बालसाहित्यभित्रका राष्ट्रकवि
बहुआयामिक व्यक्तित्वका धनी राष्ट्रकवि माधवप्रसाद घिमिरेका ‘घामपानी’ (२०१०), ‘बालालहरी’ (२०२५), ‘सुनपंखी चरी’ (२०५३) र ‘बिजुले र बिजुला’ (२०६३) प्रकाशित छन्। ‘कान्छी औंलाले’ र ‘बाललीला’ ‘चैत वैशाख’ र ‘राहुलयशोधरा’ बालकाव्य गरी उनका कूल ११७ बालकविता प्रकाशित छन्। लेखनाथ पौड्यालको परिष्कारवादी शैली अनि लक्ष्मीप्रसाद देवकोटाको स्वच्छन्दतावादी भावधारालाई उनले बालकवितामा पनि प्रयोग गरेका छन्।
बाल्यकालमा सुनेका बाललोकगीत, बालजीवनको रमणीय स्मृति, जन्मथलो पुस्तुनको पहाडी प्राकृतिक परिवेश एवं रमणीय ग्रामीण संस्कृति, आफूले पढाएका विद्यार्थीको व्यवहार र मनोभावबाट प्रभावित भएर उहाँले बालकविता लेखेको पाइन्छ। छोराछोरी र नातिनातिना खेलाउँदा आर्जेको अनुभवबाट पनि उनलाई बालकविता लेख्ने प्रेरणा मिलेको देखिन्छ भने ज्ञात प्रेरणामा चाहिँ नेपाली साहित्यका लेखनाथ र लक्ष्मीप्रसादका कविता अनि बङ्ला साहित्यका रवीन्द्रनाथ टेगोरका बालकविता पढेपछि ज्यादै प्रभावित भएर बालकविता लेख्न थालेको देखिन्छ।
जुन साहित्यमा बालकविता छैन त्यो साहित्यको जरा वा मूल, माटो वा मुटुमा रहँदैन। बालगीत अनुवाद गर्दा- ‘हो... हो... नानी..., हो... हो..., थैया... थैया... थैया...’ जस्ता थेगा अन्य साहित्यिक कृतिमा पाइँदैन। ‘बालकका निम्ति प्रौढले आफ्नै भाषामा लेखिदिने कविता बालकविता होइन, यो बालस्वभाव र बालभाषाअनुसारको हुनुपर्छ’, भन्ने धारणा राख्ने उहाँका बालकविताका रचनागर्भ पनि फरक छन्।
राष्ट्रकविको पहिलो बालकविता संग्रह ‘घामपानी’ का कतिपय कविता लोक बाललयबाट प्रभावित छन् भने कतिपय बालकविता उनले बाल्यकालका स्मृतिबाट प्रभावित भएर पनि लेखेका छन्। पशुका चञ्चले स्वभाव, पक्षीका क्रियाकलाप आदिबाट प्रेरित भएर उनले बालकविताको रचना गरेका छन्। छिमेकी किसानको खेतमा राखिएको बुख्याचालाई देखेर उनले सोझा र निमुख मोहीको प्रतीक बनाएर पनि रचना गर्नुभयो। रचनागर्भ विविध विषयवस्तुसँग सम्बन्धित भए पनि अधिकांश छोराछोरीलाई हुर्काउने क्रममा उहाँका रचना छन्। प्रकृतिमा हुने दिनरातको क्रम, प्राणीशास्त्रका कुरा र बालकका खेललाई समेत लिएर रचिएका उनका बालकविता मनोरञ्जनमूलक र नैतिक सन्देश दिने खालका छन्।
बालकवितामा स्वच्छन्दतावादी धाराभित्र पर्ने आत्मपरक कल्पनाशीलता, प्रकृति प्रेम, अतितोन्मुखता, मानवता, विश्वबन्धुत्व, देशप्रेम, समाज सचेतता, युगबोध, मानवप्रकृति, तादात्म्यजस्ता प्रवृत्ति पाइन्छन्। विषयगत विविधता उनका बालकविताको अर्को प्रवृत्ति हो भने यसअन्तर्गत मानवजीवन र त्यसमा पनि बालबालिकालाई घत पर्ने प्रकृति, जीवन र समाजका विविध दृश्य र कार्य तथा प्रक्रियालाई उहाँले बालकविताको विषयवस्तु बनाउनु भएको छ। प्राचीन जीवनशैली र आधुनिक जीवनशैलीका विभिन्न पक्षलाई उहाँले बालकलाई मनोरञ्जन र शिक्षा दिने ध्येय पनि चित्रण गरेको पाइन्छ।
पद्य लयको प्रयोग गरी अधिकांश बालकविता लोकलयमा र छवटा शास्त्रीय छन्दअन्तर्गत उपजाति र अनुष्टुप छन्दमा रच्नुभएको छ। विविध अर्थालंकार र शब्दालंकारको पनि सरल-स्वाभाविक र आकर्षक प्रयोग गरेको पाइन्छ। भाषा पनि सजिलो, रसिलो र बालकका निम्ति मनोहर लाग्ने खालकै छ। बालसिर्जनामा प्रकृति र मानवबीचको सहसम्बन्धलाई देखाउनुभएको छ। प्रकृति पनि मानिसजस्तै सुत्ने-ब्युँझने, खेल्ने अनि प्रकृतिका जीव, पशुपक्षी, किराले पनि मानिसले जस्तै कुराकानी गर्ने, लुगा लगाउने, पटुकी बाँध्नेजस्ता कुराको चित्रण गरिएको छ।
थोरै शब्दमा धेरै भाव अभिव्यक्ति गर्न सक्ने अनि एक पंक्तिपछि अर्काे पंक्तिमा तुक मिलाएर क्रमबद्धता राखेर लेख्ने शिल्पी उहाँले कालिदासबाट पहिल्याएर अरू साहित्यकारका भन्दा भिन्न शैली सिर्जनामा रचेको देखिन्छ। पाठ्यविषयमा पनि उहाँका सिर्जना समावेश छन्। उहाँका ‘घामपानी’, ‘कमिला रानी’, ‘बसबस माहुरी’, ‘भँगेरा र भँगेरी’, ‘पुतली खेल’ आदि विद्यालयमा पढाइ हुन्छन् भने स्नातक तह तेस्रो वर्षको नेपालीमा बालसाहित्य विधामा ‘नदी’ र ‘सुनपंखी चरी’।
सुनपंखी चरीका बालगीत गीतिक्यासेटमा पनि छन्। जसमा संगीत भर्ने काम उहाँकै जेठी छोरी शान्ति अधिकारीले गरिन्। ‘भँगेरा र भँगेरी’ र ‘पुतली खेल’ सर्वाधिक मन पराइएका कृति हुन्। बालमनोभावना बुझेर र बालधरातलमा टेकेर लेख्ने साहित्यकार हो उहाँ। निश्चल, कोमल, अबोध र हँसिला हुने भएकाले उनीहरूकै सरल भाषा, भाव र बोलीमा रचना गर्न पाउँदा उहाँ आफूलाई सौभाग्यशाली ठान्नुहुन्थ्यो। उहाँले बालक नै बनेर, बालकसरह बनेर र आमा बनेर पनि सिर्जना गर्नुभएको छ। जीवनोपयोगी सन्देश दिन अत्यन्त प्रभावकारी र शक्तिशाली बालकविता रच्ने सर्वाधिक कुशलशिल्पी राष्ट्रकवि बालसाहित्यको फाँटमा पनि अजर र अमर रहिरहनु हुनेछ।
०००
छोराछोरी र नातिनातिना खेलाउँदा आर्जेको अनुभवबाट पनि उनलाई बालकविता लेख्ने प्रेरणा मिलेको देखिन्छ भने ज्ञात प्रेरणामा चाहिँ नेपाली साहित्यका लेखनाथ र लक्ष्मीप्रसादका कविता अनि बङ्ला साहित्यका रवीन्द्रनाथ टेगोरका बालकविता पढेपछि ज्यादै प्रभावित भएर बालकविता लेख्न थालेको देखिन्छ।
०००