कांग्रेसको गतिहीनता र भविष्य
अहिलेको कांग्रेसको प्रमुख मुद्दा समयमा महाधिवेशनको सुनिश्चितता र लोकतान्त्रिक विधिको परिपालना हो
एउटा प्राक्कल्पनात्मक (हाइपोथेटिकल) प्रश्नबाट सुरु गरौं। संविधानसभामा कांग्रेसको उपस्थिति कमजोर भएको भए नेपालको संविधान कस्तो बन्थ्यो होला ? यो एक काल्पनिक तर सान्दर्भिक प्रश्न हो। माओवादीको सैद्धान्तिक विमूढता र अनेक फुटले प्रमाणित गरिदिएको छ कि अहिलेको संविधानमा उनीहरूको रुचि थिएन। यो उनीहरूको लक्ष्य पनि होइन। संविधान निर्माणमा जनताले कांग्रेसलाई भूमिकाहीन अवस्थामा राखेको भए अहिलेको नेपालको राजनीतिक स्वरूप फरक हुने थियो। विमतिलाई अपराध मानिन सक्थ्यो। सेनाको राजनीतीकरण हुन सक्थ्यो। १४÷१५ जातीय प्रदेशहरू बन्ने त निश्चित थिए र निर्वाचनसमेत एकदलीय हुन सक्थ्यो। गणतन्त्रका लागि गरिएको बलिदानको इनामस्वरूप माओवादीलाई जनताले संविधानसभामा सम्मानजनक स्थान दिए तर एउटा सीमाभित्र राखिदिए। संविधानसभामा कांग्रेसलाई पनि सम्मानजनक स्थान मिल्यो तर आर्थिक समृद्धिको खाका कोर्ने बेलामा भने कांग्रेसलाई जनताले ट्वाँ पारिदिए। किन ?
लोकतान्त्रिक संविधान निर्माणमा जनताले कांग्रेसलाई विश्वास गर्नु तर आर्थिक विकासका लागि भने कांग्रेसलाई नपत्याउनुको कारण छ। नेपालको राजनीतिमा कांग्रेसको उपादेयता जारी राख्ने हो भने कांग्रेसका कार्यकर्ताले केही प्रश्नमा गहन विवेचना गर्न अतिदेय भइसकेको छ। राणाशासन कालदेखि २०४७ सालसम्म कांग्रेसले लोकतन्त्रका लागि आन्दोलन गर्यो। संघर्षको यही कालमा कांग्रेसमा अनेक नेताहरू जन्मिए। अहिलेका कांग्रेसका नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलको स्मरण गर्न योग्य योगदान त्यही लोकतान्त्रिक आन्दोलन हो, त्यही काल हो। अहिले नेपालले अभ्यास गरिरहेको संसदीय लोकतान्त्रिक पद्धतिको सैद्धान्तिक रूपले पक्षपाती कांग्रेस मात्रै हो। ४७ सालसम्म नेपालमा खुलारूपमा लोकतन्त्रको झन्डा बोक्ने दल कांग्रेस मात्रै थियो। संसदीय पद्धतिका लागि आजीवन लडेका नेताहरू कांग्रेसमा जीवितै छन्। त्यसैले लोकतान्त्रिक संविधानका लागि जनताले कांग्रेसलाई विश्वास गरे, रोजे। २०४७ सालपछिको कांग्रेससँग जोडिएका प्रशस्त विसंगतिको बपौती बोकेका नेताहरू कांग्रेसको अहिलेको नेतृत्वमा छन्। कांग्रेसका यी नेतासँग जनतालाई तरंगित पार्ने कुनै नारा र कार्यक्रम छैनन्। कुशासन र सुशासनमा कांग्रेसले एउटा अक्षरको मात्रै फरक देखेको इतिहास छ। त्यसैले जनताले कांग्रेसलाई आर्थिक विकासका लागि पत्याएनन्।
विज्ञानमा प्राक्कल्पनात्मक प्रश्नबाट नयाँ कुरा निस्केका छन्, आविष्कारहरू भएका छन्। यस्ता प्रश्न राजनीतिमा पनि प्रबोधक हुन्छन्। केही प्राक्कल्पनात्मक प्रश्नहरू कांग्रेसको अहिलेको अवस्थामा यथोचित हुन्छन्। आगामी निर्वाचनमा एउटा बृहत् राजनीतिक बहसको आयोजना गरियो र त्यसमा नेकपाबाट पुष्पकमल दाहाल, केपी ओली वा भीम रावलको सहभागिता गरियो भने कांग्रेसको तर्फबाट तिनको सामना कसले गर्दा कांग्रेसको हितमा होला ? शेरबहादुर देउवा, विजय गच्छदार, शशांक कोइराला वा सुनिल थापा ? सुशासन र समृद्धिको विषयमा एउटा बृहत् मिडिया बहसको आयोजना गरियो भने त्यसमा कांग्रेसको प्रतिनिधित्व कसले गर्नु कांग्रेसको हितमा होला ? उपसभापति गच्छदार ? एमसीसीको पक्षमा सार्वजनिक बहस गर्नुपरेमा त्यसको सामना गर्ने उपयुक्त पात्र कांग्रेसमा को होला ? महामन्त्री शशांक ? नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास र बीपीको समाजवादको प्रतिरक्षा गर्नुपरेमा कांग्रेसको कुन नेता उपयुक्त होला ? नवनियुक्त सहमहामन्त्री वा आरजु देउवा ? ४७ सालयताका नेताको सम्पत्ति छानबिन गरिने प्रस्ताव आयो भने त्यसमा कांग्रेसका कतिले सहमति जनाउलान् ? र, अहिलेको संसदमा गगन थापा नभएको भए प्रतिपक्षको रूप कस्तो देखिन्थ्यो होला ? महाधिवेशनमा यी प्रश्नहरूको जबाफ कांग्रेसले खोज्यो भने त्यो कांग्रेसकै लागि हितकारी हुनेछ।
कांग्रेसमा यथास्थितिको अन्त्य गर्न सके त्यो गगनका लागि एउटा ठूलो सफलता हुनेछ। त्यसका लागि गगनले जोसुकैसँग सम्झौता गर्न तयार हुनुपर्छ। त्यो निधि, सिंह वा शेखर कोइराला जोसँग पनि हुन सक्छ।
कांग्रेसको घडीको सुई २०५० सालसम्म स्वतःस्फुर्त रूपमा चलेको देखिन्छ, त्यसपछि धक्कामुक्काले यहाँसम्म आइपुगेको छ। विगतको निर्वाचनमा पराजित भएपश्चात् कांग्रेसले गरेको कामको समीक्षा पनि कांग्रेसका कार्यकर्ताले गर्नुपर्छ। कांग्रेसको नारा के हो ? कांग्रेसका मूल मुद्दा के हुन् ? नेकपा फुट्ला र खाउँला भन्ने कांग्रेसको प्रमुख मुद्दा हो ? बीपीको राजतन्त्रात्मक प्रजातान्त्रिक समाजवाद अब सान्दर्भिक रहेन। ‘पञ्चायती व्यवस्थाको अन्त्य गरौं’ भन्ने २०४७ सालसम्मको नारा र आन्दोलनबाट राजनीतिमा स्थापित भएका कांग्रेसका नेताहरू वृद्ध भइसके, थाकिसके। २०६३ सालपछि कांग्रेसले वंशवादबाट जोडिएका केही छिटपुटबाहेक आम युवालाई आकर्षित गर्न सकेको छैन। नेपालमा सुशासनका लागि अहिले पनि एउटा ठूलो युवा समूह आन्दोलित छ। राष्ट्रपति कार्यालय पार्टी कार्यालय बनेको विदेशी राजदूतको हस्तक्षेप देखिएको छ, नेपालका पत्रकारलाई धम्की दिएको छ। ओम्नी, वाइडबडी, ७० करोड, कोरोना, न्यायालय आदिका अनेक मुद्दामा अहिले विभिन्न किसिमका समूहहरू विभिन्न नारा लिएर सडकमा देखिएका छन्। कांग्रेससँग नारा, कार्यक्रम र अग्र सक्रिय नेतृत्व नभएकाले यो समसामयिक आन्दोलनमा कांग्रेस मौन छ। त्यसैले सत्ताविरोधी मनोभावको लाभ अहिले कांग्रेसले प्राप्त गरेको छैन। सामाजिक सञ्जाल र सञ्चारगृहहरूमा सत्तापक्षकै प्रतिपक्ष छ। बौद्धिकहरू भन्छन् कांग्रेस केको प्रतीक्षा गर्दै छ ? के हेरेर बसेको छ ?
यसको जबाफ सहज छ। कांग्रेसको अहिलेको नेतृत्व जे गर्न सक्षम छ त्यही गरिरहेको छ। देउवा र पौडेल दुवै आफ्नै हिसाबले कांग्रेसलाई बलियो र ठूलो दल बनाउन रातदिन लागिपरेका छन्। यिनको नियतमा शंका गर्ने कुनै ठाउँ छैन तर यिनको कार्यक्षमतामा प्रशस्तै प्रश्न गर्न मिल्छ। देउवामा पाँच वर्ष आराम गर्दा कांग्रेस स्वतः मजबुत हुने दृढ विश्वास छ। देउवाको कृपाले महाधिवेशन भइहाले भने अध्यक्षमा उठ्नेसम्म पौडेलको सोच छ। आफू अध्यक्ष बन्नेबित्तिकै कांग्रेस स्वतः बलियो हुने मान्यता पौडेलको छ। २०३६ देखि २०४७ सालको आन्दोलनका उपज नेताहरू ६२÷६३ पश्चात्कालमा विमूढ देखिएका छन्। प्रायजसो कांग्रेसका युवा नेताहरू आफ्नो सानो स्वार्थका लागि एउटा नेताको गलत प्रवृत्तिको मोहरा बनेका छन्। पौडेल क्षमतावान् भएको भए अहिलेसम्म कांग्रेसको महाधिवेशन भइसकेर अर्को निर्वाचनको तयारीमा कांग्रेस गइसकेको हुने थियो। नेविसंघले निर्वाचित नेतृत्व पाइसकेको हुने थियो। पौडेलले विरोध गर्न नसकेरै त आज कांग्रेस टिके प्रथामा फर्केको छ।
नेपालमा संसद्का लागि निर्वाचन हुन्छ तर पनि दलसँग एउटा चेहरा हुनुपर्छ। विगत निर्वाचनमा नेकपाका नेता केपी ओलीलाई जनताले रुचाएका थिए। भारतमा भाजपा नरेन्द्र मोदीको नेतृत्वमा निर्वाचनमा गएको थियो। कांग्रेसमै एकपटक गिरिजाप्रसाद कोइरालाले निर्वाचनका लागि कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए। कांग्रेसको इतिहासका पानामा देउवा र पौडेल सुन्दर देखिन्छन् तर राजनीतिमा उमेर वा वरिष्ठताका हिसाबले पालो आउँदैन। अब चारपटकको प्रधानमन्त्रीको कामका आधारमा देउवाको मूल्यांकन हुन्छ। २०४८ सालदेखि अहिलेसम्मका कांग्रेसका प्रत्येक सरकारको बपौतीमा देउवा, पौडेल, विमलेन्द्र निधि र प्रकाशमान सिंह पनि जोडिन्छन्। मध्यावधि निर्वाचन, महाभियोग, लाउडा, दरबारमा लोकतन्त्र बुझाएको आदि अनेक मुद्दाहरूको बपौती यी सबैसँग जोडिन्छ। तर यी कुसंस्कारका बोझ बोक्नुनपर्ने निष्कलंक नेताहरू पनि कांग्रेसमा छन्। महाधिवेशनमा त्यस्ता सामथ्र्यवान्को खोजी गर्ने कि महाधिवेशनपूर्व नै टीका लगाएर जग हँसाउने ?
विधानले दिए पनि तानाशाही प्रवृत्ति कांग्रेसका लागि घातक हो। बीपीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सूर्यबहादुर थापाका छोरालाई कांग्रेसले सहमहामन्त्री तोकेको छ। सुनिल थापाको कुनै राजनीतिक पृष्ठभूमिसमेत छैन। उनी कुनै विषयका ज्ञाता पनि होइनन्। न उनको नेपालको लोकतान्त्रिक आन्दोलनमा कुनै योगदान छ। सूर्यबहादुरको पुत्र हुनुलाई कांग्रेसले योग्यता मान्ने ? भोलि कमल थापाको सन्तानलाई उपाध्यक्ष र पशुपतिकी छोरीलाई महामन्त्री नियुक्त गरिएला। उता पुष्कर ओझा, रामबहादुर बिष्ट र गोविन्दराज जोशी जस्ता जनाधार भएका र आजीवन कांग्रेसमा समय खर्चेका कार्यकर्तालाई कारबाही गरिएको छ। स्मरण रहोस्, जोशीलाई भ्रष्टाचार मुद्दाका कारण कारबाही गरिएको होइन। गत हप्ता अमेरिकामा भएको डेमोक्रेटिक पार्टीको सम्मेलनमा कतिपय रिपब्लिकन नेताहरूले डेमोक्रेटिक दलका उमेदवारलाई जिताउन अमेरिकी नागरिकसँग खुलारूपमा अनुरोध गरे। लोकतान्त्रिक पद्धतिमा यसलाई अन्तर्घात होइन, स्वतन्त्रता भनिन्छ। ट्रम्पलाई भोट नहाल्न आह्वान गर्ने रिपब्लिकन दलका ती नेताहरूले भविष्यमा रिपब्लिकन दलबाट राष्ट्रपतिमा समेत दाबी गर्न सक्छन्। ओझाले आरजू देउवालाई र जोशीले पौडेललाई कसरी हराउन सक्छन् ? कांग्रेसको अध्यक्ष बन्ने र देशकै नेतृत्व गर्ने उद्देश्य लिएका पौडेललाई भ्रष्टाचारको अभियोगमा तारिख बोकिरहेको एउटा सामान्य कार्यकर्ताले कसरी पराजित गर्न सक्छ ? पौडेलभन्दा जोशी लोकप्रिय हुनु अपराध होइन, चुनौती हो। भोट नदिनेलाई कारबाही गर्ने कि जिम्मेवारीमा बसेर जिम्मेवारी निभाउन नसक्नेलाई ? लोकतन्त्रमा विमतिलाई अन्तर्घात भनिँदैन। विमति राख्नेलाई गद्दार, धोखेबाज, अन्तरघाती भनेर कारबाही गर्ने कि विमतिको आदर गर्ने, विमतिलाई सम्बोधन गर्ने ?
हामी सूचना प्रविधिले क्रान्ति गरिसकेको युगमा छौं। राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाको विवेचना गरेर आफ्नो धारणा सम्प्रेषण गर्न नसक्नेलाई आजको समाजले नेता मान्दैन। दूरदृष्टिता, अग्रसक्रियता नभएका, शारीरिक रूपले आशक्त र कोठे नेतालाई अब जनताले पत्याउँदैनन्। अहिले भारतमा भाजपाका नेता लालकृष्ण आडवाणी र मुरलीमनोहर जोशीको जुन अवस्था छ, नेपालमा देउवा र पौडेलको अवस्था त्यही हुनुपर्ने हो। ती सम्मानका हकदार हुन् तर तिनको नेतृत्व असान्दर्भिक भइसकेको छ। यथास्थितिको अन्त्य नहुने हो भने एउटा गुटमाथि अर्को गुटको विजयका लागि गरिने कर्मकाण्डी महाधिवेशनको कुनै अर्थ छैन।
कांग्रेसमा बौद्धिकता र चिन्तनशीलता को अभाव हुँदै गइरहेको छ। एक चिन्तनशील, बौद्धिक, निर्भय र निष्कलंक नेता भएकाले गगनलाई कांग्रेसमा रुचाइन्न। जम्मा ६/७ महिना मात्र मन्त्री भएका गगनको एउटा सानो कार्यकाल गर्व गर्नलायक छ। सुशासनका पक्षपाति भएकै कारण धनराज गुरुङलाई जिम्मेवारीबाट वञ्चित गरिएको छ। कांग्रेस अहिले ‘गर या मर’ को स्थितिमा छ। कांग्रेसका ३६ देखि ४७ सालसम्मको विद्यार्थी राजनीतिबाट उदाएका वृद्ध–युवा नेताका लागि यो सम्भवतः एक अन्तिम अवसर, चुनौती र परीक्षाको घडी पनि हो। यो महाधिवेशनमा धनराज गुरुङ, देवराज चालिसे, वीरबहादुर बलायर, एनपी साउद, बालकृष्ण खाँड, गुरु घिमिरे, सुरेन्द्र पाण्डे, चन्द्र भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, महेन्द्र यादव, विश्वप्रकाश शर्मा, नविन्द्रराज जोशी, हृदयराम थानी, उमाकान्त चौधरी आदिको भूमिकाले कांग्रेसको भविष्य तय गर्ने छ। आफ्ना संरक्षकको छत्रछायामा आफ्नो ससाना स्वार्थ हेर्ने वा यथास्थिति परिवर्तन गरेर र पार्टी र देशको स्वार्थ हेर्ने। गगन एक्लैले कांग्रेसमा कायापलट गर्न नसक्ने विगतको महाधिवेशनले देखाइसकेको छ। कांग्रेसमा यथास्थितिको अन्त्य गर्न सके त्यो गगनका लागि एउटा ठूलो सफलता हुनेछ। त्यसका लागि गगनले जोसुकैसँग सम्झौता गर्न तयार हुनुपर्छ। त्यो निधि, सिंह वा शेखर कोइराला जोसँग पनि हुन सक्छ।
अन्त्यमा,
यथार्थ भने कांग्रेसमा अर्कै छ, जटिल छ। देउवाले ‘म यो महाधिवेशन गर्दैन’ भनेर टार्ने सम्भावना कांग्रेसमा सुरक्षित छ, सम्भव छ। यो अनुभव हो, मनोगत कथन होइन। त्यसो भएमा निधि, सिंह, कोइराला, थापा र माथि उल्लिखित वृद्ध–युवा नेताहरूले एक स्वरले त्यसको विरोध गर्न सक्लान् ? अहिलेको कांग्रेसको प्रमुख मुद्दा समयमा महाधिवेशनको सुनिश्चितता र लोकतान्त्रिक विधिको परिपालना हो। आफू संकटमा परेको कांग्रेसले महसुस गरेन भने र विधिको परिपालना गरिएन भने कांग्रेसको ४७ साल पूर्वको कमाइ (लोकतान्त्रिक दलको ट्याग) कति टिक्ला ? जनताले रामराम भन्लान् काँध दिँदैनन्।