नेटफ्लिक्सले माफी माग्दै विवादास्पद पोस्टर हटायो
पेरिस : नेटफ्लिक्सले फ्रेन्च फिल्म ‘क्युटीज’को लागि तयार पारेको एक प्रोमोशनल पोस्टरमा बालिकालाई यौनिकताको रुपमा चित्रित गरेकोमा माफी मागेको छ ।
नेटफ्लिक्सले उक्त पोस्टर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा तीव्र रुपमा त्यसको दुरुपयोग भएको थियो । धेरै मान्छेहरुले उक्त पोस्टरबाट भयभित भएको भन्दै हजारौँले नेटफ्लिक्सबाट हटाउन भन्दै निवेदन दिएपछि उक्त विवादास्पद पोस्टर हटाउँदै नेटफ्लिक्सले माफी मागेको हो ।
११ वर्षीया बालिकालाई यौनिकताको रुपमा चित्रित गरिएकोमा घृणित कार्य र खतरनाक सामग्री भएको भन्दै निवेदन दिइएको थियो । ‘हामीले क्युटीजको लागि प्रयोग गरेको अनुचित कलाकृतिको लागि हृदयदेखि माफी माग्छौँ । यो ठीक थिएन, न त सनडान्स अवार्ड जित्ने फ्रेन्च फिल्मको प्रतिनिधि पोस्टर नै थियो । हामीले अहिले तस्बिर र त्यसको वर्णन अपडेट गरेका छौँ,’ नेटफ्लिक्सले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उक्त फ्रेन्च फिल्म २०२० को जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शन गरिएको थियो । जुन फ्रेन्च–सेनेगलीज फिल्म मेकर माइमोना दौकोरेले बनाएको फिल्म थियो । जसले सनडान्सको ड्रामाटिक सेक्सनमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए । सोही फिल्मको पोस्टरलाई नेटफ्लिक्सले प्रयोग गरेको थियो ।