलाई निकै मन पर्छ। भन्छिन्, ‘यसपालि त कोठाभित्रै बसेर दर खाएको, रमाइलै भएन। निषेधाज्ञाले मन्दिर पनि जान नपाएपछि त केको तीज ? तीज आएजस्तै लागेको छैन।’ 

तीज आउनु एक महिना अघिदेखि नै गाउँघरमा मादल र डम्फुको ताल बज्न थाल्छ। दिनभर खेतबारीमा काम गरेर साँझमा भेला भएका दिदीबहिनी आफ्ना दुःखसुख गीतमा भट्ट्याउदै धीत मरुन्जेत नाच्ने, गाउने गर्छन्। साँच्चै मनमोहक र रमाइलो हुन्छ तीजको मौसम। आमा, भाउजू तथा दिदीबहिनी मिलेर आफ्ना दुःखसुख बिसाउने पर्वका रूपमा तीज आज पनि जनमानसमा छ। हातभरि मेहन्दी लगाएर, चिटिक्क परेको लुगा लगाउँदै मन्दिरमा पूजा गर्न जाँदा बेग्लै आनन्द मान्छन् महिला। 

तीज मनाउनुका पछाडि हिमालयपुत्री पार्वतीको शिवप्रतिको प्रेम र समर्पणको कथा जोडिन्छ। तीज मनाउने परम्परा जसरी सुरु भए पनि तीज महिलाले रमाइलो गर्ने पर्व हो। केही दिन भए पनि कामबाट सुस्ताउने र आफन्त, साथीभाइसँग नाचगान गर्दै गीत गाउने पर्व हो। हुन त पछिल्लो समय तीज मनाउने प्रचलन पनि फेरिएको छ। तीजकै मौसममा सयौँको संख्यामा म्युजिक भिडियो बन्ने गर्छन्। अरू बेला अन्य पेसा व्यवसायमा व्यस्त कलाकार पनि तीजको गीत निकाल्न अग्रसर भएको देखिन्छ। कसले बढी गीत निकाल्ने भनेर एक प्रकारको होडबाजी नै देखिन्छ। कोरोना कहरले भने यसपालि धेरैजसो पुरानै गीतले काम चलाउनु परेको छ। नयाँ गीत निकै कम रेकर्ड भएका छन्।

अहिले सहरबजारका पार्टी प्यालेस र होटलका हलहरूमा तीज मनाइने प्रचलन बढ्दो छ। यस्तो प्रचलनले तीजको परम्परागत रौनक घट्ने क्रममा छ। पार्टी प्यालेसको महँगो दरमा गाउँको मिठास पक्कै भेटिन्न। डिस्को गीत बजाएर कम्मर हल्लाउनुमा गाउँघरको लय र भाव बोकेको रमाइलो कदापि भेटिँदैन। लेखक रामेश्वरी पन्तलाई सहरमा मनाइने तीज भड्किलो र बनावटी लाग्छ। तीज भन्नासाथ बाल्यकाल र किशोरवयको सम्झनाले जन्मघर पुग्ने उनी अहिले गाउँघर र साथीसंगीको सम्झनाले भुतुक्कै हुन्छिन्। भन्छिन्, ‘सानो छँदा तीज आउनु भनेको  नयाँ फ्रक लगाएर मामाघर जानु भन्ने हुन्थ्यो। तीज आउनुअघि मामा कहिले लिन आउनुहुन्छ भनेर बाटो हेरेर बस्थेँ। बुझ्ने भएपछि आमाले पकाएको दर र तीजको दिन गाउँको चौतारीमा गएर नाचगान हेर्नु रमाइलो लाग्थ्यो।’ 

केही दशकयता काठमाडौंलाई नै कर्मक्षेत्र बनाएकी पन्त सहरको तीज खल्लो लाग्ने गरेको सुनाउँछिन्। तीजलाई आत्मीयताको पर्वका रूपमा बुझेकी पन्त तीजको नाममा हुने महिलामाथिको विभेद हटाउनुपर्ने तर्क राख्छिन्। तीज भन्नासाथ जोडिएर आउने गर्छ छुट्टै लयमा रहेको तीजगीत। पुराना तीजगीत हुन् या आधुनिक तीजगीत— महिलालाई केन्द्रमा राखेर महिलाले महिलाकै लागि गाइने गरिन्छ। गीतले समानताको आवाज उठाउनुपर्छ भन्ने गरिन्छ। तर पछिल्लो समय तीजका गीतमा पनि विकृति देखिन थालेको छ। 

समालोचक डा. बिन्दु शर्मा पनि तीजलाई महिलाका इच्छा, आकांक्षा र अनुभव गीतमार्फत सुनाउने आत्मीयताको पर्वका रूपमा लिनुपर्ने बताउँछिन्। उनका अनुसार तीजका अवसरमा गाइने गीतको बेग्लै महŒव छ। लोक–परम्परामा बाँचेका तीजका गीतहरू सामाजिक इतिहासका दस्तावेज पनि हुन्। तीजकै दिन भए पनि महिलाले स्वतन्त्र रूपमा आफ्ना पीडा गीतमार्फत प्रस्तुत गर्ने मौका पाउने हुँदा यो पर्व महिलाको स्वतन्त्रतासँग पनि जोडिएको छ। कोरोना भाइरसको संक्रमणका कारण हामी आफ्नै लागि पनि घरमै बस्न जरुरी छ। बाँच्यौं भने अर्को वर्ष छमछमी नाचौंला। दुःखपीडा साटौंला। मीठो मसिनो टन्नै बनाएर दर पनि खाऔंला।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.