बाढीपहिरोले बिचल्ली : पीडितले पाएनन् राहत

बाढीपहिरोले बिचल्ली : पीडितले पाएनन् राहत

अछाम : सरिता शाह प्रायः टोलाइरहन्छिन्। उनलाई बुबाआमा र सबैभन्दा सानो भाइ समीरको आवाज कानमा गुन्जिरहन्छ। केही दिन अघि कैलाश खोलामा आएको बाढीले अछामको रामारोसन गाउँपालिका- ५ सैनिबजार बगायो। त्यहीँ बगे उनका बुबा अमर शाह, आमा पवित्रा र भाइ समीर पनि।

अमरको मात्रै शव भेटिए पनि आमा र भाइको शव अझै फेला परेको छैन। ‘शव पाइएको छैन, कतै जिउँदै छन् की, भाइ र मम्मी आइहाल्छन् की भन्ने लाग्छ’, गहभरि आसु बनाउँदै सरिताले भनिन्। सरिता, बुबाआमासहित ६ जनाको परिवारमा सैनिबजारमै बस्थिन्। उनीहरुको सैनिबजार र अलिमाथि सैनी गाउँमा गरी दुईतिर बसाइ थियो। सैनिबजारमा बुबाको होटल थियो। माथिको घर नजिक त्यो दिन तीजको नाचगान भइरहेको थियो।

‘जेठो भाइ बहिनी र मैलै गाउँमा तीज हेर्न जाने भन्यौं, मम्मीले नजा भनेको थियो, हामी जिद्धी गरेर हजुर आमा मात्रै बस्दै आउनु भएको अर्को घरमा गयौं र राति त्यहीँ बस्यौं, गाउँमा तीजको नाचगान भइरहेका बेला सैनिबजार बगेछ’, सरिताले भनिन। त्यसपछि सरिता र अन्य मृतकका आफन्तको विचल्ली नै भएको छ।

सरिता, बहिनी अनिता र भाइ भुपेन्द्र हजुरआमा कलुदेवीको सहारामा छन्। ‘बुबाले बोलाए झैं लाग्छ, सानो भाइ कराए झैं लाग्छ, आमाले सरिता भनेर डाँको लगाए झैं लाग्छ’, हजुर आमासँग बसिरहेकी सरिताले भनिन्। सरिताको बुबाको होटल नजिकै फुपु लालसराको पनि पसल थियो। लालसरा र उनका छोरा वसन्त पनि बाढीमा बगे। लालसराको शव भेटियो तर वसन्त अझै बेपत्ता छन्। सरिताका बुबा, आमा, भाइ, फुपु र अर्को भाइ (फुपुको छोरा)लाई बाढीले बगाएको थियो। सरिता, भाइ भुपेन्द्र र समीर कैलालीको टीकापुरमा पढ्थे। बहिनी अनिता अछामकै गाउँको स्कुलमा पढ्थिन्। कोरोनाका कारण लकडाउन भएपछि टीकापुरमा भएका उनीहरु सबै अछाम आएका थिए। ‘राति ११ बजे खोलामा ठूलैे आवाज आयो, चिच्याहट सुनियो, हामी दौडेर सैनी बजार पुग्यौं। तर बजारको नाम निसाना नै थिएन’, सरिता भन्छिन्।

रुबिना साउद पनि कैलाश खोलाले बगाएर बगर बनाएको सैनिबजार हेरेर टोलाउँछिन्। सैनिबजारमा अहिले कैलाश खोला बगिरहेको छ। त्यही खोलालाई हेर्दै उनी आमा भनेर डाको छोडेर रुने गर्छिन्। घरमा दिनहँु रुबिना भनेर नथाक्ने बुबाको आवाज नसुनेको हप्ता दिनभन्दा बढी भइसक्यो।

त्यही आवाज बगर बनेको सैनिबजारबाट आउँछ की भन्ने रुबिनालाई आस लाग्छ। बाढीमा उनले बुबा नन्दु साउद, आमा गंगा, दाइ रुपेश, भाइ नवीन, भाउजु कविता, दिदीकी छोरी प्राप्ती, मामाघरकी हजुरआमा बिमादेवी साउदलाई गुमाएकी छन्।

पाँच वर्ष पहिले बुबा गुमाएका सैनिका १४ वर्षीया हिमाल साउदको, कैलाश खोलाले आमाको खुसी पनि खोसिदियो। आर्थिक अवस्था कमजोर भएका हिमाललाई आमाले मजदुरी गरेर पढाइरहेकी थिइन्। भदौ २ गते कैलाश खोलामा आएको बाढीले सैनी बजार पूरै बगाएर बगर बनाएको छ भने त्यहाँका १ जना वेपत्ता भएका छन्। ८ जनाको शव भेटिएपछि ९ जनाका कुनै अत्तोपत्तो छैन। सडक, विद्युत्, खानेपानी, पुल, कुलो बगाएको छ।

स्थानीय चक्र रावलका अनुसार रामारोशनको देउलडीमा पहिरो खसेर किनिमिनी पाटन भन्ने स्थानमा ताल बनेर यत्रो ठूलो अकल्पनीय बाढी आएको हो। किनिमिनी पाटन भन्ने स्थान कैलाश खोलाको मुहानको नजिक पर्छ। कैलाश खोलामा ससाना खहरे खोला मिसिन्छन्।

सुदूरपश्चिम प्रदेश सभाका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति तथा प्रदेश सभा सदस्य हर्क कुँवरले मानवीय क्षतिसँगै अर्बाैंको भौतिक क्षति भएको बताए। गृहमन्त्री रामबहादुर थापासहितको टालीले सैनिबजार क्षेत्रको स्थलगत अनुगमन पनि गरेको थियो।

९ अझै बेपत्ता

बाढीले सैनिबजारको नामनिसान मेटाइदिएको छ। बजारका २५ घर पसल बाढीले बगाएको छ। बाढीले वेपत्ता बनाएका १७ जनामध्ये ८ को मात्रै शव फेला परेको छ। ९ जना अझै बेपत्ता छन्।

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार सैनिबजारका २९ वर्षीय सम्झना शाह, ३० वर्षीय गौरी शाह, १९ वर्षीय रुपेश साउद, १२ वर्षीय नवीन साउद, ४८ वर्षीय चन्द्र साउद, ४५ वर्षीय लालसरा शाही, ४५ वर्षीय अम्मर शाह, २२ वर्षीय कविता साउदको शव फेला परेको छ।

प्रशासनले ४५ वर्षीय नन्दु साउद, साउदकी पत्नी गंगा, नातिनी प्राप्ती, ४० वर्षीय पबित्रा शाह, ४ वर्षका समीर, ४५ वर्षीय बसुन्धरा साउद, ९ वर्षका बसन्त शाही, ५५ वर्षीय जोगा साउद र ७० वर्षीय बिमा साउद अझै वेपत्ता छन्।

राहतको पर्खाइमा पीडित

बाढीबाट धनजन गुमाएका राहतको पर्खाइमा छन्। केही समाजिक संघसंस्था र व्यक्तिले पीडितलाई सहयोग गरेका छन्। तर गाउँपालिकाले अहिलेसम्म राहत नदिएको मृतकका आफन्त हर्क साउदले गुनासो गरे। उनले भने, ‘काकाको ७ जना परिवारलाई बाढीले बगायो, अहिले बहिनी मात्र बचेकी छन्, नेता, मन्त्री आएर भेटघाट गरेर मात्र जान्छन् तर अहिले हामीलाई तत्काल चामल र काजक्रियाका लागि पैसा चाहिएको छ।’ बाटोघाटो र बजार नै बगेका कारण खाद्यान्न आपूर्तिमा समेत समस्या भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.