कोरोना कहरबीच सुदूरपश्चिममा गौरा मनाइँदै
महेन्द्रनगर : कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशमा बुधबार कोरोना कहरकाबीच घर- घरमा गौरा पर्व मनाइँदै छ । विगतका वर्षहरुमा देवी देवताको मन्दिरमा गएर गौरा पर्व मनाइने गरिन्थ्यो। यस वर्ष भने कोरोनाका कारण घरघरमै गौरा पर्व मनाइँदैछ।
भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरापर्वको अवसरमा भगवान् शिव-पार्वतीको पूजा गर्ने चलन रही आएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान् पर्व गौराको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात हुन्छ ।
भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रुपमा गौरा भित्र्याएर अष्टमीका दिन गौरा खलो (गौरा मनाइने ठाउँ)मा गएर गौरा पूजन गर्ने चलन छ । विवाहित महिलाहरुले सप्तमीको दिन गौरा पूजन गर्ने ठाउँमा गई दुबधागो गौरालाई चढाउने र नयाँ धागो घाँटीमा लगाउने परम्परा छ ।
भाद्र शुक्ल पञ्चमीका दिन भिजाइएको मास, गहत, गहुँ, केराउ, गुराउँस गरी पाँच प्रकारका गेडागेडी पन्चबिरुडाले गौरा महेश्वर अर्थात शिव पार्वतीको पूजा गर्ने चलन रहिआएको ब्रतालु अम्बिका जोशीले बताइन् ।
पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्ति भएको विश्वास छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको जोशीको भनाइ छ ।
'गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौराखलो गौरा मनाउने स्थलमा फाग गाएर पूजाआजा गर्छन्,' जोशीले भनिन, 'साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने र सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुजने र निधारमा बिरुडा थापेर दिर्घायुको कामना गर्ने चलन छ ।'
महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्छन्। गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन भएपनि यस वर्ष कोरोनाका कारण गौरा पर्व घर घरमा मात्रै समिति भएको साहित्यकार रमेश पन्त मितबन्धुले बताए ।
'यो वर्ष हामीले गौरा विगतका वर्षको जसरी मनाउन पाएनौं,' उनले भने, 'सिमित महिलाहरुले मात्रै गौरा पुजन गरेर मनाउँदैछन्। अन्य देउडा डुस्सो दुमारी जस्ता खेलहरु यस पटक भएनन् ।'गौरामा भरीभराउ हुने यहाँका धार्मिकस्थल, मठ मन्दिरहरु यस पटक भने सुनसान छन्।