ठिमी वृत्तका दुई कैदीबन्दीमा कोरोना संक्रमण
भक्तपुर : महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको हिरासतमा रहेका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा ठिमी वृत्तको प्रहरी हिरासतमा रहेका दुईजनामा कोरोना संक्रमण भएको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित हितैषी सहकारीको करिब ३ करोड ९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका ७ जनामध्ये ३२ वर्ष र ३८ वर्षका दुई पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
२५ दिनदेखि प्रहरी हिरासतमा रहेका उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रहरीसमेत अचम्भित भएका छन् । 'उहाँहरु विगत २५ दिनदेखि नै प्रहरीको हिरासतमा रहेका छन्,' वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक कँडेलले भने, 'ट्राभल हिस्ट्री नभएका उनीहरुलाई कहाँबाट संक्रमण भयो भन्ने अनुसन्धान गरिरहेका छौं ।'
यसअघि वृत्तकै ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै वृत्तसँगै समुदायका ३ जनामा पनि कोरोना भाइरस संक्रमण भएको थियो । स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेका भक्तपुर ४१ जना संक्रमितमध्ये उनीहरु दुईजना पनि हुने । उक्त ठगी मुद्दामा ६ जना पुरुष र १ जना महिला गरी सात जना ठिमी वृत्तको प्रहरी हिरासतमा रहेका छन् ।
उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा पेस गर्न कोरोना भाइरस परीक्षण गर्दा दुईजनाको रिपोर्ट पोजेटीभ आएको वृत्तले जनाएको छ । उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला अदालत भक्तपुरले अभियोगपत्र फिर्ता गरेको छ ।
जिल्ला अदालत भक्तपुरका सूचना अधिकारी विमल पराजुलीले दुई जना प्रतिवादीमा कोरोना भाइरस संक्रमण देखिएकाले सरकारी वकिलको कार्यालयमा अभियोगपत्र फिर्ता गरिएको जानकारी दिए ।
उनका अनुसार प्रतिवादीमध्येका दुई जनामा कोरोना पोजेटिभ देखिएको भन्ने रिर्पोट मिसिल संग्लन रहेको देखिएकाले निजहरुको आवश्यक स्वास्थ्य मापदण्डअनुसार उपचार गरी पूर्ण स्वास्थ्य भएपछि मात्रै अदालतमा पेस गर्न पत्र लेखिएको छ ।उक्त पत्रमा उनीहरुसँगै रहेका अन्यको समेत स्वास्थ्य परीक्षण गरेरमात्र अदालतमा पेस गर्न उल्लेख गरिएको छ ।