वामदेव गौतमको गीत ‘यो बुद्ध भूमी’ सार्वजनिक (भिडियो)
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको गीत ‘यो बुद्ध भूमी’ सार्वजनिक भएको छ। यसअघि दर्जनौ गीत सार्वजनिक गरेका गौतमले नयाँ गीत ‘बुद्ध भूमी’ सामाजिक सञ्चालबाट सार्वजनिक भएको हो।
गीतमा राष्ट्रभक्ति प्रस्तुत गरिएको छ। सार्वजनिक गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिको बारेमा वर्णन गरिएको छ। गाैतमका शब्दमा शम्भुजित बाँस्कोटाले संगीत भनेका छन् भने एरेन्जमा मनोहर सुनामको मेहनत रहेको छ।
गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन्। गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रिपाठी र अंजना गुरुङलगायतको स्वर रहेको छ। दीर्घ गुरुङले खिचेको गीतलाई जीवन थापाले सम्पादन गरेका छन्।
गीतकार गौतमले आफ्ना ४३ गीतलाई गीति संग्रह प्रकाशनमा समेत ल्याएका छन्। संग्रहमा सार्वजनिक भएका र सार्वजनिक हुन बाँकी सबै गीत समावेश गरिएको छ।
लोकतन्त्र आएपछि नयाँ राष्ट्रिय गीतको खोजी भएपछि गौतमले गीत लेख्न थालेका हुन्। उक्त समयमा गौतमले ‘प्राण प्यारो देश नेपाल’ बोलको गीत सिर्जना गरेका थिए। उक्त गीत छनोट भने भएको थिएन्।
विद्यालयस्तरदेखिनै गीत संगीत र कवितामा रुची राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पुरा भएको बताएका छन्। ‘छन्द कविता र गीति लेखन मेरो जीवनको प्रारम्भकालीन रुचीका विषय थिए’, गौतम भन्छन्, ‘विद्यालय जीवनदेखि नै म कविता प्रेमी हुँ।’