भक्तपुरमा एकै दिन ४८ कोरोना संक्रमित थपिए
भक्तपुर : भक्तपुरमा शनिबार एकै दिन ४८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। भक्तपुरमा अहिलेसम्मकै सर्वाधिक संक्रमित थपिएको हो। जसमा ३७ जना पुरुष र ११ जना महिला रहेका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा भक्तपुरमा ५० जना संक्रमित थपिएको भनिए पनि ४८ जनामात्रै रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।
कार्यालयमा अनुसार शनिबारका ४८ सँगै भक्तपुरमा संक्रमितहरुको कूल संख्या २ सय ६२ जना पुगेको छ। स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले शनिबार भक्तपुरमा थपिएका ४८ जना संक्रमितमध्ये २० जना सशस्त्र प्रहरी रहेको बताए। भक्तपुरको चाँगुनारायण नपा १ दुवाकोटस्थित सशस्त्र प्रहरी बलको गुहेश्वरी गणमा कार्यरत सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको उनको भनाइ थियो। उनीहरु तराईका जिल्लाबाट सरुवा भई हालै दुवाकोटस्थित गणमा आएको बताइएको प्रमुख मिजारले जानकारी दिए। उनका अनुसार गणमा सरुवा भई आएपछि कोरोना भाइरस परीक्षण गरेकामध्ये शनिबार २० जनाको रिपोर्ट पोजिटिभ आएको हो।
त्यस्तै शनिबार मध्यपुर थिमि नपामा १५ जना संक्रमित थपिएका छन्। जसमा पुरुष ८ र महिला ७ रहेका छन्। यससँगै मध्यपुर थिमिमा अहिलेसम्म १ सय ५ जना पुगेको छ। मध्यपुर थिमि भक्तपुर जिल्लाका चार नपामध्ये सबैभन्दा बढी संक्रमित भएको नगरपालिका हो।
त्यस्तै शनिबार भक्तपुर नपाका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार संक्रमण पुष्टि भएकामध्ये ६ पुरुष र २ महिला रहेका छन्। यससँगै भक्तपुर नपामा संक्रमितको कूल संख्या ४६ पुगेको छ।
पछिल्लो समय चाँगुनारायण नपामा भने संक्रमित देखिएका छैनन्। यहाँ २० जना संक्रमित फेला परेका छन्।
कोरोनाले दुईको ज्यान गयो
त्यस्तै कोरोना भाइरस संक्रमणकै कारण भक्तपुरमा दुईजनाको मृत्यु भएको छ। शनिबार एकजना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो। काठमाडौंको मेडिकेयर अस्पतालमा उपचार गराइरहेका सूर्यविनायक नपाका संक्रमित पुरुषको शनिबार मृत्यु भएको हो।
यसअघि पनि सूर्यविनायक नपा १ निवासी ६१ वर्षीया महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। भक्तपुरका ६६ जना संक्रमित भने कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन्।