मीतज्यू जानुभो !
गाउँछ गीत नेपाली...जस्तो भावपूर्ण राष्ट्रिय गीत र गौरी जस्तो मर्मस्पर्शी शोक काव्यका शब्दावलीको अनुध्वनि÷प्रतिध्वनिबाट प्रभावित हुँदै आए पनि काठमाडौं आएपछि २०२५ सालमा कविवर माधव घिमिरेसँग प्रत्यक्ष साक्षात्कारको अवसर प्राप्त भयो। सोही साल तीनधारा संस्कृत छात्रावासमा छात्र कार्य समितिको आयोजनामा भएको समारोहमा ४५ मिनेटको काव्य प्रवचन दिएर मुग्ध तुल्याउनुभयो। त्यस बेलादेखि उहाँसँग स्नेहपूर्ण सम्बन्ध रहिरह्यो।
कहिले प्रज्ञा-प्रतिष्ठानमा उहाँसँग भेट गर्न गइन्थ्यो भने कहिले उहाँको निवास लैनचौर पुगिन्थ्यो। संस्कृत छात्रावासमा आमन्त्रित गरेर साहित्य चर्चा गर्ने र उहाँको प्रवचन सुन्ने काम पनि बेलाबखत हुन्थ्यो। उहाँ पनि पहिले त्यही छात्रावासमा बसेको हुनाले रमाइलै मान्नुहुन्थ्यो। म छात्रावासमा रहँदा कम्तीमा तीनपटक उहाँलाई त्यहाँ आमन्त्रण गरी कार्यक्रम गरेको सम्झन्छु। एकपटक त आफैं छात्र कार्य समितिको पदाधिकारी हुँदा उहाँकै निवासमा पुगी ट्याक्सीमा ल्याउने लैजाने गर्थें। त्यसो त छात्रावासमा पाक्षिक प्रवचन चलाइन्थ्यो र त्यसमा प्रवचन, प्रश्नोत्तरका लागि नाट्यसम्राट् बालकृष्ण समदेखि साहित्यकारहरू भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, गोपालप्रसाद रिमाल र अर्थशास्त्री गोविन्दप्रसाद लोहनी आदिलाई बोलायौं।
मेरानिम्ति २०२७ असार २० गते शनिबार भएको उपत्यकाव्यापी साहित्य सम्मेलनमा कविवर समेतको मूल्यांकनबाट कवितामा सर्वप्रथम भई स्वर्ण पदक प्राप्त गर्दाको क्षण सबैभन्दा महत्वपूर्ण रह्यो। अमृत साइन्स कलेजको खचाखच भरिएको सभाकक्षमा उहाँले साहित्य प्रतियोगिताको परिणाम सुनाउनुअघि मैले लेखेको ‘वैशाख’ कविताका ५÷६ वटा पद्य कण्ठस्थ वाचन गरी मलाई प्रथम भएको घोषणा गर्नुभयो। धेरै वर्षपहिले कविजीले पनि ‘वैशाख’ शीर्षकमा मन्दाक्रान्ता छन्दमा लेख्नुभएको कविता निकै लोकप्रिय भएको छ। मेरो वैशाख भने उपजाति छन्दमा थियो। त्यसबेला प्रमुख अतिथि प्रतिष्ठानका उपकुलपति बालकृष्ण समले स्वर्ण पदक लगाइदिनुभयो।
कविवरकी सुपुत्री उषाको विवाह मेरा बालसखा प्रा.डा. हेमांगराज अधिकारीसँग भयो। विवाहमा आफू पनि सहभागी हुन पाइयो। कविवरसँग सामीप्य बढेको अनुभव भयो। नेपाली साहित्यमा मैले गर्नुपर्ने योगदानचाहिँ धेरैतिर छरिनाले कमै भयो भन्ठानेको छु। म नायब बडागुरुज्यू भएपछि कविजी मलाई ‘गुरुज्यू’ भन्नुहुन्थ्यो। कुनै बेला मिता (मीत) पनि भन्नुहुन्थ्यो। उमेरका हिसाबले तीन दशक फरक परे पनि नामसाम्यका कारण उहाँले मिता भन्नुभएको हो।
उहाँको शतवार्षिक समारोह मनाउँदा हामी काठमाडौं शिक्षा क्याम्पस परिवारका तर्फबाट उहाँलाई अभिनन्दन गर्न लैनचौरस्थित समारोह स्थलमा जाँदा पनि मलाई स्नेहपूर्वक ‘मिताजी’ भनेर बोलाउनुभएको बिर्सन सक्दिनँ।
अब उहाँको पाञ्चभौतिक शरीर धरतीमा छैन। तथापि, कृर्तियश्य सजीवती भनेझैं कृतिले उहाँ सदा जीवित र अमर हुनुहुन्छ।
साहित्यमा जुन छाप छाड्नुभयो, त्यसलाई पछ्याउनु हाम्रो कर्तव्य हुन्छ। कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाले देहत्याग गरेपछि शिथिल हुन लागेको शास्त्रीय वार्णिक छन्दधारालाई अत्यन्त परिष्कृत र सशक्त ढंगबाट निरन्तरता दिएर नेपाली साहित्यमा स्थापित र प्रवाहित गरेर राष्ट्रकविले अतुलनीय योगदान दिनुभयो। खण्डकाव्य र फुटकर कविताका माध्यमले उहाँले दिनुभएको अवदान चानचुने होइन।
२०३० देखि २०५० को दशकमा नेपाली छन्द कविताको परम्परा शिथिल मात्र होइन, टुट्ने स्थितिमा पुगिसकेकोमा उहाँकै अडानले २०६० को दशकमा पुनर्जागृत भयो। त्यसबेलाको विशाल हिन्दी साहित्यसँग तुलना गर्ने हो भने त्यहाँ राष्ट्रकविजस्तो वार्णिक छन्दको प्रयोगधर्मी कवि नभइदिँदा छन्दकविताको धारा नै बन्द भई हिन्दी साहित्यले मौलिकता गुमायो।
कविवरले आफ्नो प्रयोगधर्मिता र पदाधिकारीका दुवैको उपयोग गरेर नेपाली जनजीवनमा भिजेर रहेको छन्द काव्यको गतिशीलता, गेयात्मकता र लयात्मकतालाई कायम राख्नुभयो। परिणामस्वरूप आज थुप्रै छन्दकवि र छन्दकविताका अभियन्ता क्रियाशील छन्। वास्तवमा घिमिरेले सम्पूर्ण जीवन राष्ट्र र राष्ट्रियताप्रति समर्पित गरेर जीवनको जीवन्तता र महत्ता प्रस्तुत गर्नुभयो। प्रत्येक नेपालीका लागि यो अनुकरणीय छ। यिनै शब्दमा स्मृतिशेष कविवरप्रति अश्रुशिक्त भावाञ्जली चढाउँदछु।
०००
कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाले देहत्याग गरेपछि शिथिल हुन लागेको शास्त्रीय वार्णिक छन्दधारालाई अत्यन्त परिष्कृत र सशक्त ढंगबाट निरन्तरता दिएर नेपाली साहित्यमा स्थापित र प्रवाहित गरेर राष्ट्रकविले अतुलनीय योगदान दिनुभयो। खण्डकाव्य र फुटकर कविताका माध्यमले उहाँले दिनुभएको अवदान चानचुने होइन। २०३० देखि २०५० को दशकमा नेपाली छन्द कविताको परम्परा शिथिल मात्र होइन, टुट्ने स्थितिमा पुगिसकेकोमा उहाँकै अडानले २०६० को दशकमा पुनर्जागृत भयो।