भक्तपुरमा पहिलोपटक मृत्युपछि कोरोना पुष्टि, मृतकको संख्या ४ पुग्यो
भक्तपुर : भक्तपुरमा पहिलोपटक मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमि नगरपालिका ३ गट्ठाघर निवासी ६४ वर्षीया महिलामा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
घरमै बेहोस भएपछि उनलाई बिहीबार तत्काल उपचारको लागि मध्यपुर थिमि नपा ३ गट्ठाघरस्थित नागरिक अस्पताल लगिएको थियो । तर अस्पताल ल्याइपुर्याउँदा नै ती महिलाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
अस्पताल पुर्याइदा नै मृत्यु भएकाले घरपरिवारसँग बुझ्दा उनमा कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण पाइएको र सोहीअनुसार परीक्षण गराउँदा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका नायब मेडिकल निर्देशक डा.अशोक राईले जानकारी दिए ।
उनका अनुसार घरपरिवारले जानकारी दिएअनुसार महिलालाई एक दुई दिनदेखि श्वास फेर्न गाह्रो भइरहेको थियो । खोकी पनि थियो । त्यस्तै ५/६ दिनदेखि केही नखाएको समेत घरपरिवारले जानकारी दिएको डा. राईले बताए ।
'अस्पताल पुग्दा नै मृत्यु भइसकेकाले हामीले बिरामीको हिस्ट्री सोध्दा कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण पायौं, उनले भने, 'त्यसैले शंका लागेर कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पनि पोजिटिभ आयो ।'
घरपरिवारले जानकारी दिएअनुसार ती महिला दम र उच्च रक्तचापका बिरामी रहेको डा. राईले जानकारी दिए ।मृतक महिलामा कोरोना भाइरस पुष्टि भएपछि उनको सम्पर्कमा आएका अस्पतालको आकस्मिक कक्ष र बहिरंग सेवाका चिकित्सक र नर्स गरी पाँचजना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेको नायब मेडिकल निर्देशक डा. राईले जानकारी दिए ।
त्यस्तै अस्पतालको आकस्मिक र बहिरंग सेवा हाललाई बन्द गरिएको अस्पतालका सञ्चालक निर्देशक जीतेन्द्र श्रेष्ठले जानकारी दिए । उनले अस्पताल निर्मलीकरण गरेर मात्रै बन्द भएका सेवा सूचारु गरिने स्पष्ट पारे ।
मृतक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको घरपरिवारका पाँचजना सदस्यको पनि कोरोना भाइरस परीक्षणको लागि स्वाब संकलन गरिएको मध्यपुर थिमि नपा ३ का वडा अध्यक्ष प्रेम कुटुले जानकारी दिए ।
उनले मृतक महिलाको शव व्यवस्थापन गर्न भक्तपुरको सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गणले काठमाडौंको पशुपतिस्थित विद्युतीय शव दाहगृह लगेको बताए ।
यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि सूर्यविनायक नपाका दुई महिला र एक पुरुष गरी ३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।
सूर्यविनायक नपा १ की ६१ वर्षीया महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । सूर्यविनायक नपा ८ का ७३ वर्षीय संक्रमित पुरुषको काठमाडौंको मेडिकेयर अस्पतालमा र ५३ वर्षीया महिलाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । बिहीबारसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।