उपचार नपाएर भैरहवामा कोरोना संक्रमितको मृत्यु
भैरहवा : रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय कोभिड १९ संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सोमबार राती उनको मृत्यु भएको भीम अस्पताल कोभिड १९ का फोकल पर्सन डा. सुमित प्रजापतिले पुष्टि गरे । यससँगै रुपन्देहीमा कोभिड संक्रतिमको मृत्युको संख्या ६ पुगेको छ ।
मृतक पुरुष घर निर्माण गर्ने मिस्त्री हुन् । काम गर्ने क्रममा छतबाट लडेर टाउकोमा चोट लागेपछि उपचारका लागि उनलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस अस्पतालमा ल्याइएको थियो । उपचार अघि उनीमा कोभिड १९ संक्रमण परीक्षण गर्दा भदौ ५ गते पोजिटिभ देखिएपछि अस्पतालले कोभिड उपचारका लागि सोमबार साँझ भीम अस्पताल पठाएको थियो ।
तर, भीम अस्पतालमा भर्नामा ढिलाइ र उपचारमा लापरबाही गर्दा भाइको मृत्यु भएको दाजु हसन मोहम्मद नाउले दावी गरे । आइसीयूमा राखेर उपचार गर्नुपर्ने भएपनि अस्पतालले सही समयमा सही उपचार नगर्दा अवस्था चिन्ताजनक बन्दै गएको र राती भाइको मृत्यु भएको उनले बताए ।
मृतकलाई आइसीयू कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेपनि जनशक्तिको अभावमा उपचार हुन नसकेको फोकल पर्सन डा. प्रजापतिले स्वीकार गरे । 'बिरामीलाई अस्पताल ल्याउँदा उनको स्वास्थ्य अवस्था नाजुक थियो, आइसीयूमा राखेर उपचार गर्नुपर्ने थियो, ' फोकल पर्सन डा. प्रजापतिले अन्नपूर्णसँग भने, 'हामीसँग आइसीयू कक्ष भएपनि जनशक्तिको अभावका कारण आइसीयूमा उपचार गर्न सकेनौँ तर, पनि ज्यान जोगाउनका लागि प्रयास गर्दागर्दै मृत्यु भयो ।'
अस्पतालमा केही समय अघि नै ५ बेडसहितको आइसीयू कक्ष निर्माण गरिएपनि सरकारको लापरवाहीका कारण संचालनमा आउन सकेको छैन ।