सिरहामा थपिए ४२ संक्रमित : मृत्युपछि कोरोना पुष्टि
सिरहा : शुक्रबार सिरहामा ४२ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन्। जसमा बढी सुरक्षाकर्मी रहेका छन्। उनीहरुको पीसीआर रिर्पोट पोजिटिभ आएको छ। योसँगै सिरहामा सक्रिय संक्रमित संख्या १३९ पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार इलाका प्रहरी कार्यालय लहानमा कार्यरत एक प्रहरी निरीक्षकसहित २२ प्रहरी, ८ जना थुनुवा, कारागार पठाइएका एक र पशुपति आदर्श मावि क्वारेन्टाइनमा रहेका एक थपिएका छन्।
त्यसैगरी धनगढीमाई नगरपालिकास्थित नयनपुर अस्पतालका दुई जना स्वास्थ्यकर्मी र दुई जना सर्वसाधारण गरी चार जना तथा मिर्चैया नगरपालिकाका चार जना कर्मचारीमा पनि कोरोना संक्रमण भेटिएको छ। गोलबजार नगरपालिकाका एक जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीमा पनि संक्रमित भएको हो।
मृत्युपछि संक्रमण पुष्टि
मिर्चैया नगरपालिकाका एक जनाको मृत्युपछि कोरोना संक्रमणको पुष्टि भएको हो। स्वास्थ्य कार्यालयका अनुसार ती ६८ वर्षीय पुरुषको स्वाब मिर्चैयाको क्वारेन्टाइनबाट गत साउन २ गते बिहान ८ बजे लिइएको थियो। मधुमेहका बिरामी रहेका ती पुरुषलाई स्वाब लिएको केही घण्टापश्चात् उच्च रक्तचापको समस्या पनि देखिनुको साथै उच्च ज्वरो पनि आएको थियो। ज्वरोको कारण नै उनको साउन ३ गते बिहान ७:३० बजे मृत्यु भएको थियो।
मृत्यकको दाहसंस्कार पनि गरिसकेको छ। दाहसंस्कारमा संलग्न सबैलाई क्वारेन्टाइनमा बोलाई स्वाब संकलन गर्ने तयारी भइरहेको मिर्चैया नगरपालिकाले जनाएको छ।