३ महिनाको शिशुमा कोरोना : आमाको रिपोर्ट नेगेटिभ
भक्तपुर : भक्तपुरमा बुधबार ३ महिने एक शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भक्तपुरको सूर्यविनायक नपा २ बालकोटका ती बच्चालाई कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा बुधबार संक्रमण पुष्टि भएको हो।
कन्ट्याक्ट ट्रेसिङ गर्दा ती बच्चासँगै उनकै सात वर्षीय दाजुमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको सूर्यविनायक नपा स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंले जानकारी दिए।
दुई बच्चाका आमाको कोरोना भाइरस परीक्षण भने नेगेटिभ आएको उनले बताए।
प्रमुख चापागाईंका अनुसार यसअघि ती बच्चाका बाबु र काका गरी एकै परिवारका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
‘बाबु र काकालाई संक्रमण भएपछि कन्ट्याक्ट टे«सिङ गर्दा बुधबार दुई छोरामा संक्रमण भएको पुष्टि भयो’, उनले भने, ‘आमाको परीक्षणको रिपोर्ट भने नेगेटिभ आयो।’
संक्रमण पुष्टि भएपछि उनीहरुलाई होम आइसोलेसनमै राखिएको छ। उनीहरुमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको प्रमुख चापागाईंले जानकारी दिए।
बुधबार भक्तपुरमा २४ जना कोरोना भाइरस संक्रमित थपिएका थिए। जसअनुसार सूर्यविनायक नपामा मात्रै तीन महिना बच्चा र सात वर्षको बालकसँगै ११ जनामा संक्रमण पुष्टि भएको थियो।
त्यस्तै चार जनाको दोस्रोपटकको कोरोना परीक्षण गर्दा पनि पोजिटिभ आएको स्वास्थ्य शाखाले जनाएको छ। शाखाका अनुसार बुधबारसम्म सूर्यविनायक नपामा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुरुष र ४४ महिला गरी ९३ जना पुगेको छ।
त्यस्तै बुधबार मध्यपुर थिमि नपाका ९ जना संक्रमित थपिएका छन्। यससँगै मध्यपुर थिमिमा संक्रमितको संख्या १ सय १७ पुगेको छ।
भक्तपुर नपामा बुधबार एकजना महिला संक्रमित थपिएका छन्। यससँगै भक्तपुर नपामा संक्रमितको संख्या ५३ जना पुगेको छ। चाँगुनारायण नपामा भने ४० जना संक्रमित रहेका छन्।
बुधबार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेका भक्तपुरका २४ जनामध्ये दुई जना सम्पर्क बाहिर रहेको र एकजनाको अघिल्लो दिनको दोहोरिएको स्वास्थ्य कार्यालय भक्तपुरकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लले जानकारी दिइन्।
उनका अनुसार बुधबार प्राप्त सम्पूर्ण विवरण कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब पठाएकाहरुमा संक्रमण पुष्टि भएको हो।
कोरोनाले थप एकको मृत्यु
यसबीच कोरोना भाइरस संक्रमणको कारण भक्तपुरमा मर्नेको संख्या ३ पुगेको छ। तीनैजना सूर्यविनायक नगरपालिकाका छन्।
बुधबार काभ्रेको धुलिखेल अस्पतालका उपचाररत सूर्यविनायक नपा ८ की ५३ वर्षीया महिलाको मृत्यु भएको थियो। मुटुसम्बन्धी तथा थाइराइडको समस्या भई धुलिखेल अस्पतालमा उपचार गराउन गएकी उनका कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
यसअघि सूर्यविनायक नपा १ की ६१ वर्षीया महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। त्यस्तै काठमाडौंको मेडिकेयर अस्पतालमा उपचाररत सूर्यविनायक नपा ८ का ७३ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो।