कवित्वका धनी घिमिरे
जन्मेपछि मर्नुपर्ने शाश्वत नियम पछ्याएर राष्ट्रकवि माधव घिमिरेले भौतिक देह त्याग गर्नुभएको छ। ‘शतायुर्र्वै पुरुष’ भन्ने वेद वाक्यको पूरा उपयोग गरेर सय वर्ष पूरा गरी उहाँले देहत्याग गर्नुभएको हो। यस अर्थमा घिमिरेको मृत्युलाई लिएर आश्चर्य, दुःख र चिन्ता व्यक्त गर्नु पर्र्दैन र आवश्यक पनि होइन। तर सबैको जन्म एकैपटक हुने भए पनि कोही एकपटक मात्र मर्छन्, कोही पटकपटक मर्छन्, कोही भने भौतिक रूपमा मरे पनि कीर्ति, स्मृति र पुरातात्विक हिसाबले कहिल्यै पनि मर्दैनन्, अजरअमर हुन्छन्।
एकपटक मर्नेहरूको नाम स्मृतिमा तत्काल मात्र आउँछ भने धेरैपटक मर्नेको नाम केही समय चर्चामा आउँछ र क्रमशः बिलाउँदै जान्छ। तर जो कीर्तिमान छन्, जसको कृति कौयन् पुस्ता र युगयुगसम्म रहिरहन्छ, तिनीहरूका नाम बाँच्नेको मनमा सधैं रहन्छ। यी तीन किसिमका मृत्युमा घिमिरेको मृत्यु शाश्वत मृत्यु हो। पुस्ता र युगले सधैं सम्झिरहने मृत्यु हो। नेपाली साहित्यका फाँटमा लेखक र कविहरू धेरै छन्। तीमध्ये केहीका लेखनमा अप्रतिम लेखन शक्ति र विशेषता छन्। घिमिरे ती अप्रतिम लेखकमध्येमा पर्ने विशिष्ट नाम हो। कवितामा लय, अर्थ, छन्द, अनुप्रास र हृदयस्पर्शिता हुनुपर्छ। यी गुण भएपछि नै कविता बन्दछ भनेर कविता परिभाषित गर्ने र कवितालाई साहित्यको सारथि बनाउने बेजोड इतिहास घिमिरेले बनाएर गएका छन्। यसको अनुपम उदाहरण उनले गौरीमा स्थापित गरेका छन् –
जो माया पहिले बस्यो हृदयमा बिर्सेर बिर्सिन्न त्यो
साहित्यभित्रको रसास्वादन गर्न घिमिरेको उल्लिखित पंक्ति नै पर्याप्त हुन्छ। ‘पूmलको थुंगा बगेर गयो गंगाको पानीमा’, गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ आजभोलि देख्दिनँ म तिनी कता गइन्। राति त्यतै सिरानी होस् तिनी जता गइन्’ जस्ता अनगिन्ती कालजयी, देशजयी, र विश्वजयी’ लेखनका माध्यमबाट घिमिरेले साहित्य सेवा, समाज सेवा र कविताको सेवा गरेका छन्। विश्वलाई सुरक्षित बनाउने चिन्ता र चिन्तन उनै कविमा थियो । शेक्सपियर, वड्र्सवर्थ, शेली, किट्स्जस्ता कवि पनि मीठो कविता लेख्थे। लयात्मक रूपमा समाजलाई सन्देश र भाषिक परिष्कार दिन्थे, तर घिमिरेले तीभन्दा एक कदम माथि उठेर साहित्यमार्फत आणविक विश्वलाई शान्ति–वाटिका बनाउनुपर्ने धारणा आफ्ना कृतिमा दिएर गएका छन्। कवि घिमिरे सहयोगी मन र उदार सोच भएका व्यावहारिक व्यक्तित्व पनि थिए। पंक्तिकारसँग उनको सम्बन्ध यस अर्थमा पनि अविस्मरणीय रहेको छ। घटना २०३६ साल जेठतिरको हो। पंक्तिकार आचार्य (सर्वदर्शन) र एमए (अर्थशास्त्र) को अन्तिम परीक्षा दिएर कामको खोजीमा थिए। त्यसबेला पनि योग्यताअनुसार काम पाउन सर्वसाधारणलाई सजिलो थिएन। क्षमता र हैसियत भएका जति थिए, अवसर त्योभन्दा कम थियो। त्यसबेला घिमिरे तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा उपकुलपति थिए। पंक्तिकार उनलाई भेट्न गए र पीएमार्फत एउटा कविता लेखेर भेट्न आएको सूचना पठाए। कवितामा भेट्ने अनुरोध पठाएको कुराले घिमिरेलाई कूतुहल र नौरो अनुभूति भएछ। शैक्षिक योग्यता, प्रतियोगितामा पाएका प्रमाणपत्र र केही दिनअगाडि अन्तरक्याम्पस वक्तृत्वकला प्रतियोगितामा प्रथम भएर स्वर्णपदक र नगद पुरस्कार पाएको घटनाले उनको सहयोगी हृदय र योग्यताको उपयोग र सम्मान गर्नुपर्छ भन्ने धारणालाई मलजल गरेछ। त्यसैले उनले त्यसको उपयोग गर्ने सोच बनाएछन्।
शब्दले मात्र राष्ट्रकविको सम्मान दिने नभएर उनका कृतिहरूको एकीकृत पुनः संस्करण/प्रकाशन र सकिसकेको भनिएको ऋतम्भरा महाकाव्यको खोजी गरी प्रकाशन गर्न लाग्नुपर्छ।
तत्कालीन कुलपति लैनसिंह बाङ्देलसँग सल्लाह गरेर भोलिपल्टदेखि नै अधिकृत स्तरको सेवामा नियुक्त दिने निर्णय गर्न निवेदन लेखाएका थिए। सायद त्यसैको प्रभाव र सिर्जनशीलता देखेर होला पंक्तिकारको ‘मभित्र अर्कै छ’ भन्ने छन्दप्रधान कविता संग्रहमा उनले कवितालाई मूल्यांकन गर्ने पूर्वीय पद्धति र पश्चिमी पद्धति प्रचलनमा भएको औँल्याएका छन्। पूर्वीय शैलीमा लेखिएका सबै कविता पुराना र पश्चिमी शैलीमा लेखिएका सबै आधुनिक भन्ने भ्रम चिर्नुपर्ने बताएका छन्। प्रकाशभन्दा पर आकाश हुन्छ र आकाश र ज्ञानभन्दा पनि पर कविको गति हुन्छ। कवितामा प्राचीनता भन्नु भुल्भुले मूलले आपूर प्राप्त गर्नु हो। मूलबाट निश्रित नदी आखिर त्यसै भूमिमा विलाउँछ। कविता वास्तविक कविता हो भने चिर–नवीन हुन्छ। चाहे ती पूर्वका हुन् वा पश्चिमका। पहिलेका हुन् वा अहिलेका। कविताको सही मूल्यांकन त कवितात्मक अनुभूतिमै हुन्छ। कवितात्मक अनुभूति सुषुप्तिको जस्तो हुन्छ। त्यहाँ काल, जाति, वर्ण, लिंग केही पनि हुँदैन, आनन्द मात्र हुन्छ। आनन्द सागरमा चोपलिएका मानवीय मूल्यहरूमा रस बस्छ। त्यसैको आलोकमा समाजले सुस्केरा हाल्छ, सास फेर्छ र पाठकलाई चेत भरिदिन्छ।
केही साहित्यकारहरू विद्रोही स्वभावका हुन्छन् तर माधव घिमिरेमा विद्रोही चेत थिएन भने पनि हुन्छ। साहित्यमा व्यक्त विद्रोही शब्दले तत्काल ताली र स्याबासी पाए पनि शाश्वतताका लागि शब्द, लय र अर्थपूर्ण संयोजनले नै काम गर्छ। ‘भंगेरा र भंगेरी कुरा गर्छन् कसरी’ जस्ता चेतना, सृजना र सरलताले भरिपूर्ण भएका कृति–लेखनले उनलाई यस कालखण्डका सर्वाधिक रुचाइएका स्रष्टाका रूपमा परिचय दिन्छ। उनका कविता पढ्ने भन्दा पनि मस्तिष्कमा सजाइने किसिमका छन्। छन्द कविताका पारखी र अनुयायी माधव घिमिरे वेछन्दका कविताको भने आलोचना गर्न पछि पर्दैनन्। बेछन्दका कवितामा पनि भाव हुन्छ, सरलता हुन्छ, शब्द हुन्छ भनेर कुरा गर्दाको एउटा अनौपचारिक भेटमा उनले ‘त्यसमा सुन्दरता हुन्छ, तर प्राण हुँदैन’ भनेको प्रसंग स्मरणीय लागेको छ। कवि माधव घिमिरेलाई राज्यसत्ताको गुणगान गाएको जस्ता राजनीतिक गन्ध मिसाएर आलोचना गर्नेहरू भेटिन्छन्, तर उनका कृतिमा साहित्यिक लघुता देखाएर आलोचना गर्नेहरू भेटिन्नन्। यस अर्थमा पनि उनी सच्चा कवि र साहित्यकार हुन्। कवि–हृदय पग्लने र बहने सन्दर्भमा यदाकदा देखिएका स्तुतिगान र राजनीतिका बाछिटा उनका सरल र मर्मस्पर्शी साहित्य सिर्जनाका भेलमा हराउँछन्। दोष र कमजोरी नभएको मानिस ईश्वरीय सृष्टिमा अरू एक जना मात्र भइदिएका भए उनलाई लागेको बाछिटे दोष अलि बढी चम्किन्थ्यो होला तर त्यो सम्भव नहुने भएकाले ‘नीर–क्षीरमिवाम्वुवत्’ को सिद्धान्तले माधव घिमिरेलाई हेर्दा उनी सच्चा कवि र मात्र सच्चा साहित्यकार हुन्। शब्दले मात्र राष्ट्रकविको सम्मान दिने नभएर
उनका कृतिहरूको एकीकृत पुनः संस्करण/प्रकाशन र सकिसकेको भनिएको ऋतम्भरा महाकाव्यको खोजी गरी प्रकाशन गर्न लाग्नुपर्छ। त्यसबाहेक पनि उनका कृतिलाई अरू भाषामा अनुवादसमेत गराएर नेपाली साहित्यको उत्कृष्टता विश्वसमक्ष लैजानुपर्छ। व्यक्तित्व र कृतित्वको मूल्यांकनभित्र कृतिको संरक्षण र प्रवद्र्धन पनि पर्छ।
- [email protected]