पहिलो पटक तीजमा सुनसान पशुपति

पहिलो पटक तीजमा सुनसान पशुपति

काठमाडौं : कोरोना यति ठूलो महामारी बनेर आइदियो, पहिलोपल्ट तीजमा हिन्दूका आराध्यदेवको मन्दिरमा ताला लगाउनु परेको छ। गतवर्ष तीजमा झन्डै १० लाखले पशुपतिनाथको दर्शन गरेको तथ्यांक पशुपति क्षेत्र विकास कोषसँग छ। बर्सेनि लाखौं व्रतालु महिला पुगेर पूजा, दर्शन र नाचगान गर्ने पशुपति क्षेत्र शुक्रबार भने सुनसान रह्यो।

इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले जीवनमा कहिल्यै थाहा नपाएको भोगाइ यसपटक भएको बताए। उनले भने, ‘यसरी तीजमा पशुपतिनाथ जानै नहुने वा नगएको भन्ने आजसम्म थाहा छैन।’ उनका अनुसार, वि.सं. ४०० तिर प्लेग रोगले काठमाडौंमा करिब २० हजार व्यक्तिको मृत्यु भएको थियो। त्यतिबेला मन्दिर बन्द भए, नभएको यकिन छैन। त्यसभन्दा जटिल परिस्थिति अहिले महसुस भइरहेको छ। ‘बचेरै पूजाआजा गर्नु स्वास्थ्यका दृष्टिले पनि उत्तम हो’, पन्तले भने, ‘सबै मिलेर जोगाएमात्र संस्कृति जोगिने हो। तर, यो वर्ष कम्तीमा सबै जोगिऔं, त्यसपछि संस्कृति जोगाउँला।’

निषेधाज्ञाका कारण बाहिर निस्कन प्रतिबन्ध छ। विविध उपाय गरेर पशुपति दर्शन गर्न पुगेकालाई समेत यसपालि अनुमति दिइएन। सरकारले जात्रा, पर्व, जमघट आदिमा प्रतिबन्ध लगाएकाले दर्शन खुला गर्न सम्भव पनि थिएन। त्यसमाथि संक्रमणको जोखिम छँदै थियो। ‘बिहानै करिब दुई हजार महिला पशुपतिनाथ आउनुभएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषकै सुरक्षाकर्मीले हटायौं’, कोषका सुरक्षाकर्मी भीम बुढाथोकीले भने, ‘साउने सोमबारमा लकडाउन भनिए पनि अटेर गरेरै पाशुपत क्षेत्रमा आएर पूजा गर्ने सयौं भए, अहिले त निषेधाज्ञा छ।’

संस्कृतिविद् डा. जगमान गुरुङले कोरोना संक्रमणका कारण यस पटकको तीजमा व्रतालुले पशुपतिनाथ जान नपाउँदा ‘खल्लो अत्यन्तै खल्लो’ भएको टिप्पणी गरे। ‘हिन्दू धर्मावलम्बी नारीको    श्रद्धा, विश्वास र संस्कारमा ठेस लागेको छ’, उनले अन्नपूर्णसँग भने, ‘यो तीज नुन नहालेको तरकारीजस्तै खल्लो भयो।’ उनका अनुसार, घोडेजात्रा, बिस्केटजात्रा, सेतो मच्छिन्द्रनाथको रथयात्रा सबैमा कोरोनाले छेकबार लगाएको छ। रातो मच्छिन्द्रनाथको रथयात्रा अधकल्चो बनेर बसेको छ। ‘यस्तै हो भने दसैं, तिहारसमेतलाई असर पर्ने देखिन्छ’, उनले थपे।

पूर्वनायब बडागुरुज्यू एवं राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराईले पशुपतिनाथमा तीजको पूजाआजा रोकिएको आफूले जीवनभर थाहा नपाएको अनुभव सुनाए। ‘एकदुई दिनको कुरो भएन, अझै कति हो थाहा छैन। त्यसैले सरकारले सुरक्षाकर्मी खटाएर, मास्क, सामाजिक दूरी आदि अनुशासन कायम राख्दै ४÷५ घण्टा भए पनि खोलिदिनु पथ्र्यो’, उनले भने। अन्यत्र पनि यस्तो असहज परिस्थितिमा सरकारले कडा निगरानी गरेर व्रतालु÷भक्तजनलाई मन्दिर दर्शन र पूजाआजाको व्यवस्था गर्नुपर्ने उनको तर्क छ।

उनका अनुसार, मन्दिर गएर मूर्तिमै पूजाआजा गरी दर्शन र ढोग गर्ने संस्कृतिले होला त्यसको आत्मसन्तुष्टि नै फरक हुन्छ। ‘व्रतालु त आफ्नै हातले पूजा र मूर्ति स्पर्श गर्ने र आँखाले साक्षात् दर्शन गर्ने मनस्थितिमा हुन्छन्’, उनले भने, ‘सरकारले सुरक्षा व्यवस्था मिलाइदिएको भए कम्तीमा पशुपति मन्दिरपरिसर पुग्थे, नाथको गजुर दर्शन गरे पनि पुण्य मिल्छ, त्यो अवसर पाउँथे।’

वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक डा. देवमणि भट्टराईको तर्क भने फरक छ। ‘खोल्दा थामिनसक्नु हुन्थ्यो, निषेधाज्ञा पनि छ जबर्जस्ती गर्ने विषय पनि होइन यो’, उनले भने, ‘परिस्थितिअनुसार चल्नु सबैका लागि भलो हो। यसलाई सहज ढंगले स्वीकार्नु बेस।’

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले कोरोनाका कारण तीजका व्रतालुको आस्थामा ठेस पुगे पनि यसपटकलाई त्यसरी नलिइदिन आग्रह गरे। ‘विश्व महामारीले मानवकै अस्तित्व रहला÷नरहला जस्तो विषम परिस्थिति उत्पन्न भएको छ’, उनले भने, ‘यस्तो बेला घरमै बसेर पूजा गरी परिवारभित्रै रमाउनु उचित हुन्छ।’ ६ ऋतुमध्ये यो वर्षा ऋतु भएको र यसबेलाको हरियालीमा मानवसँगै चराचर जगत् अनि समग्र प्रकृति रमाउने भएकाले चाडपर्वहरूको समय भए पनि उर्जा र उत्साहलाई आत्मकेन्द्रित गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार, यो ऋतुमा ८४ फल फल्छ। उनले भने, ‘पार्वतीले पनि शिव पाउन कठोर व्रत लिएको पुराणहरूमा पाइन्छ। कठोर समयलाई सहज बनाएर तीज मनाउन आग्रह गर्दछु।’

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र पौडेलले स्वास्थ्य भए संस्कृति जोगिने भन्दै घरबाटै तीज मनाउन सकिने तर्क गरे। ‘पशुपतिनाथमा नित्य पूजा भइरहेको छ, रोकिएको छैन’, उनले भने, ‘शास्त्र र ऋषिमुनिहरूले पनि आत्मानुशासनमा बस्न र सर्वप्रथम स्वस्थ रहन भन्छन्। मनमा चंगा, लोटामा गंगा भनेझैं मन पवित्र र भावना शुद्ध भए लोटाले नुहाए पनि गंगामा डुबुल्की मारेसरह हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.