दार्चुलाका थप दुई जनामा कोरोना संक्रमण
दार्चुला : दार्चुलाका थप दुई जनामा कोरोना सक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाको महाकाली नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
महाकाली नगरपालिकाका १९ र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड १९ सम्पर्क व्यक्ति वीरेन्द्र प्रसाद भट्टले बताए । उनले भने 'भदौ ७ गते महाकाली नगरपालिकाका चार महिलासहित ३१ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएकामध्ये २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।'
शनिबार कोरोना पुष्टि भएका महाकाली नगरपालिका दुई जनासँगै दार्चुलामा कोरोना संक्रमितको संख्या कुल ५० पुगेको छ भने हालसम्म ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।