भक्तपुरमा कोरोना जित्ने १७ प्रतिशत
भक्तपुर : नेपालमा शनिबारसम्ममा कूल संक्रमितको संख्या ३७ हजार तीन सय ४० पुग्यो। शनिबारभित्र नै २० हजार पाँच सय ५५ जना संक्रमितले कोरोना भाइरस जिते। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणलाई जित्नेको संख्या ५५ प्रतिशत रहेको छ तर भक्तपुरमा भने कोरोना भाइरस संक्रमण जित्ने संक्रमितको संख्या सन्तोषजनक छैन।
भक्तपुरमा शुक्रबारसम्म १७ प्रतिशत संक्रमितले मात्रै कोरोना भाइरस संक्रमणलाई जितेका छन्। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार शुक्रबारसम्म भक्तपुरमा २ सय ४९ पुरुष र एकसय ८० महिला गरी संक्रमितको कूल संख्या ४ सय २९ पुग्यो। यस अवधिमा ३९ पुरुष र ३५ महिला गरी ७४ जनाले मात्रै संक्रमणलाई जिते। यो जम्मा १७.२४ प्रतिशतमात्रै हो।
शनिबारसम्म कोरोना भाइरस संक्रमणका कारण भक्तपुरका ६ जनाको मृत्यु भइसकेको छ। यहाँ महिला ५ र पुरुष १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। भक्तपुरका २ सय ९ पुरुष र १ सय ४२ महिला कोरोना भाइरस संक्रमणको उपचार गराइरहेका छन्। यहाँका चार नगरपालिकामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपाका एक सय ६६ जना संक्रमित उपचाररत छन्। जसमा ८८ पुरुष र ७८ महिला रहेका छन्। यहाँका १० पुरुष र ७ महिलाले मात्रै कोरोना भाइरस संक्रमण जिते।
मध्यपुर थिमिमा ९८ पुरुष र ८६ महिला गरी एकसय ८४ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसपछि सूर्यविनायक नपाका ६४ पुरुष र ४४ महिला गरी एकसय ८ जना संक्रमित उपचार गराइरहेका छन्। यहाँका ५ पुरुष र २ महिला गरी ७ जनाले मात्रै संक्रमण जितेर घर फर्केका छन्। सूर्यविनायकमा ७० पुरुष र ४८ महिला गरी एकसय १८ जना संक्रमित पुगेका छन्।
त्यस्तै भक्तपुर नपाका २१ पुरुष र १८ महिला गरी जम्मा ३९ जना संक्रमित उपचाररत छन्। यहाँका ९ महिला र ९ पुरुष गरी १८ जनामात्रै डिस्चार्ज भएका छन्। भक्तपुरमा ३० पुरुष र २७ महिला गरी ५७ जनालाई कोरोना भाइरस संक्रमण भइसकेको छ। जिल्लामा सबैभन्दा कम चाँगुनारायण नपाका २८ पुरुष र २ महिला गरी ३० जनामात्रै संक्रमणको उपचार गरिरहेका छन्। २८ पुरुषमध्ये पनि २० जना चाँगुनारायण नपा १ दुवाकोटस्थित सशस्त्र प्रहरी बल गणका रहेका छन्।
जिल्लामै सबैभन्दा बढी चाँगुनारायण नपाकै संक्रमितहरुले कोरोना भाइरसलाई जितेका छन्। यहाँका १७ महिला र १५ पुरुष गरी ३२ जनाले संक्रमणलाई जितेका हुन्। चाँगुनारायणमा ४३ पुरुष र १९ महिला गरी ६२ जनालाई कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ। विदेशबाट फर्केका ८ जना पुरुष संक्रमितलाई भक्तपुर जिल्लाको तथ्यांकमा समावेश गरिएको छ। चाँगुनारायण नपा ७ खरिपाटीस्थित क्वारेन्टाइनमा होल्ड गरिँदा संक्रमण पुष्टि गरिएका उनीहरु पनि उपचाररत छन्।
भक्तपुरमा भदौ ६ देखि १२ को एकसाताभित्रै कोरोना भाइरस संक्रमितको संख्या शत प्रतिशत बढेको थियो। यहाँ भदौ ५ गतेसम्म संक्रमितको संख्या २ सय ४ थियो तर पछिल्लो एकसातामा सत प्रतिशतभन्दा बढी अर्थात २ सय २५ जना संक्रमित थपिएर ४ सय २९ पुगेको थियो। भक्तपुरमा शनिबार १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्।