ट्यांकर र पानीको जार बोकेको गाडी जुध्दा एकको मृत्यु, ३ घाइते
भक्तपुर : अरनिको राजमार्गको भक्तपुरस्थित सूर्यविनायक नगरपालिका ९ नंखेलको बाँसघारीमा तेल बोकेको ट्यांकर र पानीको जार बोकेको गाडी जुध्दा एकको मृत्यु भएको छ।
त्यस्तै अरु तीनजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार भक्तपुरको जगातीबाट काभ्रेको साँगातर्फ जाँदै गरेको बा ३ ख ५३२२ नम्बरको तेल बोकेको ट्याङ्कर र विपरीत दिशाबाट आइरहेको बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको गाडी एकापसमा ठोक्किइएको थियो।
उक्त दुर्घटनामा परी हात्ती गाडीका चालक झापाको अर्जुनधारा नपा २ बस्ने २६ वर्षीय मिलन मगरको मृत्यु परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
उनका अनुसार गाडीका सहचालक मोरङको अमरदह गाउँपालिका ८ घर भई हाल काठमाडौं जोरपाटी बस्ने १५ वर्षीय विवेक राजवंशी घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
त्यस्तै हात्ती गाडीमा सवार काभ्रेको साँगा घर भएकी २२ वर्षीया सृजना तामाङ र उनका १९ महिने छोरा मेडिज तामाङ घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
उनका अनुसार सडक दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले घाइते सबैलाई उद्धार गरी भक्तपुर नपा १ सल्लाघारीस्थित डा.इवामुरा मेमोरियल अस्पताल पुर्याएको थियो। अस्पतालमा उपचार हुँदाहुँदै हात्तीगाडीका चालक मगरलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
उनका अनुसार दुर्घटनापश्चात तेल बोकेको ट्यांकरका चालक फरार छन्। फरार चालकको खोजतलास जारी रहेको भक्तपुर प्रहरीले जनाएको छ। उक्त ट्यांकर सडकबाट धान खेतमा पल्टिएको छ। ट्यांकरको ठक्करले गाडीको अगाडिपट्टि चालक बस्ने भाग नराम्ररी कुच्चिएको छ।
दुर्घटना भएको दुइटै सवारीसाधन महानगरीय प्रहरी वृत्त जगाती ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ।
तेल बोकेको ट्यांकरको ठक्करले कुच्चिएको गाडी। तस्बिर : अन्नपूर्ण