सुरक्षाका हातमा असुरक्षा
चितवनको राप्ती नगरपालिका– २, मिलनटोलका २४ वर्षीय राजकुमार चेपाङलाई चितवन राष्ट्रिय निकुञ्जबाट खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर निर्मम तरिकाले कुटपिट गर्दा उपचारका क्रममा उनको मृत्यु भयो। चितवनकै माडी नगरपालिका– ९, कुसुम खोला जंगलमा बसोबास गर्दै आएका चेपाङ बस्तीमा निकुञ्जबाट खटिएका सुरक्षाकर्मीको टोलीले बस्तीमा आगजनी गरेर उठिबास पारे। धनुषाको सबैला नगरपालिका– १२, भरकुरुवाका २३ वर्षीय शम्भु सदा प्रहरी हिरासतमा मारिए।
साउन १ गते राजकुमार चेपाङसहित दुई महिला र तीन पुरुष घुँगी टिप्न र माछा मार्न निकुञ्जमा छिरेका थिए। निकुञ्जको सुरक्षार्थ खटिएका सैनिक टोलीले पाँचैजनालाई कुटपिट गरेका थिए। तर, राजकुमारको स्वास्थ्य अवस्था बिग्रेपछि थप उपचारका लागि ७ साउनमा उनलाई भरतपुर अस्पताल ल्याएका थिए। उपचारका क्रममा राजकुमार चेपाङको मृत्यु भयो। शव परीक्षणका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगे। परिवारले शव लिन मानेको थिएन। चौतर्फी आलोचना र दबाबपछि सरकारले कुटपिट गर्ने सैनिकलाई कानुनी कारबाही र पीडित परिवारको भरणपोषणका लागि १० लाख रुपैयाँ दिनेलगायतका सहमति भएपछि परिवारले लास बुझेर चेपाङ जातिको गड्यौली संस्कारअनुसार अन्त्येष्टि गरे।
साउन ३ गते कुसुम खोलाको जंगलमा २५ वर्षदेखि बसोबास गर्दै आएका चेपाङ बस्तीमा निकुञ्जका अधिकारीले सुरक्षाकर्मी र हात्तीको टोली लिएर पुगे। चेपाङ बस्तीमा पूर्वसूचना र वैकल्पिक व्यवस्थाबिना आगजनी गरेर उठिबास पारे। हात्ती लगाएर खेतको बालीनालीसमेत नष्ट पारे। पीडित विरु चेपाङ भन्छन्– घरमा आगो लगाएपछि घरभित्र रहेका खाद्यान्न, नगद र नागरिकतालगायतका सरसामानसमेत जले। वाडा अध्यक्ष शिवहरि सुवेदी भन्छन्, ०५२ सालदेखि चेपाङहरू कुसुम खोलाको जंगलमा बसोबास गर्दै आएका छन्। दुई सय घर चेपाङहरू थिए। सबैको व्यवस्थापन भइसकेको छ। १० घरको व्यवस्थापन गर्न मात्र बाँकी थियो। हामीलाई थाहै नभई घटना भएको छ। उहाँहरूकै व्यवस्थापनमा जुटेको छु, उनले थपे।
प्रहरी हिरासतमा मारिएका शम्भु सदा ट्र्याक्टर चालक थिए। नौ महिनादेखि मासिक १६ हजार रुपैयाँमा सञ्जय साहको ट्र्याक्टर चलाउँदै आएका थिए। शम्भुले काम गरेको तलब र उनको लाइसेन्स पनि परिवारले फिर्ता पाएको छैन। १२ गते साँझ गोविन्द साहकी पत्नी ५० वर्षीया सुमित्रा साहको ठक्करबाट मृत्यु भएको थियो। ट्र्याक्टरको ठक्करबाट मृत्यु भएपछि उनी जेठ १२ मै आफ्नो चालक लाइसेन्स लिएर प्रहरी चौकीमा हाजिर भए। त्यसपछि प्रहरीले शम्भुलाई थुनामा राखे। थुनामा प्रहरीले प्रत्येक दिन अमानवीय यातना दिइरहेका थिए। शम्भुलाई थुनामा भेट्न आमा सियालीदेवी पटकपटक जान्थिन्, तर प्रहरीले छोरासँग भेट्न दिँदैनथे।
शम्भुको १७ दिन थुनामा बसाइका क्रममा प्रहरीसँग सियालीले धेरैपटक अनुनयविनय गरेपछि उनले चारपटकसम्म छोरासँग भेट्न पाएकी थिइन्। त्यो भेटका क्रममा शम्भुले प्रहरीको डरले आमालाई धेरै कुरा बताउन चाहँदैन्थे। आमाले केही कुरा सोधियो कि उनी आँसु मात्र बगाउँथे। शम्भुले आमासँगको अन्तिम भेटमा भनेका थिए– माई हमरा जल्दिसे पैसा तिरके थुनासे निकाल, नईतें पुलिस सब महरा माइर देतौ।’ ( आमा, मलाई पैसा तिरेर चाँडै थुनाबाट निकाल्नुस्, नत्र प्रहरीले मलाई मार्छ)। यो कुरा सियालीले सम्झेपछि उनका आँखाबाट आँसुका अ श्रुधारा बग्न थाल्छन्। जेठ २७ गते दुई बजे राति ट्र्याक्टर मालिक सञ्जय साह एकजना प्रहरीसँग शम्भुका घरमा पुगेका थिए। थुनामा शम्भु धेरै रोएकाले राति नै जान आग्रह गरेपछि सियालीदेवी सात महिनाकी नातिनी काखमा बोकेर बुहारीसँगै प्रहरी चौकी पुगे। त्यतिबेला बिहानको ३÷४ बजिसकेको थियो। प्रहरी चौकी पुगेपछि सियालीलाई थुनाछेउमा रहेको ट्वाइलेटतिर लगे। ट्वाइलेटमा शम्भु झुन्डिएको दृश्य देखेपछि सासू–बुहारी मुर्छित भए। सियालीदेवी भन्छिन्, ‘त्यसपछि हामीलाई केही थाहा भएन। काखमा बोकेकी सात महिनाकी नातिनी कहाँ उछिटिए त्यो पनि थाहा भएन।’
शम्भुको बुबा श्याम सदा घरमा थिएनन्। उनी मजदुरी गर्न भारतको मद्रासमा थिए। घटनाको खबर पाएपछि घर फर्केका थिए। सियालीले ट्र्याक्टर मालिकलाई दुर्घटनाको पैसा तिरेर शम्भुलाई छुटाएर ल्याउन पटकपटक आग्रह गरेका थिए। ट्र्याक्टर मालिक सञ्जय साहले तिम्रो छोरा छुटाउन आठ लाख तिरेको छु, छिटै छुटाएर ल्याउँछु, धेरै होहल्ला नगर भन्थे। सियाली छोरा शम्भुलाई भेट्न थुनामा पुग्दा प्रहरीले छोरालाई छुटाउन कति पैसा खर्च गरेको भन्थे रे। म त गरिब सुकुम्बासी छु। यति धेरै पैसा कसरी तिर्नु ? ट्र्याक्टर मालिकले तिर्छु भनेको छ। तर, ट्र्याक्टर मालिकले तिर्यो कि तिरेन थाहा छैन। दलित मुसहरको छोरो हो जसरी गाडीले मान्छे मारे त्यसरी नै मुसहरलाई थुनामै कुटीकुटी मार्नुपर्छ। हमर बेटाके साँझमे पुलिससब दारुपिके बहुत मारपिट करै छेलै। माइरपिटके ओजहसे मैर गेलै त ट्वाइलेटमे जाके लटका देलकै।’ ( साँझतिर प्रहरीहरू रक्सी खाएर आउँथे। छोरालाई सधैं कुटपिट गर्थे। कुटाइबाट मृत्यु भएपछि ट्वाइलेटमा गएर झुन्डिएको हो’, सियालीले थपिन्।
नागरिककै करबाट मुलुकको तीन तहको सुरक्षा निकाय पालिएको छ। तर, तीनै सुरक्षा निकायको नागरिकप्रति जिम्मेवारी छैन।
लकडाउनको अवधिमा राज्यको सुरक्षा निकायबाट भएका यी प्रतिनिधिमूलक घटना मात्र हुन्। यसअघि विभिन्न कालखण्ड र समयमा यस्ता थुप्रै घटना राज्यको सुरक्षा निकायबाटै भएका छन्। जुन घटना सम्झँदा अहिले पनि हृदयविदारक लाग्छ। कोरोना महामारीको समयमा चितवन र धनुषाका तीनवटा हृदयविदारक घटनाले नेपालको सुरक्षा निकायमाथि ठूलो प्रश्नचिह्न खडा भएको छ। लोकतन्त्र र मानवअधिकारप्रति खिल्ली उडेको छ। मान्छे मार्ने अनि मरि त हाले, अब फर्केर आउँदैन भनेर गल्ती महसुस गर्ने, मान्छेको जीवनलाई सामान्यकरण गर्ने, मृत्युमाथि राजनीति गर्ने, पैसा र पावरमा निर्धनहरूको लास र न्याय किनबेच हुने प्रवृत्ति बढेको छ। यसबाट आपराधिक मनोबल बढ्दै गएको छ। त्यसैले यसखाले घटना दिनानुदिन बढ्दै गएको छ। मुलुकको समग्र सुरक्षाको जिम्मेवारी हातमा लिएर ड्युटीमा बसेका राज्यको सुरक्षा निकायबाटै नागरिकले समेत असुरक्षाको महसुस हुनु र भोग्नु दुर्भाग्यपूर्ण छ।
नागरिककै करबाट मुलुकको तीन तहको सुरक्षा निकाय पालिएको छ। तर, तीनै सुरक्षा निकायको नागरिकप्रति जिम्मेवारी छैन। आफ्नो निजी स्वार्थका खातिर नागरिकको भविष्यमाथि खेलबाड गर्छन्। शासकहरूको चाकरी र चाप्लुसी गर्छन्। देश र जनताको सेवामा आफ्नो पद र फुलीको सदुपयोग गर्नुभन्दा शासकहरूका सेवामा रनभुल्ल हुँदा नागरिकको न्यायको गरिमामाथि प्रश्नचिह्न खडा भएको छ।
राज्यको जेलनेल, हिरासत र प्रशासनिक घेरा भनेको सुधार गृह वा पाठशाला हो। तर, त्यही पाठशालामा दिनानुदिन नागरिकको मृत्यु, हत्या र बलात्कारका घटना सुनिनुपर्दा देशको सुरक्षा निकायमाथि अविश्वास बढ्दै गएको छ। सुरक्षा निकायले ‘प्रहरी मेरो साथी’ लगायतका यस्ता थुप्रै नागरिकको मन र भावना तान्ने गरी कार्यक्रम सञ्चालन गरे। तर, ती सबै नारा राजनीतिक दलको नाराजस्तै सीमित हुन पुगे। यसबाट जनता कसलाई विश्वासमा लिने भने दोधार छन् ? प्रहरी हिरासत र कारागारमा पनि ठूलाठूला आपराधिक क्रियाकलाप हुन्छ र सञ्चालन गरिन्छ। सुरक्षा घेरामै मान्छे मार्ने र मर्ने क्रम रोकिएको छैन्। तीन वर्ष जेल जीवन बिताएर आएका अरुण साह भन्छन्, ‘कारागारको एउटा नायक बन्ने लाखौंको चलखेल हुन्छ। कारागारभित्र पनि पहुँचका आधारमा व्यवहार हुन्छ। सोहीअनुसारको सुविधा भेट्छ। त्यहाँ पनि वर्ग विभेद छ। कारागारजस्तो छैन कारागार।’
एउटा सामान्य मुद्दामा प्रहरीले पद र पैसाका लागि यति ठूलो झूटो प्रतिवेदन तयार पार्छन् कि एउटा सामान्य नागरिकलाई जीवनभर हम्मेहम्मे पर्छ। कानुन व्यवसायी कमल यादव भन्छन्, ‘संविधान र कानुनका घेराहरू अझै पनि जटिल छन्। पुरातन खालको छ। दोहोरो चरित्रको छ। प्रहरीलाई कानुनी अधिकार दिएपछि र राज्यको कानुन विखण्डित रूपमा प्रयोग गर्न दिएपछि सर्वसाधारण नागरिकको जीवन बाँच्न कुनैबेला निकै समस्या पर्छ। जसले गर्दा कैदीहरू आत्महत्यासमेत गर्न पुग्छन्।’
प्रशासनिक क्रियाकलाप हेर्दा कुनै बेला राज्यका तीन तहको सुरक्षाकर्मीको कुनै आवश्यकताको महसुस हुँदैन। राज्यले सबै नागरिकलाई सुरक्षा तालिम र कानुनी ज्ञानबाट सुसज्जित पार्नुपर्छ। कि त राज्यले नागरिकको सुरक्षाको व्यावहारिक प्रत्याभूति गराउनुपर्छ। यसमा अन्तरविरोध देखिँदै आएको छ। यसले मुलुक बनाउँदैन, व्यक्ति बनाउन सक्छ। यसखाले सुरक्षा व्यवस्थाभित्र एउटा व्यक्तिले सुरक्षा लिन सक्छ, तर समग्र नागरिकले सुरक्षा लिन सक्दैन। त्यसैले राज्यको सुरक्षा घेराभित्र कुनै पनि बहानामा मान्छेलाई यातना दिने र मार्ने काम गर्नु हुँदैन। अनाहकमा मान्छेलाई फसाउने र उम्काउने काम पनि गर्नु हँुदैन। आत्मसमानका साथ मान्छेलाई मान्छे भएर बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्नुपर्छ। पशुतुल्य व्यवहार बन्द गर्नुपर्छ। राज्यको सुरक्षा निकायबाट मारिएका राजकुमार चेपाङ र शम्भु सदाहरू फेरि पनि मारिनु र मर्नु हुँदैन भनेर ठोस प्रतिबद्धता जाहेर गर्नुपर्छ।