‘अग्रासन’ बिनाको ‘अट्वारी’

‘अग्रासन’ बिनाको ‘अट्वारी’

थारू कल्याणकारिणी सभा, कैलाली जिल्ला उपाध्यक्ष माधव चौधरी भन्छन्,‘कोरोना सर्ला भन्ने डरले चेलीबेटीहरूलाई अग्रासन पुर्‍याउने माहोल छैन।’


धनगढी : थारू समुदायले आइतबार ‘अग्रासन’ (विवाहित चेलीबेटीहरूलाई दिइने कोसेली) बिनै अट्वारी पर्व मनाएका छन्। कृष्णजन्माष्टमी पछिको दोस्रो आइतबार र सोमबार गरी दुई दिनसम्म पश्चिमका थारू समुदायले अट्वारी पर्व धूमधामसाथ मनाउँछन्। तर स्थानीय प्रशासनले कैलाली, बर्दिया, बाँके लगायत थरुहटका जिल्लामा कतै लकडाउन त कतै निषेधाज्ञा जारी गरेको छ। त्यसैले ‘फर्हार’ गरेर ‘अग्रासन’ पुर्‍याउन अवस्था रहेन।

थारू कल्याणकारिणी सभा, कैलाली जिल्ला उपाध्यक्ष माधव चौधरी भन्छन्,‘कोरोना सर्ला भन्ने डरले चेलीबेटीलाई अग्रासन पुर्‍याउने माहोल छैन। त्यसैले, यसपालि फोन गरेर क्षमा मागेका छौं।’

प्रायः खेतीपातीमा रमाउने थारू समुदाय वर्षात्को खेतीपाती सकिएपछि अट्वारी पर्व धूमधामसाथ मनाउँछन्। अट्वारी पर्व खासगरी पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने डंगौरा समुदायले मनाउँछन्। प्रदेश ५ ले अट्वारी पर्वका अवसरमा थारू कर्मचारीलाई आइतबार बिदा दिएको थियो।

डंगौरा थारू समुदायले आइतबारको दिनलाई ‘अट्वार’ भन्छन्। यही अट्वार व्रत बस्ने पर्वबाट अट्वारी भन्ने गरिन्छ। सोमबार अग्रासन (चेलीबेटीलाई कोसेली) दिएर यो पर्व समापन हुन्छ। अट्वारी पर्वबाट थारू समुदायले आफ्नो लोकसंस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन्।

आइतबार अथवा अट्वारीको पहिलो दिन व्रत बस्नेहरूको खाना भान्सामा पाकेन। उनीहरू बिहानै नुहाएर पिँढी या आँगनमा गाईको गोबरले लिपपोत गरे। लिपपोत गरेर पहिले प्रयोेग नभएको आगो अर्थात् चोखो आगोमा रोटी पकाए। पुरानो आगो अट्वारीका लागि अपवित्र मानिन्छ। त्यसैले काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्छन्। बाटुलो रोटीलाई सूर्यको प्रतीकात्मक परिकारका रूपमा लिइन्छ।

स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्कामा बसेर बसेर दिउँसो रोटी फलफूल खाए। खानुभन्दा पहिले अग्यारी दिए। आफ्नो भागमा रहेको परिकार थोरै झिकेर आगोमा चढाउने विधिलाई ‘अग्यारी’ दिएको भनिन्छ। सबैभन्दा पहिले अग्नि अथवा सूर्यलाई प्रसादका रूपमा अग्यारी दिने चलन छ। त्यसपछि आफ्ना चेलीबेटीका लागि पाहुरको रूपमा ‘अग्रासन’ छुट्ट्याउने चलन छ। अन्य व्रतजस्तो अट्वारीमा दिनभरि निराहार बसिँदैन। दिउँसो नै पूजा गरी खाने चलन छ। योे क्रम सूर्यास्त नहुँदासम्म चल्छ। सूर्यास्तपछि खान पाइँदैन।

सोमबार, ‘फर्हार’ गरिन्छ। फर्हार नहुँदासम्म पानीसमेत नखाएर निराहार बस्नुपर्छ। फर्हार अट्वारीको अन्तिम पूजा होे। सोमबारको खानामा खास गरेर दालभातसँगै खँरिया, फुलौरी, पोंईको साग मिसाएको ठुसा, सुकेको माछा, चिचिन्डो, घिरांैला, भिन्डीलगायतका बिजोर संख्यामा तरकारी बनाइएको हुन्छ। माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन। फर्हारपछि मात्रै कोसेली पुर्‍याउन आउने दाजुभाइको सम्मानमा मासु पकाइन्छ।

महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डवमध्येका भीमसेनले थारू समुदायलाई शत्रुसँग लड्न सघाएको खुसियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको थारू समुदायका अगुवाहरू बताउँछन्। एक किंवदन्तीअनुसार रोटी पकाउँदा पकाउँदै लडाइँमा जाँदा भीमले पकाएको रोटी कसैले पल्टाउन सकेन। त्यसैले भीमको सम्झनामा पूजा गर्ने एउटा रोटी दोहोरो नफर्काई एकपट्टिबाट मात्र पकाइन्छ। यसलाई भेंवक् रोटी भनिन्छ। यो पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथावाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ।

वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने थारू समुदायका व्यक्ति अट्वारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सतको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्छन्। यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ। यसरी व्रत बसेकाहरू साँझपख आआफ्ना घरमा खानाका मीठा परिकार पकाइसकेपछि पूजामा बस्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.