फुच्चे र्यापरको कमाल
गाजा : प्यालेस्टाइनको गाजा सहरको अलशान्ति विद्यालयका ११ वर्षीय विद्यार्थी अब्देल रहमान एकाएक ‘भाइरल’ भएका छन्। हाल कक्षा ७ मा अध्ययनरत उनले ९ वर्ष हुँदादेखि नै र्याप गाउन थालेका थिए। यसपटक उनी आफूले गाएको र्यापकै कारण गाजाको राष्ट्रिय चासोको विषय बन्न पुगेका छन्।
अब्देलले आफ्नो विद्यालय परिसरमा आफूलाई मन पर्ने गायकको र्याप गाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट् गरेका थिए। गाउँदा स्पष्ट र आत्मविश्वासी देखिने उनको भिडियोमा दस लाखभन्दा बढी भ्युज पुगेको छ। उनलाई विश्वका प्रसिद्ध र्यापरहरूले समेत प्रशंसा गरिरहेका छन्।
तर अब्देलले गाएको र्यापको विषय र अर्थका कारण भने उनी संकटमा परेका छन्। र्यापको सन्देशबारे एक रसियन समाचार आउटलेटले प्रश्न गर्दा अब्देलले भनेका छन्, ‘म हामी (गाजा) र इजरायलबीच मेलमिलाप र सद्भाव फैलाउन चाहन्छु। झगडा र युद्धको कुनै कारण छैन। हामीले दुई देशबीच सम्बन्ध राम्रो बनाउनु पर्छ।’
अब्देलको यो टिप्पणीप्रति गाजामा कडा आलोचना भएको छ। गाजा लामो समयदेखि आतंकवादी समूह हमासको नेतृत्वमा चलिरहेको छ। इजरायलले प्यालेस्टाइन भनेर कब्जा गरेको भूमि फिर्ता लिन खोजिरहेका उनीहरू इजरायलविरुद्ध लड्न वकालत गरिरहेका छन्।
अब्देललाई प्यालेस्टाइनसम्बन्धी सही शिक्षा नदिएको भन्दै सामाजिक सञ्जालमा उनका बुवा सालेहको पनि आलोचना भइरहेको छ। यसरी विवाद र आलोचनाको सरगर्मीबीच सालेहले नयाँ भिडियो बनाएर पोस्ट् गरे, जसमा अब्देलले इजरायलसँग शान्ति र प्रेम खोजेको अर्थ नभई विश्वमा शान्ति छाउनुपर्ने अर्थ लगाएको बताएका छन्। उनकै आग्रहमा रसियन आउटलेट, रसिया टुडेले उनीसँग पहिले गरिएको कुराकानीको भिडियो अहिले हटाएको छ।
‘अब्देल जम्मा ११ वर्षका छन्। उनले गलत हिज्जे बोले’, बुवा सालेहले भनेका छन्, ‘या ऊ निकै थाकेका कारण यस्तो भएको हुन सक्छ।’
अब्देलका बुवाको सो अभिव्यक्ति सामाजिक सञ्जालका थुप्रै प्रयोगकर्ताले स्वीकारेका छन्। ११ वर्षे बालकले बोलेको कुरालाई आलोचनात्मक विषयका रूपमा हेर्न नहुने उनीहरूले बताएका छन्। केहीले भने अब्देलले भनेका कुरामा सहमति जनाउँदै इजरायलसँग शान्तिपूर्ण अवस्थामा बस्न किन सम्भव छैन भन्दै प्रश्न उठाएका छन्।
अब्देलको ‘भाइरल’ बनेको र्याप भिडियो उनकै बुवाले सामाजिक सञ्जालमा पोस्ट् गरेका हुन्। अब्देलका अनुसार त्यो भिडियोले गाजामा रहेका प्यालेस्टाइनवासीको पीडा सम्बोधन गरेको छ, जसको आर्थिक अवस्था इजरायल र इजिप्टले गरेको नाकाबन्दीका कारण दयनीय अवस्थामा पुगेको छ।
प्यालेस्टाइनका र्यापरहरूले समेत अब्देलमा ठूलो सम्भावना देखेको बताएका छन्। ‘उनीसँग प्रवाह, गति, खुबी र कथा छ’, इजरायलका र्यापर टेमर नाफर भन्छन्, ‘सही प्रशिक्षण पाएमा अबको केही वर्षमा अब्देल अन्तर्राष्ट्रिय स्तरमा उत्रन सक्छन्।’
अर्का प्यालेस्टाइनी–अमेरिकी र्यापर वाहिब नासानले पनि अब्देलको तारिफ गर्दै ‘शक्तिशाली र प्रेरणादायी सिर्जना’ भन्दै थपेका छन्, ‘ऊ सकारात्मक सन्देश फैलाउन चाहन्छ भन्ने मैले देखेको छु।’ अब्देलले गाएको भाइरल र्यापको सुरुआतमा उनले भनेका छन्, ‘सबैभन्दा पहिला यो हाम्रो देश हो। यो कसरी चलिरहेको छ, मलाई बताउन दिनुहोस्।’
संयुक्त राष्ट्रसंघद्वारा गाजामा सञ्चालित विद्यालयमा अध्ययनरत अब्देलले अनलाइनमा अंग्रेजी र्याप सुन्दै गाउन सिकेको बताउँछन्। उनले केही र्यापका कभर रेकर्ड गराइसकेका छन् भने अहिले र्यापका लागि आफ्नै रचना पनि तयार पार्दैछन्।
अब्देलले सबभन्दा रुचाउने अमेरिकी र्यापर इमिनेम हुन्। भविष्यको योजना नै अब्बल र्यापर भई अमेरिका भ्रमण गर्नु रहेको उनी बताउँछन्। द न्युयोर्क टाइम्स