नवलपुरमा फलाम उत्पादन तयारी

नवलपुरमा फलाम उत्पादन तयारी

काठमाडौं : नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्ने तयारी द्रूत गतिमा अघि बढेको छ। सरकारले यसै वर्ष भण्डारण प्रमाणीकरण, सम्भाव्यता अध्ययनलगायत काम सक्ने तयारी गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरेले धौवादी फलाम खानीबाट फलामको उत्पादन गर्न सकिने प्रमाणित भएकाले उत्पादनको गृहकार्य दु्रत गतिमा अघि बढेको बताए। चीनको छेन्दुस्थित चाइना भूगर्भ सर्भे सेन्टरमा भइरहेको ‘मेटलोर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने परीक्षणको भिडियो र तस्बिर पठाएको छ। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण चीनमा भइरहेको परीक्षणको विस्तृत प्रतिवेदन आउन सकेको छैन।

धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णदेव झाले विस्तृत प्रतिवेदन आइ नसके पनि परीक्षण सफल भएकाले उत्पादन गर्न सकिने बताए। परीक्षणका लागि गत आर्थिक वर्षमा फलामको कच्चा पदार्थ चीन पठाइएको थियो।

सचिव घिमिरेले प्राविधिकले आर्थिक वर्ष २०८०/८१ बाट उत्पादन गर्न सकिने भने पनि त्यसअघि नै व्यावसायिक उत्पादन गर्न सकिने गरी काम भइरहेको बताए। ‘धौवादी हाम्रो उच्च प्राथमिकतामा परेकाले हामी अझै अगाडि ल्याउन खोजिरहेका छौं’, उनले भने। धौवादी फलाम खानीमा भौगर्भिक रूपमा सय मिलियन टन फलामको भण्डारण रहेको प्राविधिकहरू बताउँछन्।

दैनिक आठ सयदेखि १२ सय मेट्रिक टनसम्म फलाम उत्पादन गर्न सकिने देखिएको छ। आठ सय मेट्रिक टन उत्पादन गर्दा ५५ वर्ष पुग्ने कच्चा पदार्थको भण्डार छ। त्यस्तै दैनिक १२ सय मेट्रिक टन उत्पादन गर्दा पनि ३३ वर्षसम्म उत्पादन गर्न सकिन्छ। ‘प्राविधिक काम अझै धेरै गर्नुपर्ने भएकाले तत्कालै उत्पादन सम्भव छैन’, सचिव घिमिरेले भने, ‘उत्पादन सुरु हुनासाथ फलाम उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थ त्यहाँबाट उत्पादन गर्न सकिन्छ।’

अहिले फलाम तथा स्टिल उद्योगले कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ। धौवादीबाट राम्रै साइजमा फलाम उत्पादन हुने भएकाले आइरन तथा स्टिल उद्योगले बाहिरबाट कच्चा पदार्थ ल्याउनुपर्ने बाध्यता अन्त्य हुने सचिव घिमिरेले बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले चीनबाट विस्तृत प्रतिवेदन आएपछि मात्रै सम्भाव्यता अध्ययन र भण्डार प्रमाणीकरणको थप प्रक्रिया अघि बढ्ने बताए। ‘कारखाना कुन क्षमताको राख्ने, लगानी कति लाग्छ, सम्भाव्यता अध्ययनपश्चात मात्रै भन्न सकिन्छ’, उनले भने।

टेक्नोलोजी र भण्डार यकिन भएमा एक दिनमा कतिसम्म उत्पादन गर्ने र कति वर्षसम्म उत्पादन गर्न सकिन्छ भन्ने निचोडमा पुग्न सकिने उनको भनाइ छ। ‘यी सबै काम सकेपछि मेसिन ल्याउने, कारखाना राख्ने, जनशक्ति व्यवस्थापन गर्ने काम हुन्छ’, उनले भने।

सम्भाव्यता अध्ययनपछि वातावरणीय मूल्यांकन, जग्गा अधिग्रहण गर्नुका साथै पूर्वाधार निर्माणको काम गर्नुपर्ने हुन्छ। यो बिचमा खानीको उत्खनन प्रमाणीकरण सर्भे गनुपर्ने अधिकारीहरू बताउँछन्। ट्रायल परीक्षण गरेर व्यावसायिक उत्पादन सुरु हुन्छ।

खानी तथा भूगर्भ विभागले खनिज अन्वेषणका क्रममा नवलपुर जिल्लाको होप्सेकोट गाउँपालिकामा फलाम खानीको भण्डार भेटिएको थियो। फलाम खानी (हेमाटाई ब्यान्ड) हेर्न ५० मिटर ‘ट्रेन्च’ खनिएको छ। त्यस्तै एक सय पाँच मिटर ‘ड्रिलिङ’ भइसकेको छ।

ग्रिल व्यवसायी मोहन कटुवालले नेपालमै फलाम उत्पादन सुरु हुँदा धेरै सजिलो हुने बताए। अहिले फलाम भारत र चीनबाट आयात भइरहेको छ। डलरको भाउले फलाम आयात गर्न महँगो हुने, भन्नासाथ सामान नआउने, यातायातलगायत विविध समस्याले ल्याउन समस्या भोगिरहेका बेला नेपालमै उत्पादन भएमा राहत पुग्ने उनले बताए। भवन, डिपार्टमेन्टल स्टोर र पूर्वाधार विकासमा फलामको प्रयोग हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.