समुदायमा फैलँदै कोरोना

समुदायमा फैलँदै कोरोना

धनगढी : चार दिनअघि धनगढीको सिद्धार्थ शिशु सदनका सञ्चालकलाई कोरोना पोजिटिभ देखियो। आफ्नै बहिनीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं जाने तयारीमा रहेका उनले सेती प्रादेशिक अस्पतालमा स्वाब दिए।

तत्कालै बहिनीको उपचार गराउन चिकित्सकले भनेपछि उनी स्वाब रिपोर्ट नआउँदै काठमाडौंतर्फ लागे। काठमाडौंमा रिपोर्ट पोजेटिभ आएको खबर पुग्यो। लगत्तै धनगढी फर्किएका उनी अहिले सेल्फ आइसोलेसनमा छन्। भन्छन्, ‘मलाई कुनै लक्षण देखिएको छैन, मेरो रिपोर्ट सत्य हो कि होइन भन्नेमा आशंका लागेको छ।’ कोरोना संक्रमण भएका व्यक्तिको पूरै परिचय गोप्य राख्नु उपयुक्त नभएको बताउँदै उनले सञ्चार माध्यम बोलाएर आफ्नो फोटो र नाम सार्वजनिक गर्न आग्रह गरे।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी बस्ने ४१ वर्षीय व्यवसायीका परिवारका चार जनालाई कोरोना संक्रमण देखिएको छ। हार्डवेयरको पसल सञ्चालक उनलाई पसलमा आएका ग्राहकबाट संक्रमण सरेको हुन सक्ने अनुमान गरिएको छ। उनी परिवारसहित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बसेका छन्।

धनगढी उपमहानगरपालिका–४ बसपार्क टोलका २६ वर्षीय युवा व्यवसायीमा पनि संक्रमण देखियो। धनगढीमै व्यवसाय गरिरहेका उनलाई कताबाट संक्रमण सर्‍यो भन्ने थाहा छैन। ‘हाम्रो खाता धनगढीको ग्लोबल आईएमई बैंकमा थियो, दिनमा दुई, तीन पटक बैंकमा गइराख्नु पथ्र्यो, त्यहाँका एकजना कर्मचारीमा कोरोना देखिएको छ, त्यहीबाट सर्‍यो कि’, यो उनको शंका थियो।

धनगढी उपमहानगरमा मात्रै ४० जनाभन्दा बढी ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। मंगलबार सेती प्रादेशिक अस्पतालका चार जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ। धनगढीकै एक्सिस विद्या आ श्रमका चार जना शिक्षक शिक्षिकामा पनि संक्रमण पुष्टि भएको छ। उनीहरू सबै ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्ति हुन्। भारतहुँदै स्वदेश आइरहेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न नसक्दा समस्या बढेको चिकित्सकहरू बताउँछन्।

‘सीमा नाकामा कुनै होल्डिङ एरिया छैन, भारतबाट फर्किरहेका व्यक्ति सीधै घर जान थालेका छन, उनीहरू धनगढी र आसपासका बजारमा पनि घुम्ने गरेका छन, समुदायमा संक्रमणको मुख्य कारण यो हो’ वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले भने। सुदूरपश्चिममा अहिलेसम्म ५ हजार ४ सय ६६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डँडेलधरा अस्पताल र डोटी अस्पतालका तीन वटा प्रयोगशालाबाट दैनिक दुई हजारभन्दा बढीको कोरोना जाँच भइरहेको छ।

सुदूरपश्चिमका ९ जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका बिरामी भएका चार जिल्ला छन्। मंगलबारसम्मको तथ्यांकअनुसार कैलालीमा सबैभन्दा बढी १ हजार ६ सय १४ जना, डोटीमा ८ सय ९६ जना, अछाममा ८ सय ७१ जना र कञ्चनपुरमा ६ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ। बाँकी अन्य जिल्लामा पनि संक्रमितको संख्या पाँच सयको हाराहारीमा पुगेको छ। बाजुरामा ४ सय ५२ जना, बैतडीमा ३ सय ३१, डँडेलधुरामा ३ सय १४, बझाङमा २ सय ९६ र दार्चुलामा ४४ जनामा संक्रमण पुष्टि भएको छ।

एक जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिकाका एक जना संक्रमितको बुधबार मृत्यु भएको छ। यससँगै सुदूरपश्चिममा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। मंगलबार साँझ संक्रमण पुष्टि भएका गोदावरी नगरपालिका– ११ ओलानीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको धनगढीको निसर्ग हस्पिटलको आइसीयूमा उपचार भइरहेको थियो। मंगलबार साँझ कोरोना पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो। उनको बुधबार बिहान निधन भएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर कुँवरले पुष्टि गरे। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.