अबैध काठसहित दुई जना पक्राउ
बर्दिबास : महोत्तरीको बर्दिबासको दुई फर्निचर उद्योगमा डिभिजन वन कार्यालयले छापा मारेर काठसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिबास-१ का सोमबहादुर बलम्पाकी र भिमबहादुर पूर्वछाने रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए।
बर्दिबास नगरपालिका-१ र ३ नम्बर वडाको दुई फर्निचर उद्योगमा वन कार्यालयले छापा मारेर तयारी झ्याल, डोकाको चोक्स र चिराना गरिएको सालको काठसहित ५८ क्वीफिट काठ बरामद गरिएको हो। बर्दिबास नगरपालिका-१ स्थित गोपाल फर्निचरमा वनका कर्मचारीले तयारी झ्याल तथा डोका किन्ने भन्दै ग्राहकको भेषमा पुगेका थिए। त्यसपछि त्यहाँबाट दुई जनालाई २७ क्वी काठ र काठ चिर्ने मेसिन सहित दुई जनालाई पक्राउ गरिएको थियो।
त्यस लगतै बर्दिबास-३ गौरीडाँडास्थित पिपल बोटेको फर्निचर उद्योगमा गोप्य सूचनाको आधारमा वन सुरक्षाकर्मी टोलीले छापा मारेका थिए। वनको टोलीलाई देखेपछि फर्निचर सञ्चालक रामजी रम्तेल र मिनबहादुर भुजेल फरार भएको वन कार्यालयले जनाएको छ। उनको फर्निचरबाट चिरानका काठ र तयारी झ्याल तथा डोकाको चोकटसहित ३१ क्वीफिट सालको काठ बरामद भएको छ। फरार भएका फर्निचर संचालक रम्तेल र भुजेलको खोजी कार्य भइरहेको छ।
लकडाउन खुलेसँगै सुस्ताएको अबैध काठ तस्करी तथा बिक्री वितरण बन्दाबन्दी फेरि बढेपछि तस्करी बढेको हो।