सुदूरपश्चिमका मुख्यमन्त्री र उनको परिवार ‘सेल्फ क्वारेन्टाइन’ मा
धनगढी : चालकमा कोरोना देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको परिवार सेल्फ क्वारेन्टाइनमा बसेको छ। आइतबार उनको निवासका २३ वर्षीया गाडी चालकमा कोरोना पुष्टि भएको थियो। २३ वर्षीया गाडी चालक मुख्यमन्त्रीको आवासको गाडि चलाउदै आएका थिए।
चालकमा कोरोना पुष्टि भएसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट, उनकी श्रीमती, दुई छोरी र एक छोरा मुख्यमन्त्री निवासमै सेल्फ क्वारेन्टाइन बसेका मुख्यमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ।
मुख्यमन्त्री, परिवारका सदस्य र चालकका परिवारको स्वाब सोमबार मात्र लिइने भएको छ। यस्तै सेती प्रादेशीक अस्पतालमा कार्यरत दुई महिलामा पनि कोरोना पुष्टि भएको छ। अस्पतालमा कार्यरत ६० वर्षीया र २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पताल र डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा ४२ र डडेलधुरा अस्पतालको प्रयोगशालामा ३३ गरेर ७५ जनामा कोरोना पुष्टि भएको हो।
शनिबार मात्रै धनगढीका एक विद्यालय सञ्चालक र एक छुट्टै विद्यालयकी शिक्षिकामा पनि कोरोना पुष्टि भएको थियो। भारतबाट स्वदेश फर्केका नेपालीलाई सीमा नाकाबाटै क्वारेन्टाइनसम्म पुगाउने व्यवस्था नभएकाले पनि कोरोना समुदायमा फैलिएको अनुमान लगाइएको छ।