वर्सेनि डुब्छन् भक्तपुर औद्योगिक क्षेत्रका उद्योग

वर्सेनि डुब्छन् भक्तपुर औद्योगिक क्षेत्रका उद्योग

भक्तपुर : सोमबार राती परेको अविरल वर्षाले भक्तपुर नगरपालिका २ सानो व्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्रभित्रका दर्जनौं उद्योग डुबानमा परे। वर्षाको पानीले निकास नपाउँदा उद्योगभित्रै करिब चार फिट पानी जमेको उद्योगीहरु बताउँछन्। जसले गर्दा उद्योगको भुइँतलामा रहेका मेसिन तथा उपकरण, कच्चापदार्थ र उत्पादित वस्तुमा क्षति पुर्‍यायो।

उनीहरुका अनुसार डुबानले भएको क्षति संकलन हुँदैछ। निषेधाज्ञाको कारण उद्योग बन्द छ। मजदुर कोही छैनन्। त्यसैले डुबान हुँदा कच्चापदार्थ तथा उत्पादित वस्तुसमेत बचाउन सकिएन। यसपटकको डुबानले बढी क्षति पुगेको उद्योगीहरु बताउँछन्।‘निषेधाज्ञाको कारण उद्योग बन्द थियो। मजदुरहरु कोही थिएनन्’, उद्योगी राजेश शिल्पकारले भने, ‘वर्षाको भेल पसेर जमिन तलामा ४ फिट पानी जमेको थियो। जसले गर्दा कच्चापदार्थ र उत्पादित वस्तु जोगाउन सकिएन।’

वर्षायाममा औद्योगिक क्षेत्र वर्सेनि डुबानमा पर्दै आएको छ। उद्योगीका अनुसार पूर्वमा महाकाली, चोछें, यालाछें र ठूलो व्यासी तथा दक्षिणमा भक्तपुर दरबार क्षेत्र, इताछें, इन्द्रायणीपीठ, सहिद स्मृति उद्यान, दूधपाटीदेखिको वर्षाको पानी भेलसरी औद्योगिक क्षेत्रभित्र पस्छ। त्यसमा औद्योगिक क्षेत्रकै पानी थपिन्छ। तर औद्योगिक क्षेत्र भइ बाहिरिने ढल निकास भने सानो छ। त्यसमाथि वर्षाको भेलसँगै आउने माटोबालुवाले निकास झनै साँघुरिएको उद्योगीहरु बताउँछन्।

सानो र पुरानो ढल निकास यसै वर्ष भक्तपुर औद्योगिक व्यवस्थापनले मर्मतसुधार गरेको थियो। तर यसै वर्ष १० वर्षको अवधिमा बढी डुबानमा परेको उद्योगी शिल्पकार बताउँछन्।‘यसवर्ष ढल निकास मर्मतसुधार गरिएको थियो’, उनले भने, ‘यसै वर्ष झन बढी १६ पटकसम्म उद्योग डुबानमा परिसक्यो।’
उनका अनुसार १८ इन्चको पुरानो निकासलाई २४ इन्च फराक बनाइएको थियो। तैपनि औद्योगिक क्षेत्रमा आइपुग्ने वर्षाको भेलले निकास पाएन।

भक्तपुर औद्योगिक क्षेत्र उद्योग संघका कोषाध्यक्ष सुरेश शुक्लाले प्रत्येक वर्ष डुबानको समस्या भएपछि यस वर्ष निकास फराक गर्ने र एउटा अर्को निकास थप्ने काम भएको बताए। तैपनि डुबानको समस्या नहटेको उनी बताउँछन्।‘वर्सेनि हुने डुबानले उद्योग सञ्चालन गर्नमात्रै होइन उद्योगलाई कच्चापदार्थ ल्याउन र उत्पादन बजार पठाउनसमेत समस्या हुँदै आएको छ’, कोषाध्यक्ष शुक्लाले भने, ‘वर्षा सुरु भयो कि उद्योगमा मेसिन चलाउनै बन्द गर्नुपर्ने बाध्यता छ।’
अहिले निषेधाज्ञाले उद्योग बन्द हुँदा पनि डुबानले दुःख दिन नछोडेको उनी दुःखेसो पोख्छन्।

उनले डुबानको समस्या समाधान गर्न औद्योगिक क्षेत्र व्यवस्थापन, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, भक्तपुर नगरपालिका र सडक विभागसमक्ष माग गर्दै आएका जानकारी दिए। भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापनले भने समस्या समाधानको पहल भइरहेको बताएको छ। व्यवस्थापन प्रमुख बलराम बोगटीले औद्योगिक क्षेत्रतर्फको ढल निकासलाई फराक गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।‘साँघुरो ढल निकासलाई फराक बनाउनेबारे प्राविधिक अध्ययन भइरहेको छ’, प्रमुख बोगटीले भने, ‘यसको लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड, सडक विभाग र भक्तपुर नगरपालिकासँग समन्वय भइरहेको छ।’

औद्योगिक क्षेत्र भक्तपुर नगरको होचो ठाउँमा रहेकाले चारैतिरको वर्षाको भेल यहीं आउने गर्दा डुबानको समस्या झेल्नुपरेको उनको भनाइ थियो। त्यसमाथि ठूलो वर्षा हुँदा यहाँको ढल निकास रहेको हाकुफल्चास्थित मंगालको भेल उल्टै औद्योगिक क्षेत्र फर्कने गर्दा झन् बढी डुबान हुने उनी बताउँछन्।‘त्यसैले हाकुफल्चास्थित मंगलदेखि सल्लाघारी वा खसाङखुसुङ खोलामा निर्माण भइरहेको करिडोरको ढलसम्म फराकिलो ढल निकास नभएसम्म औद्योगिक क्षेत्र वर्सेनि डुबानमा पर्ने देखिन्छ’, प्रमुख बोगटीले भने।

औद्योगिक क्षेत्रभित्र ३७ वटा उद्योग रहेका छन् तर निषेधाज्ञाको कारण अत्यावश्यकीय वस्तु उत्पादन गर्ने चारवटा दाना र तीनवटा डेरी उद्योगमात्रै सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.