लमजुङमा दुई दिनमा २५ प्रहरी संक्रमित
बेंसीसहर : लमजुङ प्रहरीमा कोरोना भाइरसको संक्रमण तीव्र देखिएको छ। पछिल्लो २ दिनमा लमजुङमा २५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार समेत लमजुङ प्रहरीको थप ५ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार शनिबार लमजुङको ५ जना पुरुष प्रहरी र एक जना समुदायको महिलामा संक्रमण देखिएको हो।
शुक्रबार मात्र लमजुङको २० जना प्रहरीमा कोरोना देखिएको थियो। लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार स्वाब लिइएका थप ५ जना प्रहरीको रिपोट आउन बाँकी छ। यसअघि ३ जनामा संक्रमण पुष्टि भएको थियो। उपचारमा रहेका एक प्रहरी सई तनहुँस्थित घरमा आराम गरी फर्केकोमा उनको आमालाई कोरोना संक्रमण भएपछि कन्ट्रयाक्ट ट्रेसिङका लागि तनहुँ गएका थिए।
गत शनिबार उनको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि लमजुङका ४४ प्रहरी र ९ जना थुनुवाको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। शुक्रबार एक थुनुवाको पनि रिपोट पोजिटिभ आएको छ।‘सुरुको संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा आएका जति सबैलाई डिउटीमा खटाएका थिएनौं’, डिएसपी थापाले भने, ‘उहाँहरु बाहिरै निस्किनुभएको छैन, त्यसैले समुदायमा जोखिम हुँदैन।’
तर, पछिल्लो समय लमजुङमा समुदाय स्तरमै कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिएको छ। सदरमुकाम बेसीसहरमा कार्यक्षेत्र बनाएका सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, ब्यवसायी, कर्मचारीलगायतमा कोरना संक्रमण देखिएको हो। अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीमा समेत संक्रमण देखिएपछि स्थानीय थप त्रसित बनेका छन्। शुक्रबार मात्र प्रहरी, सञ्चारकर्मीसहित २६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।
शनिबारसम्म संक्रमितको संख्या १ सय ७५ जना पुगेको छ। कुल संक्रमितमध्ये एकसय १३ जना निको भइ घर फर्किएका छन्।