जगराको सम्झना
चैत-वैशाखमा जौ करु पाकेर पहेंला टाटापाटाहरू टाढैबाट देखिने मेरो जगराको लेक मनासलु हिमालको काखमा पर्छ, तल बेंसीका ढुङ्गेबगरमा दुग्धफेनिला मस्र्याङ्दी नदी सुसाएको यहाँबाट आधारातमा अतिमधुर सुनिन्छ। बिहान पश्चिमतिरको पहाडको सिरानमा परेको सुनौला घाम तल बेंसीमा झरेर पाँच घडीपछि मात्रै पूर्वतिरको यस लेकको वनमा छरिन आइपुग्छ।
मैले यहाँ छ महिना बस्ता केवल तीन ऋतु वसन्त, वर्षा र शरदको मात्र अनुभव गरें, बीचमा ग्रीष्म ऋतुको प्रत्यक्ष अनुभव भएन, खाली हिमालको हिउँको खार बहेर मस्र्याङ्दी नदी धमिलो भएपछि मात्र जेठ लागेको अनुमान हुन्थ्यो। बेंसीको वसन्तमा आलस्य र लठ्ठिएको भाव हुन्छ, तर यहाँको वसन्तमा विरह नपरेको बैंसको जस्तै मस्ती हुन्छ। बेंसीको वर्षा ऋतु परदेशबाट आउने यात्रीजस्तै हुन्थ्यो, तर यहाँ सल्लाको बोट र गोठभित्र हर्हराएर दौडने कुहिरो साथैमा रहेर लुकामारी खेल्ने साथीजस्तै लाग्थ्यो।
झरीले छोडेका दिनमा डाँडाकाँडा यति नजिक देखिन्थे कि, यतिन्जेलसम्म किन टाढा सम्भेँहुँलाजस्तो लाग्थ्यो। तर मलाई शरद ऋतुचाहिँ बेंसीको मन पथ्र्यो किनभने त्यहाँबाट रातमा स्वच्छ आकाशमा अति टाढा देखिने तारा र दिनमा फूलको चहकमा ओर्लिने आकाशको नीलिमाले मेरो दिलको कोमल पत्र उघाथ्र्यो। हामी जगरामा फागुनको अन्त्यतिर पुग्थ्यौं, जब गाउँलेहरू ’काफल पाक्यो टुप्पै कालो’ भनेर वनमा छरिन्थे। अनि फाँटका धानमा पहेंलो झल्को पर्न लागेपछि र सनईमा नवदुर्गाको मालसिरीको धुन बज्न लागेपछि हामी बेंसीतिर ओर्लन्थ्यौं।
प्रकृतिको भयानकताभित्र यस्तै अनौठाको आकर्षण र निष्ठुर ममता हुन्छ। आज म कान्तिपुरीको बीचमा बसेर पनि बारम्बार जगराको लेकमा जान चाहन्छु- वनका काँडाले कोरिन, कहालीलाग्दो भीरको बाटोमा झुन्डिएर हिँड्न, झरीवर्षाले चुटिन, अन्धकारमय अरण्यानिमा पसेर बाटो बिराउन र केही दिन काली-लेकमा हराउन। मलाई या त जगराको लेकको जङ्गलमा घुम्ने गोठाला मन पर्छन्, या त अन्तरिक्षमा यात्रा गर्ने यात्री मन पर्छन्।
छ महिनासम्म बेंसीका उघारा फाँटमा बसेर जब म उँभौलीमा जगरामा पुग्थें, त्यो बेला बेंसीको भन्दा विलक्षण अनुभव मलाई वन्यगन्धको हुन्थ्यो। गाईबस्तु नचरेका र मान्छेले सास नफेरेका नौला वनस्थलीमा पस्नासाथ आउने वनस्पतिको गन्धमा एक किसिमको हरियाली हुन्छ। फूलैफूलका अतिशय गन्धमा र कारखानामा पैदा गरेका सौगन्धिक द्रव्यमा त्यसको कल्पनै गर्न सकिन्न। म त्यहाँ वनपथमा झिँगानुका पात मिच्दै हिँड्थें, जौबारीको कुटुलीकोसा रसको निम्ति हैन, सुवासको निम्ति खान्थें। कन्दरामा बसेर वर्षा ऋतुमा कालिदासका शैलेयगन्धि शिलातलको बाफ सुँध्थें र सल्लाको दाउरा बलेको बेला निर्धम ज्वालाबाट निस्केको दिव्य धूपले आफू हाडमासु नभएको देवदूतजस्तै उज्यालो अनुभव मात्र हुन्थें। मलाई लाग्छ- गावो गन्धेन पश्यन्ति भनिने गाईजस्तै त्यो बेला म पनि गन्धप्रधान प्राणी थिएँ।
सल्लाका रूखहरू सुसाइरहेको र छाँगाछहराले सुसेली हालिरहेको त्यस लेकमा एक किसिमको लय थियो, नजानिँदो सुर लागेर त्यसै पनि गाऊँगाऊँजस्तो लाग्थ्यो। त्यहाँ सिरसिर बतास चलेको बेला विचित्रको समध्वनि (सिम्फोनी) निस्कन्थ्यो। मीठो घाम लागेका अधित्यकाको निःशब्द एकान्तमा बसेर आकाशको नीलिमा र हिउँको सुकोमल शुभ्रता हेर्दा एक किसिमको दिव्य सङ्गीत निस्कन्थ्यो। त्यस बेलामा म अनाहत नादको अभ्यास गर्ने योगीजस्तै बन्थें। सृष्टिको सुदूर स्वर्गबाट हृदयै रुवाउने यौटा बिलौना आउँदथ्यो, त्यसमा सुख पनि थियो र विरह पनि। त्यस करुणाको स्वर सृष्टिको मूलबाट उठेको हो कि, मेरै मनको एकान्तमा ब्यूँझेको हो, म भन्न सक्तिनँ। एक दिन जगराको लेकमा उच्चरित भएको त्यो दिव्य र कारुणिक स्वर आजभोलि पनि एकान्तमा बसेको बेला म सुन्दछ। त्यसले मेरा सुखलाई सरस र मेरा दुःखलाई मार्मिक बनाउँछ।
यस्तै दिव्य तर कारुणिक स्वरको पृष्ठभूमिमा बस्दाबस्दै मलाई लेकबेंसी, घाम-छाया, बादल-वृष्टि सारा लल्याङलुलुङ भएजस्तो लाग्थ्यो, मेरो सोचाइको सँगै बहेजस्तो लाग्थ्यो। त्यो बेला मसँग भाषा थिएन भाव थियो, दर्शन थिएन विस्मय मात्र थियो। आजका सोचाइलाई भाषाले अल्झाउँछन् र विचारले बङ्ग्याउँछन्। किन्तु त्यो बेला म प्रकृतिको ज्यादै समीपमा थिएँ। वनमा कतैतिर परेको छायाँ, अलि पर खेलिरहेको साथीजस्तै थियो, त्यो उठेर जाँदा मलाई एकतमासको नरमाइलो लाग्थ्यो। मलाई लाग्छ- प्रकृतिमा एक शाश्वत आनन्द छ, प्रकृतिले हाम्रा दुःखमा सहानुभूति गर्छ र बिस्तारै हामीलाई त्यही आनन्दतिर लैजान्छ।
बालकले आमालाई नचिनेरै पनि उनको दुधको स्वाद पाइरहेजस्तै मैले प्रकृतिलाई नचिनेरै पनि त्यसबाट आनन्द पाइरहेको थिएँ। खुला आकाशमुनि उन्मुक्त वातावरणमा किरण, बतास र निर्भmरका स्वरहरू फैलिरहेको ठाउँमा हामीलाई जो सहज समाधि लाग्छ, त्यसमा विविध रसबाट अर्को रस निस्कने व्यञ्जनको जस्तै अझ भनूँ अमृतको जस्तै स्वाद हुन्छ, त्यहाँ हामी आफ्नो व्यक्तित्व नगुमाइकनै विराट् बनेका हुन्छौं। बढ्दो उमेरको मानिस सपनामा उडेजस्तै म त्यो काली-लेकमा हरिया वनमा पखेटा हालेर फैलिएको थिएँ र डाँडाकाँडामा दौडिएको थिएँ, अनि न्यानो घाम लागेका अधित्यका र कुहिराले घेरेका कन्दरामा घण्टौं टोलाएको थिएँ। मैले त्यहाँ जो सुनें, जो अनुभव गरें, त्यो अनिर्वचनीय थियो।
जगराको लेकमा बस्ता सबै सुन्दर र सुखद् थियो भनेर भन्न सक्तिनँ। यहाँका कहालीलाग्दा खाँच, दाहे भीर र अन्धकारमय अरण्यानिमा बज्रठिङ्गा झैं उभिइरहेको र बाघ झैं सुतिरहेको यस्तै के कस्तोकस्तो भयानक वस्तुको कल्पना हुन्थ्यो। आधारातमा हाप्सिलो कराएजस्तै निर्जन निस्तब्धताले डकार्छ कि जस्तो लाग्थ्यो। यस्तै बेलामा कतैबाट मानिसको स्वर सुन्दा अति आनन्द लाग्थ्यो। कहिल्यै नपुगेको ठाउँमा सम्पूर्ण सतर्कताका साथ पाइला हाल्नुपथ्र्यो। त्यहाँबाट फर्कंदा एक भयानक कल्पना लिएर आएर गोठालाहरूलाई भनूँजस्तो लाग्थ्यो। खतरासँग मिसिएको वन्यजीवनको आनन्दमा अर्कै तीव्रता हुन्छ, यसको बानी लागेपछि मानिसलाई अरू आनन्दले पुग्दैन। हिउँको हुरी चल्ने पहाडमा बस्ने बानी परेको मानिस कति साथीलाई गुमाएर पनि उहीँ उभिरहन्छ, आठ महिनासम्म बेंसीमा बसेर पनि चार महिना मात्र बस्ने त्यही प्रदेशलाई आफ्नो घर सम्झन्छ र फेरि त्यही खतराको माझमा उभिन पुग्छ।
प्रकृतिको भयानकताभित्र यस्तै अनौठाको आकर्षण र निष्ठुर ममता हुन्छ। आज म कान्तिपुरीको बीचमा बसेर पनि बारम्बार जगराको लेकमा जान चाहन्छु- वनका काँडाले कोरिन, कहालीलाग्दो भीरको बाटोमा झुन्डिएर हिँड्न, झरीवर्षाले चुटिन, अन्धकारमय अरण्यानिमा पसेर बाटो बिराउन र केही दिन काली-लेकमा हराउन। मलाई या त जगराको लेकको जङ्गलमा घुम्ने गोठाला मन पर्छन्, या त अन्तरिक्षमा यात्रा गर्ने यात्री मन पर्छन्। म मासिक पत्रिकामा सबभन्दा पहिले यात्राप्रसङ्ग पढ्छ, अनि मात्र कविता पढ्छु।
जब बाह्र वर्षको उमेरमा पैले जगरा छोडें, त्यो बेला हिमालका चुलीहरू भर्खरै शरद्को घाममा बाहिर निस्केर उभिएका थिए। चार महिना हिउँदमै जो पढ्नु पढिसकेर फेरि चैत लाग्नेबित्तिकै जगराको लेकमा पसुला र बाक्कर्ने (बाघ कराउने) ढुङ्गामा बसेर कुर्लुंला भनेको थिएँ, तर आज म पैंतालीस वर्षको भइसकें, तैपनि एक वर्षा गाल्ने गरी मैले जगरामा बस्न पाएको छैन।
रूप-रेखा पत्रिका २०२२ जेठमा प्रकाशित (चारु चर्चा कृतिबाट)