कोरोनाले कक्य्राएको मन
मनले कहिलेकाहीँ सुत्ने बेलामा कल्पना गर्छ— रातभरि कोरोना भाइरस (कोभिड-१९) सँग डाक्टरहरूको वार्ता होस्। भोलिपल्ट उज्यालो हुँदा उसका माग पूरा भएका होऊन्। भाइरसले घातक हतियार बिसाओस्। उसले मानिसलाई संक्रमित नबनाओस्। मान्छेको ज्यान लिन छाडोस्। आफ्नो थान्कोमा जाओस्।
मानिसहरू निर्धक्क हिँडडुल गर्न सकून्। सबै मानिसका सबै व्यवसाय निर्बाध चलून्। नानीहरूका स्वतन्त्र पाइला स्कुलतिर बढून्। संसारलाई सिँगारिहेका मजदुरहरू संसारभर विचरण गर्न सकून्। मानव जीवन पुनः जीवन्त बनोस्। सायद अरूको मनले पनि यस्तै कल्पना गर्दो हो। तर, यो कल्पना मात्रै हो। सारा विश्वकै मानव बस्तीमा ताण्डव नमच्चाई कोरोनाले छाड्लाजस्तो छैन। एकसरो गोडमेल सबैतिर गर्ला जस्तो छ। मान्छेको स्वतन्त्र स्वभावमा यसले नराम्रोसँग अंकुश लगाएको छ। पिँजरामा कुँज्याएर राखेको छ। मान्छेका सपनाहरू चकनाचुर बनाएको छ।
मन अझै केटाकेटी बन्छ— यो कोरोना हाम्रै समयमा किन आउनु परेको होला ! हामी बाँचेको समयभन्दा अघि आएको भए पनि हुन्थ्यो। हामी मरेपछि आएको भए पनि त हुन्थ्यो। यसले हामीलाई मात्रै तनाव दिनुपर्ने ! तर, त्यसो हैन रहेछ। यस्ता महामारी बेलाबेलामा आइरहँदा रहेछन्। एक सय दुई वर्षअघि स्पेनिस फ्लु (सन् १९१८-१९२०) ले पाँच करोड मानिसको ज्यान लिएको रहेछ। यस भयानक महामारीले ५० करोड मानिस संक्रमित भएका रहेछन्। चीन र भारतमा मात्रै एक करोडभन्दा बढी मानिसको मृत्यु भएको रहेछ। त्यसअघि चौधौं शताब्दीमा प्लेग महामारीले पाँच करोड मानिसलाई टिपेछ। ज्यान गुमाउनेमध्ये ६० प्रतिशत मानिस युरोपका रहेछन्। लाग्छ, कोरोना भाइरस प्लेग र स्पेनिस फ्लुकै बाटोमा अट्टहास लम्किरहेको छ।
कोरोना आतंकका बीच पूर्व क्षितिजमा आशाका किरणहरू पनि देखिएका छन्। डाक्टर र वैज्ञानिकहरू भ्याक्सिन आविष्कारको दौडमा निकै अगाडि पुगिसकेका छन्। ग्यामेलिया, अक्सफोर्ड, सेरम इन्स्टिच्युट, मोडर्ना, फाइजर जस्ता कम्पनी/विश्वविद्यालयहरू अन्तिम चरणका ट्रायलहरू पार गर्दैछन्। विज्ञहरूका अनुसार सन् २०२१ को सुरुआती महिनामा विकसित देशहरूले नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु गर्नेछन्। एक वर्षभित्र नेपालजस्ता अल्पविकसित देशहरूले पनि खोपमा पहुँच पाउने आशा गरिएको छ।
+++++
समय अत्यन्त अस्थिर र विचलित भएर बितिरहेको छ। केही न केही लेखिरहने कलम ठाउँको ठाउँ टक्क रोकिएको छ। दिमाग शून्य भएको छ। कोरोनाको दैनिक अभिलेख राख्ने र विज्ञका सुझाव सेयर गर्नेबाहेक दैनिकी लेख्ने पनि जाँगर छैन।
नेपाल र भारतमा बन्दाबन्दीका सुरुआती दिनले झनै बेचैन बनाए। मजदुरहरूको कन्तबिजोग। यता हेर्यो मजदुरकै ताँती, उता हेर्यो मजदुरकै लस्कर। यसले सबैभन्दा बढी हुर्मत मजदुरकै लियो। सहर सजाउन गएको मजदुर आँसुका बलिन्द्र धारा बगाउँदै पैतालामा फोका उठाएर कुद्यो। थकित श्रीमतीलाई श्रीमान्ले काँधमा बोक्यो। टन्टलापुर घाममा रोगी श्रीमान्लाई श्रीमतीले डोर्याई। तिनका लालाबालाको अबोध र आतंकित अनुहारले कसलाई द्रवित बनाएन होला !
दसैंभन्दा पनि गुल्जार भएको गाउँ फेरि सुनसान भयो। फर्किए सबै। न स्कुल खुलेको छ, न बजार चलेको छ, न गाडी नै गुडेको छ। किन कुदाकुद होला ! सरकारी-गैरसरकारी कार्यालयका कर्मचारी फर्कनु बाध्यता हो। व्यवसायमा लगानी फसेकाहरू फर्कनु पनि स्वाभाविक हो। तर सहरमा महिनाको मुस्किलले १० हजार कमाउने पनि गाउँमा बसेनन्। सहरमा भोकभोकै मरिन्छ भनेर रातारात गाउँ आएकाहरू फेरि रातारात सहर नै पसे।
कलकत्तादेखि दिल्ली हिँडेरै पुग्यो मजदुर। दिल्लीदेखि रक्सौल हिँडेरै आयो। मेची-महाकाली पनि छिचोल्यो मजदुरले। ‘यो चरीको काँ छ र घर, रातको काट्यो डालीमा बसेर।’ जंगलमा बस्यो। ओढारमा बस्यो। बाटोमै सुत्यो। रेलको लिकमै लम्पसार पर्यो। आफैँले ओछ्याएको लिकमा रेलले किचेर पनि मर्यो मजदुर। संसार जति नै सिँगारे/सिँगारिए पनि मजदुरको कोही रहेनछ।
खुल्ला आकाशमुनि भोकै सँगै सुतेका आमा र दुई वर्षे नानी। बिहान नानीले आमालाई झक्झक्याएर पछ्यौरा तान्दा आमाले सदाका लागि सास फेर्न छाडेको दृश्य कसरी हेरिरहनु ! विश्वमा नदेखिएका कस्ताकस्ता दारुण दृश्यहरू देखिए होलान् ! भोगिए होलान् ! यी करुण कथाहरू पक्कै लेखिएलान्। बाँच्नेहरूले लेख्लान्। बाँच्नेहरूले नै पढ्लान्।
+++++
मानिसको चेतना र औकात राम्रै गरी देखियो। युरोप-अमेरिका-अस्ट्रेलियातिर कोरोना ग्राफ माथि चढ्दा त्यहाँ पुगेका नेपालीलाई ‘ठूलो भाग खोज्न गएको थिइस्, खाइस् !’ भनेर फेसबुकतिर खुच्चिङ पनि मच्चाए। धारेहातले गाली गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तोराप गरे। नेपालीले फेसबुकमा ट्रम्पलाई गाली गर्नुको के अर्थ ! अमेरिकामा कोभिडका कारण धेरै मानिस मरेको देखेर अमेरिकी शासनसत्ता र पुँजीवादी अर्थव्यवस्थालाई पनि गाली गरे। अमेरिकामा मात्रै मान्छे मर्ने हुन्, नेपालीलाई केही हुँदैन झैँ गरे। अमेरिका स्वास्थ्य व्यवस्थामा कमजोर र नेपाल बलियो हो ? अमेरिका र युरोपका मानिस स्वास्थ्यप्रति कम सचेत र नेपाली चैं बढी सचेत हुन् ? यी गाली र छेडखानीमा कुनै तुक छैन/थिएन। तिनले यो वैश्विक महामारी नेपाल पनि आइपुग्छ भनेर सोचेनन्। आजको खुला विश्वमा जो जहाँ पनि जान र गएर अध्ययन एवं व्यवसाय गर्न सक्छ भन्ने कुरा पनि भुले।
महामारीविरुद्ध विश्व लडिरहेको छ। ब्राजिलमा संक्रमण बढ्दा हाम्रो मन दुख्नुपर्छ, हामी सचेत हुनुपर्छ। अफ्रिकामा कोरोना ग्राफ उकालो लाग्दा हाम्रैमा संक्रमण बढेको सोच्नुपर्छ। कोभिड विश्वको कुनै एक कुनाको संक्रामक रोग रहेन। चीन र दक्षिण कोरियामा कोरोना फर्किएको सुन्दा हामी झसंग हुन्छौं। न्युजिल्यान्ड र ताइवानमा कोरोनाको केस शून्य हुँदा हामीलाई खुसी लाग्छ। लाग्नुपर्छ।
यो बेला संसारकै मानिस रोग, भोक र शोकले आक्रान्त छन्। विश्वका सबै देशका मानिस सबै देशमा स्थायी/अस्थायी रूपमा बसोबास गरिरहेका छन्। विद्यार्थी पढ्न गएका छन्। श्रमिक श्रम गर्न गएका छन्। व्यापारी व्यापार गर्न गएका छन्। आफन्त र इष्टमित्र टाढाको देशमा पुगेका छन्। तिनका आफन्तको मन यो बेला कत्ति पोलेको होला ! बाध्यताले (वा रहरैले) परदेश जानेहरूप्रति हामी किन यतिविधि कृतघ्न !
+++++
बन्दाबन्दीको घोषणापछि मानिस लालाबाला डोर्याउँदै र झिटीझाम्टा बोकेर गाउँ फर्कन थाले। दसैंमा घर नआएकाहरू पनि पुर्ख्यौली थलो फर्किए। एक तिहाइ काठमाडौं रित्तियो सायद। ‘गाउँमा एउटा छाप्रो नै भए पनि घर चाहिने रहेछ’ भनेर घर नभएकाहरू माइत/मावल/ससुरालीमा बसे। अघिपछि आधा माना चामलले छाक टर्ने दुई बूढाबूढी मात्रै बसेको घरमा १५/२० जना पनि भित्रिए। आज आज, भोलि भोलि भन्दाभन्दै भकारीको धान सकियो। ट्वाकलमा झुत्त्याएको मकै सकियो। बोराको गहुँ र कोदो पनि सकियो। पसलबाट चामलका बोरा बोक्दाकै हैरान।
गाउँमा मानिस बेपर्वाह हिँडेका छन्। मन्दिरमा जात्रा छ। जुवाको खालमा भीड छ। भोजभतेर चलेकै छ। बसमा ठेलमठेल छ। न मास्क छ न दूरी। सडकमा आन्दोलन छ। अनशन छ। चित्त नबुझेका कुरा सरकारकै ढोकाभित्र छिरेर गर्दा भइहाल्छ नि ! विश्वमा यस्तै आन्दोलन, भीडभाड र जमघटले कोरोना उकालो लागेको कुरा आन्दोलन, सभा, जुलुस गर्नेहरूले नबुझेका पक्कै होइन होलान्। टेलिभिजनका स्क्रिनमा ‘ठूलाहरू’को गतिछाडा क्रियाकलाप देखेपछि जनताले तिनकै सिको गर्ने नै भए।
कोही फेसबुके समाजसेवी बने। एक बट्टा स्यानिटाइजर र एक दर्जन लाइफब्वाय साबुन बाँडेर फेसबुकमा टाँसिएका फोटालाई अनलाइनहरूले समाचारै बनाइदिए। नयाँ नयाँ समाजसेवीहरूको असली/नक्कली रूप यै बन्दाबन्दीमा देख्न पाइयो। स्थानीय सरकारहरू एक एकवटा मास्क र एउटै डल्लो साबुन बोकेर भोटको पैंचो तिर्न कुदे।
सहरबाट आएका ठिटाठिटीहरू चुर्ना परेझैँ कुदाकुद गर्न थाले। कोरोना भाइरस के हो, कसरी सर्छ, कसरी बच्ने भनेर घरका बूढाबूढी बाआमालाई सिकाउनु त कता हो कता, हुल बाँधेर ठिटाहरू दिनभरि भकुण्डो हान्न थाले। बिहान ९ बजेसम्म ओछ्यानमा। उठेर भात। त्यसपछि गाउँ डुलाइ। अनि झुण्ड झुण्डमा भकुण्डोको भकुण्ड्याइँ। साँझमा घर आएर ‘भात पाकेन आमा ? किन ढिलो गरेको ?’ रे ! अलिकति पनि लाजसरम छैन।
अहिलेको युवापुस्ता पढालेखा छ। यो पुस्ताले रचनात्मक काम गर्छ, यसले देश उँभो लगाउँछ भनेर आश गर्ने ठाउँ कहाँ छ ? पछिल्लो पुस्ता झन् अधीर, अराजक र असहिष्णु पो बन्दै गएको देखिन्छ। अनि यै पुस्ताले बनाउँछ त परिवार, समाज अनि देश ! खै कसरी पत्याउनु !
आमै र बाबै गर्दै गाउँ आएका मानिस फाट्टफुट्ट फर्कन थाले। सार्वजनिक गाडी नचले पनि निजीले पाँच दोब्बर भाडा असुलेर मानिस ओसारे। अनुगमन कता ‘गमन’ भयो थाहा छैन। जनताको सुरक्षार्थ खटिएका पुलिस खल्तीको सुरक्षा गर्नतिर लागे। केको कोरोना, केको संक्रमण ! पैसा भएपछि आउँदैन कोरोना सोरोना।
दसैंभन्दा पनि गुल्जार भएको गाउँ फेरि सुनसान भयो। फर्किए सबै। न स्कुल खुलेको छ, न बजार चलेको छ, न गाडी नै गुडेको छ। किन कुदाकुद होला ! सरकारी-गैरसरकारी कार्यालयका कर्मचारी फर्कनु बाध्यता हो। व्यवसायमा लगानी फसेकाहरू फर्कनु पनि स्वाभाविक हो। तर सहरमा महिनाको मुस्किलले १० हजार कमाउने पनि गाउँमा बसेनन्। सहरमा भोकभोकै मरिन्छ भनेर रातारात गाउँ आएकाहरू फेरि रातारात सहर नै पसे।
अचेल एउटा गीत टिभीमा बजिरहन्छ, ‘यो औसर हो, यो औसर हो...।’ चर्चित भनेर मानिएका केही सेलिब्रिटीहरूले उफ्रीपाफ्री गर्दै यो गीतमा अभिनय गरेका छन्। केको अवसर ? विपत्लाई अवसर बनाउन त केही गर्नु पर्यो नि ! घाँटी सुक्ने गरी चिच्च्याएर गीत गाउँदैमा अवसर हुन्छ ! जति नै अभाव र तनावबाट गुज्रिए पनि हामीले केही गर्दैनौं भन्ने कुरा यो संकटमा स्पष्टै देखियो।
मन्त्रीहरू सयौं कार्यकर्ता जम्मा पारेर उद्घाटनमा मस्त छन्। नेताजी नयाँ कार्यकर्तालाई पार्टी प्रवेश गराउन व्यस्त छन्। नेताले मुखमा मास्क लगाउनु पर्दैन, घाँटीमा झुन्ड्याए पनि हुन्छ। पत्रकारले दूरीमा बस्नु पर्दैन, टाँसिए पनि हुन्छ। गाउँमा मानिस बेपर्वाह हिँडेका छन्। मन्दिरमा जात्रा छ। जुवाको खालमा भीड छ। भोजभतेर चलेकै छ। बसमा ठेलमठेल छ। न मास्क छ न दूरी। सडकमा आन्दोलन छ। अनशन छ। चित्त नबुझेका कुरा सरकारकै ढोकाभित्र छिरेर गर्दा भइहाल्छ नि ! विश्वमा यस्तै आन्दोलन, भीडभाड र जमघटले कोरोना उकालो लागेको कुरा आन्दोलन, सभा, जुलुस गर्नेहरूले नबुझेका पक्कै होइन होलान्। टेलिभिजनका स्क्रिनमा ‘ठूलाहरू’ को गतिछाडा क्रियाकलाप देखेपछि जनताले तिनकै सिको गर्ने नै भए।
देशमा कोरोना संक्रमण अकासिँदो छ। हामी कति सुरक्षित छौं, भारतलाई हेरे पुग्छ। छिमेकीमा आगो दन्कँदा हाम्रो घर सुरक्षित रहन्छ र ! आफ्नो घर सुरक्षित राख्न छानामा पानीका गाग्री पुर्याउनु पर्यो। छानामा पानीका फोहोरा हान्न तयार भएर बस्नु पर्यो। नत्र त सक्छ नि आगोले।
समयले मानिसलाई भन्दैछ, ‘तिमी आफ्नो जीवनशैली र आनीबानीमा परिवर्तन गर। गरेनौ भने तिमी जुनसुकै बेला कोरोनाको कठघरमा पर्न सक्छौ। तिमी मात्र अप्ठेरोमा पर्दैनौ, तिम्रो कारणले परिवार, समाज, राष्ट्र र मानव अस्तित्वमै संकट पर्न सक्छ। लाखौं हेक्टर जंगल सखाप पार्न एक काँटी सलाई नै पर्याप्त हुन्छ।’ कि छ, मलाई निस्फिक्री हिँड्न मन होला। अटेरी भएर हिँडूला पनि। हिँड्न पाउनुलाई मेरो अधिकारै सोचूँला। तर, मलाई अर्काको ज्यान जोखिममा पार्ने अधिकार छैन। त्यसो गर्नु अपराधै हो।
खै मान्छेले वास्ता गरेको ! गाउँतिर मानिसको दैनिकी सामान्य छ। खेतीपाती गर्नेहरू समूहमै निस्फिक्री काम गरिरहेकै छन्। गाउँ डुल्नेहरू जोल्ठिएर निर्बाध डुलिरहेकै छन्। कोरोनाको कुरा गर्दा वास्तै गर्दैैनन्। ‘मास्क लगाएर कुरा गर्नुस्। टाढा बस्नुस्। हात धुनुस्’, भन्यो, कोही टेर्दैनन्। ‘काँ आउँछ कोरोना ? आए पनि हाम्रो वनजंगलले खाइदिन्छ कोरोना’ रे ! हत्तेरी ! म बढी नै डराएँ कि क्या हो !
मन्थली, रामेछाप